श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुदूरपश्चिममा धुमधमका साथ भित्र्याइयो गौरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन् ।

सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन् । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तमीका दिन गौरा देवी भित्र्याएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानमा नचाइन्छ । गौरा भगवान् शिवकी पत्नी, हिमालयकी छोरीलाई हुन् । गौरीले कडा उपासना गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पुजारी डिल्लीराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिव पति पाउन पार्वतीले गरेको कठोर तपस्या जस्तै यहाँका महिलाले पनि गौरा देवीको निकै तपस्या गर्छन्, सुदूरपश्चिममा यस पर्वको आफ्नै विशेष खालको महत्व रहेको छ ।” गौराको सुरुआत हरेक वर्ष भाद्र शुक्लपक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ । सो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत हुन्छ ।

गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितीया÷तृतीयामा ब्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने चलन रहेको दिपायल राजपुरकी गौरीदेवी शाखले जानकारी दिनुभयो । उहाँका अनुसार बिरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ अर्थात् धुने चलन रहेको छ । पखालिएका ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ ।

गौरा पर्वमा चैत, धमारी, पुराना वीर योद्धा, राजामहाराजाका वीरगाथाका बारेमा गीत बनाई खेल खेल्ने चलन रहेको छ । ठाउँ र जिल्लाअनुसार यहाँ गौरा पर्वमा डेउडा खेलसमेत खेलिने प्रचलन रहिआएको छ ।

सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ । पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।

भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौ महिनामा निकै रौनक थप्ने गर्दछ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाइ भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ ।

त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा रहेको दिपायलका पण्डित मेखराज भट्टले जानकारी दिनुभयो ।

यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन रहेको स्थानीय धर्मादेवी जोशी पाठकले बताउनुभयो । गौरामा महिलाले ग्रहण गर्ने दुबे–धागोको महत्व हिन्दू पुरुषले लाउने जनैसरह हुने गरेको उहाँको भनाइ छ ।

ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन् । दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातवटा गाँठोको डोरा) भनिएको छ । शास्त्रअनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ ।

गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ । गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन् । कामका लागि जिल्ला छोडेर विदेशिएका पनि घर फर्किरहेकाले यहाँका गाउँघरमा अहिले चहलपहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।

यहाँको स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुने गरी डेउडालगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासनले एक सार्वजनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पूजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार