काठमाण्डौंः मकवानपुरको थाहा नगरपालिकामा हरेक वर्ष जस्तै यस वर्ष पनि गाईजात्राको पर्सिपल्ट मनाइने हिलेजात्रा मनाइएको छ । कोभिड–१९ को महामारीका कारण अघिल्लो वर्ष रोकिएको हिलेजात्रा यस वर्ष सामान्य ढङ्गले मनाइएको इन्द्रायणी भगवती कालाभैरव संरक्षण गुठीले जनाएको छ ।
भाद्र कृष्णपक्ष तृतीयाका दिन थाहा नगरपालिका–३ घट्टेचौरमा भव्यरूपमा हिलेजात्रा लाग्ने गरेकामा यस वर्ष विधि मात्र पु¥याएर जात्रा सम्पन्न गरिएको हो ।
जात्रामा स्थानीय नेवार समुदायले परम्परागत झाँकी, नाच र बाजासहित प्रदर्शन गरेका थिए । मल्लकालदेखि शुरु भएको मानिएको यो जात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखेनाच र धान रोपाइँको अभिनय र प्रहसन गरिन्छ । यसरी जात्रा गर्दा स्थानीयवासीको उल्लेख्य भीड लाग्ने गरेको भए पनि यस वर्ष कोरोना महामारी र निषेधाज्ञाका कारण मानिसको भीड थिएन । यद्यपि केही व्यक्तिले ससाना पसल भने राखेका थिए ।
हिलेजात्रा कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि थाहा नगरमा मनाइने हिलेजात्राको प्रसङ्ग मल्लकालीन नेवार जातिको खेतीकर्म र पौराणिककालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको स्थानीयवासी शम्भुभक्त नापितले बताउनुभयो । धेरै पहिलेदेखि धानखेती गर्दै आएको थाहा नगरको टिष्टुङ–पालुङ क्षेत्रमा धान रोपेर सकेपछि फुर्सदमा रहेका नेवार समुदायले रोपाइँको अभिनय गरेर मनोरञ्जन गर्ने गरेको उहाँको भनाइ छ ।
जात्रामा गणेश, इन्द्रायणी, कुमारी र कालाभैरवका रूपमा देउता नचाउने गरिन्छ । खासगरी महादेव र देवासुरबीच महासङ्ग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण तृतीयाका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन शुरु गरिएको किंवदन्ती रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया