काठमाडौं: नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज (सोमबार) त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ।
क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुुझाउन लागेको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए। पार्टीको गाउँ/नगर वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन्छन्।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेख गरिएका निर्णयअनुसार गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो।
सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुंगो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको भए पनि क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा आज मात्रै सभापतिलाई बुझाउन लागिएको हो।
मुलुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाख बढी हुने क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुल्झिँदा महाधिवेशन कार्यतालिकासमेत प्रभावित भएको थियो। साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया