श्रावण ३, २०८२ शनिबार July 19, 2025

यसरी हुँदै छ, ‘ननकोभिड’को उपचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ ।

खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घरोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित छन् । यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण दीर्घरोगीलाई आवतजावतमा समस्या हुँदै आएको छ । काठमाडौंका विभिन्न अस्पताललगायत देशबाहिरै गएर उपचार गराइरहेका बिरामीले प्रत्यक्ष चिकित्सक भेटेर ‘फ्लोअप’ गर्न पाएका छैनन् ।

‘मेरो छाती एकदमै दुख्छ, एकपटक काठमाडौं गएर चेकजाँच गरौं भनेको सार्वजनिक गाडी पनि चल्दैनन्,’ कपिलवस्तु चन्द्रौटाका श्याम त्रिपाठीले आइतबार राजधानीसँगको फोन सम्पर्कमा सुनाए, ‘एम्बुलेन्समा जाऊँ भने महँगो पर्छ । फेरि काठमाडौं आएपछि उपचार नपाइने हो कि ? भन्ने चिन्ता पनि छ ।’

केही सरकारी अस्पतालले मिर्गौलापीडितलाई डायलासिस र थप उपचारका लागि समेत ‘बेड नभएको’ भन्दै फर्काउने गरेको पाइएको छ । मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन छुट्टै ‘ननकोभिड’ अस्पताल व्यवस्था गरिए सहज हुने बताउँछन् । ‘कोभिड अस्पतालमा कोरोना संक्रमण नभएका जानै डराउँछन्,’ उनी भन्छन्, ‘मुख्यतः गर्भवती, दीर्घरोगी, आकस्मिक शल्यक्रियाका बिरामी पनि हुन्छन् । कोरोना संक्रमण नभएकाको बिरामी उपचार गराउने सरकारी अस्पतालको सूची सार्वजनिक गरे सहज हुनेछ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार ‘ननकोभिड’मध्ये प्रायः खोप लगाउनुपर्ने बालबालिका, गर्भवती, क्यान्सरका बिरामी अस्पताल आउनुपर्नेहुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने ‘ननकोभिड’ उपचार सेवा प्रभावित नभएको दाबी गर्छन् ।

‘ननकोभिडका लागि अस्पतालमा छुट्टै ब्लग व्यवस्थासहित उपचार भइरहेको छ, सेवा रोकिएको छैन,’ प्रवक्ता डा. गौतमले भने, ‘इमर्जेन्सी अप्रेसनसमेत भइरहेको छ ।’ उनका अनुसार बालबालिकाका लागि खोप र क्यान्सर, मुटुरोगीको उपचार निरन्तर जारी छ ।

तर, अधिकांश अस्पतालमा हाल ‘ननकोभिड’ बिरामीको पूर्वयोजनासहित पित्तथैली शल्यक्रिया, पाठेघरको ट्युमर निकाल्नुपर्ने लगायत सेवा रोकिएको अवस्था छ ।

७ हजार ६ सय ६४ संक्रमणमुक्त

यसैबीच, आइतबार देशभर ७ हजार ६ सय ६४ कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ३ लाख ९१ हजार ३ सय ४८ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९ सय ६५ जनाको पीसीआर र ९ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९३ संक्रमितको मृत्यु भएको छ । देशभर ८ सय ७३ व्यक्ति क्वारेन्टाइनमा छन् । देशभर आइतबार थप ७ हजार ९ सय १४ संक्रमित थपिएका छन् ।

उपत्यकामा आइतबार थप २ हजार ८ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७ सय २१, भक्तपुरमा ३ सय ६६ र ललितपुरमा ६ सय ९४ जना गरी थप २ हजार ८ सय २१ जना थपिएका हुन् ।

आइतबार कोरोना संक्रमणबाट मुक्त संंख्या भने ७ हजार ६ सय ६४ रहेको छ । देशभर १ हजार ७ सय २१ आईसीयू र ४ सय ८४ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा २ सय ५५ आईसीयू र ५८ भेन्टिलेटर, प्रदेश २ मा १ सय ९७ आईसीयू र ५१ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ८ सय ६९ आईसीयू र ३ सय ८ भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय ४४ आईसीयू र २७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ५५ आईसीयू र २१ जना भेन्टिलेटर, कर्णालीमा ५९ आईसीयू र आठ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४२ आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया