श्रावण ४, २०८२ आइतबार July 20, 2025

बर्साइत पर्व मनाउँदै मिथिलानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् ।

अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै मिथिलानीले घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वट वृक्षको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज घरमै पर्व मनाइरहेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी श्यामा झा बताउनुहुन्छ ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि कोभिड–१९ महाव्याधि छल्न जारी निषेधाज्ञाभित्र पर्व मनाउनुपरेकाले घरघरै छुट्टाछुट्टै पर्व गर्नुपरेको मिथिलानी बताउँछन् । गत वर्ष पनि पर्वको बेला कोरोना कहरले जारी लकडाउनभित्रै पर्व मनाउनुपरेको मिथिलानी सम्झन्छन् ।

मिथिलामा केही वर्ष पहिलेसम्म व्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झाको भनाइ छ । वट–सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइरहेका छन् ।

विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया