श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना कहरः भदौरे जात्रा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थिति सहज भइदिएको भए यो बेला बागलुङ बजारमा भदौरे जात्राको रौनक चलेको हुने थियो । रैथाने नेवार आफ्नो पुस्तैनी परम्परामा रमाइरहेका हुन्थे । संस्कृतिप्रेमी सबैका लागि यो याम जात्रामय बन्थ्यो ।

अहिले परिस्थिति त्यस्तो छैन । भदौरे जात्राका लागि कोरोना महामारी बाधक बनेको छ । सङ्क्रमणको जोखिम घटाउन जारी निषेधाज्ञाका कारण नेवार समुदायमा प्रचलित जात्रा, नाच स्थगन गरिएको छ ।

भदौरे जात्रा अन्तर्गत यहाँ लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, कटुवाललगायतका नाच तथा झाँकी निकाल्ने गरिन्थ्यो । भीडभाडजन्य क्रियाकलापमा बन्देज लगाइएका कारण भदौरे जात्रा रोक्नुपरेको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको र निषेधाज्ञा पनि कडा प्रकृतिको भएका कारण यसपाली जात्रा रोक्ने निर्णय ग¥र्यौँ”, उहाँले भन्नुभयो । गत वर्ष पनि अन्तिम समयमा आएर समाजले भदौरे नाच स्थगन गरेको थियो ।

भदौरे नाचले पर्वमय माहोलको छनक दिने गरेकोमा जात्रा रोकिँदा अहिलेका चाडबार्ड पनि यसै निराश छन् । खास उत्साह र रमझम छैन । नेवार समुदायका कलाकारले बर्सेनि जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे नाच प्रदर्शन गर्थे । लाखे नाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन थियो ।

घण्टाकर्ण र गाईजात्रा भने सुरक्षा सावधानीसहित मनाइएको नेपाल भाषा मंकाः खलः बागलुङका सदस्य जयराम भारीले बताउनुभयो । गाईजात्राका दिन दिवङ्गत आफन्तको स्मृतिमा तायामचाः निकाल्नै पर्ने भएकाले न्यून उपस्थितिमा उक्त संस्कारलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

“परम्परा जोगाउने मात्र काम भयो, गाईजात्रा पहिलेझैँ भव्य भएन”, सदस्य भारीले भन्नुभयो, “दिउँसोमा पनि तायामचाः नाच देखाउने प्रचलन रहेपनि कोरोना सङ्क्रमणको जोखिमका कारण यसवर्ष बिहान मात्रै निकालिएको थियो । समाज र खलः मिलेर नेवार समुदायको साँस्कृतिक परम्परालाई जोगाउँदै आएका छन् ।”

तीन सय वर्षअघि बसाइँसराइ गरी आउँदा ल्याएको जात्राको परम्परालाई यहाँका नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा भदौरे जात्रालाई लिने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।

भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको उहाँको भनाइ छ । जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन गर्ने गरिन्छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने संस्कृतिकर्मी छोटाले उल्लेख गर्नुभयो ।

पहिलेपहिले भदौरे नाच हेर्नकै लागि गाउँगाउँबाट मानिस बागलुङ बजार झर्थे । दिनभर जात्रामा रमाउने र चाडबार्डलाई किनमेल गरेर साँझपख घर फर्कने गर्थे । पछिल्लो समय भदौरे जात्राको रौनक घट्दै गए पनि नेवार परम्परा र संस्कृति जोगाउन जेनतेन लागिपरेका छन् ।

नेवार समुदायको बसोबास रहेको गलकोटलगायतका ठाउँमा पनि जात्रा निकाल्ने चलन छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार अगुवा बताउँछन् । लाखे नाच्ने कलाकार पाउनै गाह्रो हुन थालेको उनीहरुको दुःखेसो छ । यसै त परम्परा धान्न मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।

चलिआएको रीतिथिति धान्न पनि धौधौको स्थिति छ । कोरोना सङ्क्रमण दर बढेसँगै गत साउन २८ गतेदेखि यहाँ कडा प्रावधानसहितको निषेधाज्ञा छ । अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार