काठमाडौंः नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने भएको छ ।
कांँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ करिब २ घण्टासम्म बसेको बैठकले केन्द्रमा बनेको गठबन्धन अनुरुप सबै प्रदेश गठबन्धन बनाएर सरकार निर्माण गर्ने पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘सबै प्रदेश जहाँ-जहाँ हाम्रो गठबन्धनको सरकार बनेको छ, भइहाल्यो । नबनेका प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने सहमति आजको बैठकमा भएको छ,’ माओवादी प्रवक्ता श्रेष्ठले भने ।
अहिले विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । प्रदेश-१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ । गण्डकी र लुम्बिनीमा पनि कसरी गठबन्धन सरकार बनाउन सकिन्छ भनेर पहल गर्ने श्रेष्ठले बताए ।
बैठकमा अहिलेको केन्द्रको परिस्थितिबारे समीक्षा भएको उनले बताए । ‘संघमा मुलुकको समग्र राजनीतिबारे समीक्षा गरेर संविधान, लोकतन्त्र र विदेशी हस्तक्षेपको विरुद्धमा भएका षडयन्त्रहरूलाई चिर्दै एकताबद्ध रूपमा अगाडि बढ्ने प्रक्रियामा हामी गइरहेका छौं । यसलाई अझ सुजबुझ बनाउने भन्ने भएको छ,’ श्रेष्ठले भने ।
गठबन्धनले सर्वोच्च अदालतले संविधानलाई सही ट्रयाकमा लगाउने दिशातिर नै फैसला गर्ने आशा गरेको श्रेष्ठले बताए । संविधानलाई सही ट्रयाकमा ल्याउने निर्णय गर्न कोभिड-१९ बीचमा पनि जनतालाई जाग्रित बनाउन के गर्न सकिन्छ, त्यो बारेमा सल्लाह पनि सल्लाह भइरहेको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया