श्रावण ४, २०८२ आइतबार July 20, 2025

गौरा पर्व सुरु, पहिलो दिन आज बिरुडा भिजाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए । यस पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज यहाँको प्रसिद्ध पर्व गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ । गौरा पर्वको पहिलो दिन आज यहाँका विवाहित महिलाले नजिकैको धारा तथा पँधेरामा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् ।

गौरापर्व मनाउने समुदायका महिलाले निरहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले बताइन् ।

गौरा पर्व अर्थात् भाद्र महिनालाई हरियाली अनि पानीका थोपाहरुसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाले सौभाग्यका रूपमा मनाउने चलन रहेको जोरायल गाउँपालिका–४ गड्सेराका स्थानीयवासी तथा पण्डितडिल्लीराज जोशीले बताए । उनले भने, “भदौ महिना हरियालीसहित शुभ महिना मानिन्छ, यो महिना विवाहित महिलाको सौभाग्य महिनाका रूपमा हेरिन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा गौरा पर्व मनाउने चलन रहे पनि सबैभन्दा बढी जोरायल, गड्सेरा, दिपायल राजपुर, फलेडीलगायतका ठाउँमा मनाउने गरिन्छ ।  भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिककार्य आयोजना गरेर मनाइने चलन रहेको सायल गाउँपालिकाका ज्योतिष (पण्डित)चेतराज उपाध्यायले बताए ।

उहाँका अनुसार गौरा पर्व विशेषगरी छिमेकी मुलुक भारत कुमाउँ तथा यहाँ परापूर्वकालदेखि नै मनाइँदै आएको छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निरहार रही गरेका उपासनाको फलस्वरुप तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी त्यही सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती रहेको यहाँका बूढापाका बताउँछन् ।

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याइन्छ । गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौरा०को पूजाआजा गर्ने परम्परा रहेको दिपायल सिलगढी–२ का स्थानीयवासी तथा पण्डित मेखराज भट्टले जानकारी दिए । उनका अनुसार गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

ठाउँअनुसार गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने चलन छ । मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट कुलदेवता प्रशन्न हुने र परिवारमा सुख, शान्ति हुने जनविश्वास रहेको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्वकालदेखि नै मनाइँदै आएको पर्व हो । यस वर्ष भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार