श्रावण ५, २०८२ सोमबार July 21, 2025

ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गर्न विपक्षी गठबन्धनको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस लगायतका विपक्षी गठबन्धनले ढुङ्गा, गिट्टी, बालुवा निकासीको निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

विपक्षी गठबन्धनका पाँच नेताले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै चुरेमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर निकासी गर्न दिने निर्णय राष्ट्रघाती र जनघाती भएको बताएका हुन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको छ।

सरकारको उक्त निर्णयले पानीको स्रोत सुकाउने, तराईमा बाढीको प्रकोप बढ्ने र तराई क्षेत्र मरुभूमिकरण हुने विपक्षी गठबन्धनले जनाएको छ।

“व्यापार घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “वस्तुतः यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनको लागि दुरुपयोग गर्ने राष्ट्र हित विरोधी निर्णय हो।”

विज्ञप्तिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया