असार २६, २०८२ बिहिबार July 10, 2025

बदलिएको सरकारका बदलिनुपर्ने संस्कार – डा. अतीन्द्र दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजनीतिक दलहरूबीच अन्तरदलीय तथा आन्तरिक दुवै खालका रस्साकस्सीपछि देशमा नयाँ सरकार निर्माण भएको छ । मौजुदा संसद्मा सर्वाधिकको समर्थनसहित भारी विश्वास पाएकाले यो सरकार मात्र अहिलेको आवश्यकता र सम्भावनामा थियोे भन्ने प्रस्ट हुन्छ । अति सतही विश्लेषणमा रमाउनेहरूले यदाकदा उक्त सङ्ख्याको विश्वासको मतले राज्यका कुनै अङ्गले गैरकानुनी काम गरेमा महाअभियोगको प्रस्ताव पारित हुनसक्ने सन्देश दिएको व्याख्यासमेत गरेको देखियो । यद्यपि राजनीतिलाई त्यसरी गिजोल्नु हितकर र शोभनीय दुवै हुँदैन । सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन ।

आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यासले देशलाई निकास मात्रै होइन, विकासको बाटोसमेत प्रशस्त गर्नुपर्छ । राजनीतिक क्रान्तिका सबै चरण समापन भएको छ, नागरिकको सहभागिताले लेखिएको संविधानसमेत कार्यान्वयनमा आएको छ । साँच्चै सुसङ्कल्प र समर्पण गरे हामी विकासमा कायापलट हुने चरणको प्रारब्धमा छौं । त्यसकारण अहिले बनेको सरकारमा सरकारको संस्कार चाहिँ धेरै फेरिनु आवश्यक छ । संस्कार परिवर्तनले सफलतालाई मार्गप्रशस्त गर्दछ र यो नै एकपछि अर्को बन्ने सरकारको अनिवार्य आवश्यकतासमेत हो ।

सफलता निर्विकल्प

फ्रान्समा सन् १७९१, बेल्जियममा १८३१, अर्जेन्टिनामा १८५२, क्यानडामा १८६७, डेनमार्कमा १८४९, अमेरिकामा १७८७, अस्ट्रियामा १९२० मा संविधान बन्दा उक्त देशहरूको अवस्था लगभग अहिलेको हाम्रोजस्तै थियो । उनीहरूले प्रयास गरे, सफलता प्राप्त गरे र सुनाम कमाए । दुई÷तीन सय वर्षपहिले मात्र पत्ता लागेका अनि दोस्रो विश्वयुद्धसम्म अर्काको उपनिवेश रहेका अधिकांश देशले रोमाञ्चक प्रगति गर्न सक्छन् भने पाँच हजार वर्ष पुरानो इतिहास र सभ्यता भएको, कहिल्यै कसैको उपनिवेश नरहेकोे हामीले उनीहरूको भन्दा अब्बल प्रगति गरेर देखाउन सक्छौँ र देखाउनुपर्छ । यसको आधारभूत आवश्यकता चाहिँ सरकारको सबल संस्कारमा भर पर्छ ।

संसारमा कुनै सिद्धान्त स्वतः खराब वा असल हुँदैन । सिद्धान्त र विचार अमुक अनि अमूर्त पक्ष हुन् । त्यसको प्रायोगिक कौशलता मुख्य आकर्षण हो । अति अनुकरणीय अनि नागरिकको हितकारी भनेर विश्वव्यापी रूपमा बुझिँदै आएको प्रजातन्त्र पनि थुपै्र देशमा असफलसिद्ध भएको छ । पश्चिमाहरूले अहितकारी तथा अलोकप्रिय भनेर गिज्याउने कम्युनिस्ट शासनबाट महामहिम राष्ट्रपति सीको नेतृत्वमा महाशक्ति भएर उदाउँदै चीनले विश्व तरङ्गित बनाउँदै छ । आवश्यक पूर्वाधार तथा गुणस्तरीय जीवनका अधिक पक्षहरूमा सकारात्मक उपलब्धिपछि विश्वव्यापी उपस्थितिलाई सशक्त बनाउने अभिप्राय राखेको छ । पछिल्लो पटक ‘सिप्लोमेसी’ र ‘सिमोक्रेसी’ नामक विचारधारा चर्चामा आउँदै छन् । चीनको आक्रामक उदयका कारण नयाँ विश्वसंरचना कायम हुँदै छ । सरकारको सबल संस्कारका कारण यो सफलता हासिल भएको देखिन्छ ।

अब सरकारलाई राजनीतिक कुरामा अल्मलिनुपर्ने बाध्यता छैन । देशको अग्रगामी र नागरिक अपेक्षित विकासका खास सवालहरूमा ठोस पहल गर्नु मात्र बाँकी छ । विख्यात चिन्तक जोसेफ एस नाइकृत ‘सार्प पावर’को पछिल्लो अवधारणालाई सरकारले आफ्नो क्षमताले भ्याएसम्म उपयोग गर्नुपर्छ ।

क्षमताको प्रशोधन र प्रवद्र्धन

अपेक्षित संस्कारलाई सार्थक बनाउन कर्मचारीतन्त्रमा व्यापक सुदृढीकरण आवश्यक छ । सरकारका सबै कार्यक्रमलाई नागरिकसम्म पु¥याउने माध्यम कर्मचारीतन्त्र नै हो । नागरिकले सरकार कामकाजी भए÷नभएको कुरा सरकारका सदस्यलाई भेटेर निर्धारण गर्ने होइन । सरकारी वा सार्वजनिक सेवासुविधा लिने क्रममा कर्मचारीले प्रवाह गर्ने सेवाको चुस्तता अनि गुणस्तरका आधारमा नागरिकको सरकारप्रतिको विचार निर्माण हुन्छ । कार्यालयमा हुने अनुपस्थिति, लापरबाही, काममा ढिलासुस्ती, सहजीकरणभन्दा बेवास्ताको प्रवृत्ति अनि नजराना माग्ने बानीले बेइज्जति चाहिँ सरकारको हुन्छ । सरकारी सेवा चुस्तदुरुस्त भएमा सरकारमाथिको आधा आरोप र विकर्षण स्वतः समाप्त हुन्छ । सुशासन यहीँबाट थालनी हुनुपर्छ । स्विजरल्यान्ड, फिनल्यान्डलगायत केही देशहरूले कम्तीमा निश्चित सङ्ख्यामा मानिसहरूले उठाएको चासोलाई संसद्मा सार्वजनिक बहसको विषय बनाउँछन् । हाम्रोमा पनि नागरिकका गुनासा र सुझावलाई यथोचित रूपमा सुनिनुपर्छ अनि त्यसले सरकारको निर्णय प्रक्रियामा महìव राख्नुपर्छ ।

विकासका प्रस्ट योजना दिएर नागरिकसँग पनि सहयोग माग्नुपर्छ । वास्तवमा सरकारले आमनागरिकको हितमा काम गर्न लागेमा नागरिकबाट श्रम वा पुँजी वा दुवैको प्रशस्त सहयोग आउँछ । जापानमा सडकमा गुडेको सवारी साधन बिग्रिए सरकारले त्यसको जिम्मेवारी लिन्छ । थाइल्यान्डमा अस्पतालले लापरबाही गरेमा बिरामीलाई क्षतिपूर्ति दिनुपर्छ । त्यसर्थ, नागरिक स्वतःस्फुर्त सम्बन्धित क्षेत्रका कर बडो उत्साहले बुझाउँछन् । केही देशले विकासका हरेक परियोजनामा नागरिकको अनिवार्य सहभागिता गराउँछन् । यसले योजनामा अपनत्व महसुस हुन्छ, नागरिक निरीक्षण र सरोकार बढेर काम राम्रो हुन्छ । सबैले उत्साहपूर्ण सहभागिता जनाउँछन् । त्यसैले विकास आयोजनामा लगानीको आवश्यकता दाता होइनन्, वातावरण हो भन्ने बुझ्नुपर्छ ।

देशको विकासका लागि प्रशासनिक तथा सामाजिक आचरण र मानवीय नैतिक मूल्यमान्यता पुनर्जागरणमा सघन ध्यान दिनुपर्छ । आत्मनिर्भर आर्थिक विकास त पहिलो सर्त हुँदै हो । पूर्वाधारको विस्तार र व्यापक सुदृढीकरण उत्तिकै आवश्यक छ । यी तीन पक्षलाई सबै तहका सरकारले एउटै र अन्तिम लक्ष्य मान्नुपर्छ । सङ्घीय सरकारले अलौकिक संयोजन तथा नेतृत्व कौशल प्रदर्शन गर्नुपर्छ । विज्ञ, काबिल तथा अनुभवी व्यक्तिको सहयोगमा तीनवटै पक्षको बृहत् तत्कालीन र दीर्घकालीन कार्ययोजनाको सूची बनाउनुपर्छ । हरेक क्षेत्रको विकासको तत्कालीन र दीर्घकालीन मोडल बन्नुपर्छ । नियुक्तिमा क्षमतावान्हरूलाई अगाडि ल्याउँदा अनुपम कार्यसम्पादन साथै सरकारमाथि नागरिक भरोशासमेत बढोत्तरी हुन्छ ।

नागरिकलाई देशको सम्मानमा अनुगृहित राख्न भारतमा सिनेमा हलमा राष्ट्रिय गान बजाइन्छ । चीनमा एक–अर्काबीच र अरूसँग देश तथा नेतृत्वको विरोधमा नकारात्मक वार्तालापलाई रुचाइँदैन । कतिपय देशमा आफ्नो क्षेत्रभित्रको बाटो र सार्वजनिक स्थानको सुधार तथा संरक्षण सम्बन्धित समाज स्वयंले गर्छ । भर्खरै बहुल सन्तान नीति पनि अपनाएको चीनमा बच्चालाई खेलौना चाहिँ गहकिलो किनिन्छ । बच्चाले एक्लै उक्त खेलौना उठाउन सक्दैन र साथी बोलाउँछ । समूहमा काम गर्न सिकोस् भन्ने मान्यता राखिन्छ । सामाजिक आचरण निर्माण गर्न यस्ता स–साना कुरा पनि अधिक हितकारी हुन्छन् । खानपान, रहनसहनदेखि व्यवहारका हरेक पक्षमा हाम्रा थुप्रै परम्परामा विशाल र विराट मौलिकता अनि वैज्ञानिकता छ, तिनीहरूको पुनर्जारण गरिनुपर्छ ।

प्रसिद्ध पुस्तक ‘डेमोक्रेसी : द गड द्याट फेल्ड’का लेखक ह्यान ह्यामर हिप्स रोजगारी निर्माण, गरिबी निराकरण र नागरिकको सामाजिक सुरक्षा बढोत्तरीमा असफल भएकै कारण थुप्रै देशमा प्रजातन्त्र असफल भएको उदाहरण दिन्छन् । हाम्रो समस्या पनि यही हो । अर्थशास्त्रमा नोबेल पुरस्कारबाट पुरस्कृत अमत्र्य सेनले विकासका गतिविधिले दु्रततर यात्रा नगरुञ्जेल राजनीतिक र प्रशासनिक गतिविधिहरूले मात्र सरकारको सफलता र देशको प्रगति सम्भव हुँदैन भनेका छन् । तसर्थ, समाजका हरेक क्षेत्रमा तत्कालीन सुधार अनि दीर्घकालीन विकासका योजना आउनुपर्छ । बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्धि नियन्त्रणमा सरकार निर्मम बन्नुपर्छ । न्याय, सङ्गति, सभ्यता र सुशासन प्रत्याभूत हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र आवास कम्तीमा सरकारको दायित्व बन्ने गरी कार्यक्रम दिनुपर्छ ।

शासन वा कार्यकारीका नामसँग नागरिकको कुनै आकर्षण वा विकर्षण रहँदैन । नागरिकको मुख्य आशक्ति भनेको व्यवस्था वा कार्यकारीको कामसँग हुन्छ । अभ्यास गर्ने हो भने थुप्रै परिवर्तन गर्न सकिन्छ । हरेक आयोजना सम्पन्न नै नहोला तर यथोचित प्रगति र विकास देखिनुपर्छ । पछिल्लो २० वर्षमा थाइल्यान्ड, भियतनाम, मकाउ, जापान, दक्षिण कोरिया, कुवेत, कतार, हङकङ, सिङ्गापुरलगायतका देशले गरेको आर्थिक प्रगतिलाई हामीले सम्भाव्य अनुकरण गर्नुपर्छ ।

पछिल्ला अनुसन्धान तथा विश्व उदाहरणले के देखाउँछ भने हामीले बौद्ध तीर्थाटनलाई आक्रामक हिसाबमा विस्तार गर्नसके १० वर्षमा मध्यमस्तरको विकासोन्मुख देश हुने सम्भावना छ । प्रत्येक वर्ष झन्डै तीन करोड बौद्ध धर्मावलम्बी नेपाल आउन चाहेको देखिन्छ । जलविद्युत् अर्को क्षमता हो, हामीसँग एक शताब्दीभन्दा बढी पुग्ने बहुमूल्य खनिज छन् । जीवन निर्वाह केन्द्रित, व्यापार केन्द्रित र सामाजिक आचरण सुधार केन्द्रित लक्ष्यहरू तोकेरै हरेकमा कम्तीमा तीन दर्जन आक्रामक कार्यक्रम ल्याउनुपर्छ ।

देशको शिक्षा क्षेत्र भयावह छ । हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछाँै । पढेका र दक्ष भनिएको जनशक्ति सम्पन्न देशलाई अनि शारीरिक श्रम गर्ने जति खाडी मुलुकलाई पठाएर समृद्धिको आशा गर्नु गलत हुन्छ । पैसाको हिनामिना मात्र भ्रष्टाचार होइन, भ्रष्ट आचरण हुनु भ्रष्टाचार हो, उक्त भ्रष्ट आचरणको संस्कार पूरै फेरिनुपर्छ ।

नर्वे, डेनमार्क, स्विडेनलगायत शून्य भ्रष्टाचार हुने देशमा विद्युतीय प्रजातन्त्र (डिजिटल डेमोक्रेसी)ले विशाल परिवर्तन गराएको छ । सामरिक संसारबाट हरेक राम्रा कुरा सिक्दै हाम्रो मौलिकता सुहाउने गरी ती विकास तथा परिवर्तनका आयामको अभ्यास गर्नुपर्छ । सरकार नै यसको मुख्य सर्जक हो, नागरिक विश्वासिला सारथि बन्नुपर्छ । सरकारको असफलताले केवल सरकारलाई मात्र होइन, सङ्घीयतासँगै गणतन्त्रकोे पनि असफलता देखाउँछ । तसर्थ, यो सरकारलाई विगतका अन्य सरकारजस्तो असफल भए पनि केही नहुने भन्ने सुविधा छैन । संसद्बाट सरकार बदलियो, अब सरकारले आफ्नो संस्कार बदल्नुपर्छ ।-गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार