असार २५, २०८२ बुधबार July 9, 2025

अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । कोभिड १९ सँग सम्बन्धित विषयमा कर छुटको निर्णय भएको   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यस्तै सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म सार्वजनिक आवागमन तथा बजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङका अनुसार प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० सङ्क्रमित संख्या पुगेमा २०७८ वैशाख १६ देखि बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्नसक्ने उहाँले बताउनुभयो ।

सरकारका प्रवक्ता गुरुङकाअनुसार सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने नौ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, मिलिनियम च्यालेन्ज एकान्ट नेपालका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सोहीअनुसार भारतका प्रमुख राष्ट्राध्यक्षलाई दुवै पक्षको आपसी सहमतिअनुसार तय हुने अनुकुल समयमा र श्रीमती र स्टाफ अधिकृतसहित नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने स्वीकृति दिने निर्णय भएको पनि सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वदनियत पूर्बक अनुसन्धान वा अभियोजन गरेको कसुरको सम्बन्धमा परेको उजुरीको अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयको प्रहरी नायव महानिरीक्षकलाई तोक्ने निर्णय सरकारले गरेको छ ।

नागरिक लगानी कोषको चुक्ता पूँजी बृद्धि गरी ३ अर्व २७ करोड रुपियाँ कायम गर्न सरकारले स्वीकृति प्रदान गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशण पौडेलको सेवा ३० वर्ष ननाघ्नेगरी मिति २०७८-१-२१ देखि २०७९-१-१८ सम्म पदावधि थप गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो । मदन मण्डारी राजमार्ग र ऋद्दि सुर्खेत सडकको पुनः रेखाङ्कन स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

निषेध आदेश जारी

सरकारका प्रवक्ता गुरुङका अनुसार कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि आवश्यक व्यवस्था मिलाउन प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० सङ्क्रमित सङ्ख्या पुगेमा २०७८ वैशाख १६ देखि बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार प्रमुख जिल्ला अधिकारीले आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्ने भनेको छ ।

सोहीअनुसार नेपालसँग सिमाना जोडिएको छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकको स्थलगमार्गबाट आवागमन स्थगित गर्ने, स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाव संकलन भएको ७२ घण्टाभित्र कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नेगरी होटल बुक गरेको प्रमाणपत्रको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

सोहीअनुसार चिनियाँ नागरिकको हकमा प्रवेषाज्ञा अतिरिक्त निजले यात्रा गर्नुअघि स्वाव सङ्कलन भएको ७२ घण्टा भित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नेगरी होटल बुक गरेको प्रमाणपत्र पेश गरेको हुनुपर्ने भनेको छ । हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले स्वाव सङ्कलन गरेको ७२ घण्टाभित्र कोभिड १९ नेगेटिभ रिेपोर्ट पेश गर्नुपर्ने र प्रवेश गरेपछि १० दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सरकारले बनाएको छ । गोरखापत्रबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया