काठमाडौंः प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नेबाहेक अर्को विकल्प नदेखिएको बताउनुभएको छ ।
काठमाडौंको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित पार्टीको छलफलका विषयमा मंगलबार सञ्चारकर्मीलाई जानकारी गराउँदै नेपालले एकता नाममा पार्टी कब्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफूहरुले नयाँ विकल्प रोजेको बताउनुभएको हो ।
नेपालले एकता मिलाउने नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको तर्क गर्नुभयो । उहाले नयाँ पार्टी गठन भए पनि एकता हुन सक्ने धारणा राख्नुभयो । पार्टी पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अव केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको बताउनुभयो । अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुने र समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्ने उहाले बताउनुभयो ।
तेश्रो धारमा उभिएका नेताहरुप्रति लक्षित गर्दै उहाँले जेठ दुई गतेका बारेमा चलाइएको चर्चा एमालेमा छिर्ने बहाना मात्र भएको स्पष्ट पार्नुभयो ।
नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उहाँले रोज्ने दलका विषयमा भन्ने शाक्यमा नै भर पर्ने जिकिर गर्नुभयो ।
नेपालले सनाखतमा लागि २० प्रतिशत भन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दावी गर्नुभयो । यसबीचमा आफ्नो नयाँ दलप्रति भ्रम फैलाउने काम पनि गरिएको उहाँले बताउनुभयो । उहाँले नयाँ पार्टीको विधि विधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको तर्क गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया