असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा संसदीय दलको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो ।

अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताएका छन ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् । एपेण्डिसाइटिसको शल्यक्रियापछि बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्रीले नियमित कामचाहिँ निवासबाटै गरिरहेका छन् ।

दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।

दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित भएको छ । उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले पनि आफू जलेश्वर जानुपर्ने भएकाले शुक्रबार बैठक नराख्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया