काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षका सबै नेतालाई जिम्मेवारीविहीन बनाएका छन्।
शुक्रबार दिउँसो ओलीले खनाल–नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसेर एकलौटी रूपमा स्थायी कमिटी पुनर्गठन गरेका छन्। बैठक बालुवाटारमा बसेको थियो। बैठकमा ओलीले नेपाल पक्ष पार्टीभित्र आउन नचाहेको बताएका थिए।
यसैबीच नेता नेपालले ओलीमा धराहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउनेभन्दा बिगार्न लागिपरेको बताएका छन्। ‘केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ। हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं’, नेपालले जनकपुरमा भने। ओलीले पार्टीभित्र प्रवेश निषेध गरेपछि नेपाल पक्ष समानान्तर कमिटी बनाउँदै अर्को दलको तयारीमा लागेको स्रोतले बताएको छ। नाम र झन्डासमेत तय भएको दाबी स्रोतले गरे पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।
उता स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अझै केही समय पर्खिने बताए। समानान्तर गतिविधि गरिरहेका नेताहरूलाई ती गतिविधि रोकेर, पार्टी एकतामा योगदान गर्न र पार्टीको मूल प्रवाहमा फर्किन पुनः आह्वान गरिएको उनले बताए। ओलीले १८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका सबै नेतालाई हटाएर आफू पक्षधरलाई समेटेका छन्। उपाध्यक्षबाट हटाइएका वामदेव गौतमलाई स्थायी कमिटीमा समेटिएको छ।
स्थायी कमिटीमा माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई पनि समेटिएको छ। स्थायी कमिटीमा ओलीसहित, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल रहेका छन्।
नेपालसँग बुधबार र बिहीबार भएको वार्तामा कुनै प्रगति नभएपछि ओलीले स्थायी समिति पुनर्गठन गरेका हुन्। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया