बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हामीले एकीकृत बस्ती मागका आधारमा बनायौं बाहिरबाट लादेर बनाएनौं । – सुशील ज्ञवाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गरिरहँदा पुनर्निर्माणको कामको समीक्षा कसरी गर्नुहुन्छ ?

अत्यन्त आरोह-अवरोह र चुनौती पार गरेर नेपालको पुनर्निर्माणले सफलता हात पारेको छ । संसारको सामू, नेपाली जनताको सामू हामीले सक्छौं, काम गर्न सम्भव छ भन्ने कुरालाई स्थापित गर्न सक्यौं । संसारको विपत् पुनर्निर्माणको इतिहासमा हेर्ने हो भने लाखौं घरको निर्माण ठूलो पुनर्निर्माण योजनामा पर्छ । ८ लाख घरहरू एकैपटक बनाउने भनेको सानो कुरा होइन ।

हाल नेपालमा पुनर्निर्माणअन्तर्गत ७ लाख घर बनिसकेका छन् । जनताले तेस्रो किस्ता लिइसकेको अवस्था छ । ७ हजार ५५३ विद्यालय क्षति भएकोमा ६ हजार ६४७ वटा विद्यालय निर्माण भइसकेका छन् । करिब ८८ प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न गरेका छौं । बाँकी १२ प्रतिशतको निर्माण भइरहेको छ । भूकम्पले क्षति पुर्‍याएका १ हजार १६४ स्वास्थ्य संस्थामध्ये करिब ६५ प्रतिशतको काम अगाडि बढेको छ । बाँकीको पनि चलिरहेको छ । क्षति भएका एकदमै पुराना ९२० सांस्कृतिक सम्पदामध्ये ५८६ अर्थात् ६४ प्रतिशतको काम सम्पन्न गरेका छौं । १ सय १५ वटाको बाँकी छ र अन्य निर्माणाधीन छन् ।

समग्रतामा हेर्ने हो भने पुनर्निर्माणले जुन परिणाम निकालेको छ यो अत्यन्त राम्रो छ । नेपालले संसारसामू गर्व महसुस गर्नसक्ने अवस्थामा पुनर्निर्माणलाई पुर्‍याउन सकेका छौं ।

केही सम्पदाको पुनर्निर्माण पूरा नहुँदै उद्घाटन गर्नुभयो र जसको अहिले पनि निर्माण चलिरहेको छ । हतार किन थियो ?

धरहराको काम दुई भागमा विभाजन गरिएको थियो । जनताले धरहरा जतिसक्दो छिटो उठे हुन्थ्यो भनिरहेका थिए । त्यो नेपालीहरूको स्वाभिमानको र पुनर्निर्माणको प्रतिकको रूपमा थियो । हामी सक्छौं भनेर नेपालले क्षमता देखाउने काम थियो । त्यसैले हामीले जोड गरेर धरहरा निर्माणको पहिलो चरण सम्पन्न गरेका हौं । दोस्रो चरणको काम जारी रहेको छ । बेसमेन्ट, गार्डेनिङ गर्ने म्युजियम निर्माणलगायतका कार्य जारी छन् ।

सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालय सार्नुपर्ने थियो त्यो काम सम्पन्न भएको छ । प्रधानमन्त्री कार्यालयको तीनवटा ब्लकको काम सकिएको छ । अलिकति प्राचीनता भएको पश्चिमको ब्लकको काम जारी छ । त्यो मंसिरसम्म सम्पन्न गर्छौं । काम सम्पन्न हुनु पहिल्यै उद्घाटन भएको यत्ति हो, अन्यथा हाम्रो सम्पन्न नभईकन उद्घाटन भयो भन्ने सत्य होइन ।

पुरानो हिसाबको प्रविधि, सीप र जनशक्तिको पनि आवश्यकता पर्ने भएको हुनाले अरु सम्पदा निर्माणमा पनि तीव्र गतिकासाथ काम गर्‍यौं । पछिल्लो समय कोभिडका कारणले हामीलाई जटिलता थप्यो । जनताले चाहेअनुसारको घर निर्माण गर्न सक्ने स्थिति भएन । निर्माणकर्मी परिचालनमा रोक लगाउने अवस्था बन्यो । त्यसले गर्दा केही काम बाँकी छन्, नत्र पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ ।

जनताका घर निर्माण नै बाँकी रहेको अवस्थामा प्राधिकरणले जिम्मेवारी हस्तान्तरण गर्दैछ । अब ती काम कसरी सम्पन्न हुन्छन् ?

हामीले पुनर्निर्माणको आधारभूत दृष्टिकोण तयार पारिसकेका छौं । सुरुदेखि नै प्रधिकरणले आफ्नोमात्रै जनशक्ति परिचालन गरेको थिएन । प्राधिकरणले आफ्नो जनशक्तिका रूपमा बजारबाट केही लिएको थियो । तर, मूलभूत रूपमा नेपाल सरकारका निजामती सेवातर्फका, मन्त्रालयका जनशक्तिलाई परिचालन गरिएको थियो । जसले गर्दा आजको दिनमा हस्तान्तरण गर्दा हाम्रो त्यो संस्थागत संरचना र जनशक्तिसहित हस्तान्तरण गरिरहेका छौं । जस्तो शिक्षा सम्बन्धी कामको जिम्मा शिक्षा मन्त्रालयको टिमलाई लगाएका थियौं । अब त्यही टिमले शिक्षा मन्त्रालयअन्तर्गत बसेर काम गर्छ । सहरी विकास मन्त्रालयसँग सम्बन्धित कामका लागि त्यहाँको टोलीलाई नै परियोजना निर्देशक, सहनिर्देशक ल्याएर काम गराएका थियौं । जिल्लाका कामहरू पनि त्यहाँबाट नै जनशक्ति ल्याएर काम गरेका थियौं । त्यो टिम नै हस्तान्तरण भएर जाने हो । संस्था नै हस्तान्तरण भएर जाने हो । पूर्वाधारमा पनि त्यस्तै हो । विगतमा पनि पुरातत्व विभागले काम गरेको थियो आगामी दिनमा पनि उसले नै काम गर्ने हो ।

त्यसैले काममा ग्याप हुँदैन । उनीहरूले नै काम गर्ने हो । त्यसबाट नै परिचालित भएर जान्छ । पुस ९ गतेसम्मको अवधिमा हामी त्यसको समग्र कामको सहजीकरण गर्ने तत्–तत् निकायबाट हुने कामहरूलाई सुनिश्चितता गरेका छौं । समन्वय गर्ने, अनुगमन गर्ने र क्षमता अभिवृद्धि गर्ने लगायतका काम गर्छौं । त्यसैले चार महिना ‘कुलिङ पिरियड’ राखेका छौं । यो समयमा ती काम सम्पन्न हुने सुनिश्चित गर्नेछौं ।

यसो किन गर्‍यौं भने कोभिडको जटिलता छ । प्राधिकरणको समय थप्न सक्ने स्थिति छैन । प्राधिकरणले सहयोग गर्ने स्थिति निर्माण गर्न यसो गरिएको हो । त्यसपछि ती निकायहरूले सक्षम ढंगले काम गर्न थाल्छन् भनेर यो गरिएको हो । प्राधिकरणको समय सकिँदा पनि काम सम्पन्न हुन्छ भनेर अहिले नै हस्तान्तरण गरिएको हो ।

भूकम्पमा जसका घर भत्किएका थिए उनीहरूको किस्तासम्बन्धी विवाद पछिल्लो समय पनि जारी छ, अब उनीहरूका समस्या कसरी समाधान हुन्छन् ?

ती विवादका केही संख्या पुनरावेदन समितिमा आएका छन् । राष्ट्रिय पुनर्निर्माण समितिभन्दा बाहिरको स्वतन्त्र स्वायत्त निकाय हो, पुनरावेदन समिति । त्यसले काम आफ्नो ढंगले गर्छ । त्यो प्रधानमन्त्री कार्यालयअन्तर्गत छ । त्यो सिफारिसअनुसार काम गर्छ । त्यसमा समस्या भयो र सिफारिस आयो भने सहरी विकास मन्त्रालयले काम सम्पन्न गर्छ ।

भत्किएका सम्पदा, विद्यालय, स्वास्थ्य चौकी निर्माणका बाँकी काम कसरी अगाडि बढ्छन् ?

सम्बन्धित मन्त्रालयका अधिकारीले मातहतका काम सम्पन्न गर्न सक्छौं भन्नुभएको छ । प्राधिकरणले बजेटको सुनिश्चितता गरेको छ । नेपाल सरकारले कति बजेट लगाउने र दातृ निकायको रकमको सम्झौतासमेत भएको छ । अब ढुक्क भएर काम गर्ने स्थिति बनेको छ । रकम र गर्नुपर्ने कामको सुनिश्चितता भएको छ । संगठन संरचना मन्त्रालय, विभागदेखि जिल्लासम्मको सुनिश्चित भएको छ र जनशक्तिको कुरा पनि सुनिश्चित गरेकाले चिन्ता गरिराख्नुपर्ने अवस्था हुन्न ।

जटिलता आए भने पनि यसबीचमा समाधान गर्छौं । पुनर्निर्माणका विगतका इतिहास हेर्दा पनि चुनौती पार गर्दै यी काम गर्दै आएका हौं । अप्ठ्यारा हिजो पनि थिए । एकात्मक राज्यप्रणाली थियो । संघीयतामा जाँदा अप्ठ्यारा आए । यी अप्ठ्यारा म्यानेज गर्दै यहाँसम्म आएका हौं ।

प्राधिकरणले ठुल्ठूला देखिने कामलाई बढी प्राथमिकता दिँदा जसको घर भत्किएको थियो उनीहरूको आवास निर्माणको काम छायामा पर्‍यो भन्ने कुरा पनि आएको छ नि ?

तथ्यले त्यो भन्दैन । ८ लाख घर बनाउनुपर्नेमा ७ लाख घर बनेको छ । ७ लाख घरेको बनेको कुरालाई महत्व दिउँ । धरहरा आफ्नो ठाउँमा छ, रानीपोखरी आफ्नो ठाउँमा छ । यसलाई बढी महत्व भइरहेको छ । तर हामीले जनताको एकदमै गरिबभन्दा गरिब जनताको घर बन्ने सुनिश्चित गरेका छौं । बाँकी १ लाखको पनि किस्ता लिने काम बाँकी रहेको छ । त्यो पनि सम्पन्न हुन्छ । कोभिडको कारणले समस्या आएको हो ।

विद्यालय निर्माण भएका छन् । ५० हजार वटा कक्षाकोठा निर्णमा भएका छन् । यो जनताको घरदैलोमा भएका स्कुल बनेका छन् । आफ्ना बच्चा टोलको विद्यालयमा पढ्न पाएकामा अभिभावक खुसी छन् । स्वास्थ्य संस्था व्यापक रूपमा बनेका छन् । जनताका टोल छिमेकमा भएका सम्पदा बनिरहेका छन् । बाटो, खानेपानीको संरचना बनेको छ । जनताको दैनिक जीवनसँग सम्बन्धित काममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यस्तो ढंगले काम गरेको छ ।

महत्वपूर्ण के छ भने पुनर्निर्माणमा जनता आफै संलग्न भएर काम भएको छ । रोजगारी सिर्जना भएको छ । एक लाखभन्दा बढी डकर्मी, सिकर्मी तालिम प्राप्त जनशक्ति उत्पादन भएर काम गर्ने अवस्था छ । त्यो जनतालाई नै परिचालन गरेर काम गरेका छौं ।

प्राधिकरणले सुरुमा एकीकृत बस्तीको अवधारणा ल्याएको थियो त्यसमा कत्तिको सफलता मिल्यो ?

पहिलो कार्यकालमा मैले त्यसलाई अगाडि बढाउने कोसिश गरेको थिए । बीचमा ‘ग्याप’ भयो । दोस्रो कार्यकालको पहिलो कार्यकारी समितिको बैठकबाट एकीकृत बस्ती बनाउने अभियान सुरु गरेको थियो । १०६ वटा एकीकृत बस्तीका लागि प्रस्ताव आएका थिए । हामीले एकीकृत बस्ती मागका आधारमा बनायौं बाहिरबाट लादेर बनाएनौं । जनतासँग सामाजिक, आर्थिक पक्ष जोडिएका हुन्छन्, भौतिक र पूर्वाधार मात्रै होइन । त्यसो भएकाले मागका आधारमा काम गर्दै जाँदाखेरि १ सय ६ वटा एकीकृत बस्तीको प्रस्ताव आयो । आएका जतिलाई हामीले बनाउने लिएर गयौं । त्यसमा ६२ वटा सम्पन्न भएको छ ४४ वटा निर्माणाधीन छन् । यो प्राधिकरणको अवधि (आगामी पुस ९)भित्र नै सम्पन्न हुने अवस्थामा छन् । यसबाट बस्ती स्थानान्तरण र एकीकृत बस्तीको मोडेल स्थापित गर्न सफल भएका छौं । यो ठूलो उपलब्धि हो ।

भोलिका दिनमा यस्ता विपद् आएमा पुनर्निर्माण गर्न सक्ने सामर्थ्य कति विकास भएको छ ?

हामीसँग क्षमता छ, मात्र त्यसको पहिचान गर्नुपर्‍यो । हामीसँग जनशक्ति जसरी परिचालित भयो, जनसमुदाय जसरी परिचालित भए वास्तवमा जनसमुदाय र सरकारका संयन्त्रमा ठूलो क्षमता रहेछ भन्ने देखियो । मूल कुरा परिचालन, व्यवस्थापन, समग्र कार्ययोजना कसरी गर्ने भन्ने रहेछ । भिजन नेतृत्व र कौशलता त्यो आवश्यक रहेछ भन्ने अहिलेको पुनर्निर्माणले देखाएको छ । यसले नेपालको समृद्धि र विकासको एजेन्डा जसरी अगाडि लिएर गएका छौं त्यो सम्भव छ, सकिन्छ भन्ने कुराको आशावादिता र विश्वास सिर्जना भएको छ ।

हाम्रा थुप्रै खालका प्रविधि लगायत जुन विकास भयो यी सबैका आधारमा समग्र मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउनुपर्ने रहेछ भन्ने देखियो । अहिले मेलम्चीमा त्यो समस्या देखियो । अरु ठाउँमा पनि यत्रो ठूलो समस्या आइरहेको छ । विपद् जोखिमबाट सुरक्षित नेपाल बनाउने कुराको मूल अभिभारा हाम्रो बीचमा छ । यो ४ महिनाको अवधिमा विपद् व्यवस्थापन प्राधिकरणलगायत सरकारका अरु निकायसँग मिलेर मार्गचित्र बनाउँदैछौं । समग्र विपद् जोखिमबाट सुरक्षित नेपालको खाकाको तयारी गरिरहका छौं ।

जसमा त्यसको संस्थागत संरचना कसरी लैजाने, जनशक्ति कसरी परिचालन गर्ने, वित्तीय स्रोतहरूको कसरी व्यवस्थापन गर्ने लगायतका कुराहरूको तयारी गरिहरहेका छौं । मंसिर २१ देखि २३ गतेसम्म पुनर्निर्माणको बारेमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यसमा अन्तर्राष्ट्रिय समूदायलाई अनुभव बाँड्न गइरहेका छौं । नेपालको विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माण गर्ने अभियानको खाका मार्गचित्र रोडम्याप छ त्यो प्रस्तुत गर्छौं । त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउने गरी सन् २०३० सम्म सुरक्षित नेपाल निर्माणको काम सम्पन्न गर्ने अवस्थामा पुर्‍याउने गरेर अगाडि बढेका छौं ।

हामीले प्राधीकरणमा प्राप्त गरेको अनुभव सिकाइ यसका जगमा उभिएर सुरक्षित नेपाल निर्माण गर्न सम्भव छ सकिन्छ भन्ने लाग्छ ।

नेपालमा प्राकृतिक विपद् आइरहन्छ । यस्ता विपत् हेर्नका लागि अब स्थायी संरचना आवश्यक पर्छ कि पर्दैन ?

एकदमै आवश्यक छ र अन्यन्त जरुरी पनि । हामीले यहि कुरालाई महसुस गरेर सरकारसँग पनि छलफल गर्‍यौं र पछि संसद्ले ऐन पास गरेर अहिले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण भनेर स्थापना भएको छ । गृहमन्त्रालयगत रहेको यसको संस्थागत ढंगले सुदृढ बनाउने अझै पुनर्निर्माण र पुनर्स्थापनाको काम गर्ने सक्षम निकायका रूपमा स्वतन्त्रता दिने सम्बन्धी काम गर्न जरुरी छ । यसमा छलफल पनि भइरहेको छ ।

हाम्रो यो रोडम्यापमा यस्ता संरचनाको खाका कसरी बनाउने भने कुरा पनि आउनेछ । त्यसलाई विपद् व्यवस्थापनका सबै कामहरू एकीकृत ढंगले गर्नेगरी कार्यान्वयन लिएर जाने गरी स्थायी संरचना निर्माण गर्न खोजेका छौ । त्यसले तीनवटै तहको सरकार र स्थानीय समुदायलाई सँगै लिएर जाने काम गर्छ । यस्तो खालको संरचना बनउनुपर्छ भन्ने लागेर त्यसको स्थापना भएको छ र त्यसलाई सुदृढ बनाउनेतिर लागेका छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार