श्रावण १, २०८२ बिहिबार July 17, 2025

पार्टी र सरकारमा एक्लिँदै देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ।

गठबन्धन दलका नेताहरूको स्वार्थ र आग्रहमा देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरे। उनीहरूकै सहजतालाई केन्द्रमा राखेर देउवाले राजनीतिक दल विभाजनलाई खुकुलो बनाउँदै अध्यादेश जारी गरिदिए। त्यसलाई लिएर सरकारको आलोचना भयो।

त्यही अध्यादेशका कारण एमाले र संघीय समाजवादी पार्टी विभाजित हुन पुगे। दलविहीन अवस्थामा पुगेका माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठनको अवसर मिल्यो। तर त्यसपछिका दिनमा गठबन्धन दलहरूकै असहयोगका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले पटकपटक गठबन्धन दलका शीर्ष नेताहरूसँग नाम मागेका छन्। तर उनीहरूले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम देउवालाई उपलब्ध गराएका छैनन्। उल्टो सरकारले ल्याएको त्यही राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन कि खारेज गर्ने भन्ने विवादमा गठबन्धनका नेताहरू रुमलिन पुगेका छन्।

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ। माओवादी केन्द्रका दुई र कांग्रेसका तीन नेतालाई सरकारमा सहभागी गराएका देउवाले बाँकी सबै मन्त्रालय आफैंसँग राखेका छन्। जसले गर्दा मन्त्रालयका सबै काम प्रभावित बन्न पुगेका छन्।

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दा आर्थिक विधेयकहरू पारित हुन सकेका छैनन्। जसले गर्दा मुलुक बेखर्ची बन्न पुगेको छ। संसद् बैठक सुरु गराउन गठबन्धनका अन्य दलले प्रधानमन्त्री देउवा र सरकारलाई साथ नदिएको पनि निकटहरूले गुनासो गर्न थालेका छन्।

त्यस्तै, अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने विषयमा पनि देउवालाई गठबन्धन दलभित्रैबाट असहयोग भएको छ। प्रमुख प्रतिपक्षीमा रहँदा पनि एमसिसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा उभिएका देउवा संसद्को चालु अधिवेशनबाट त्यसलाई अनुमोदन गराउन चाहन्छन्।

तर, सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू यसको विपक्षमा उभिएका छन्। एमसिसी अनुमोदन पक्षमा गठबन्धनभित्र नेपाली कांग्रेस र प्रधानमन्त्री देउवा मात्र छन्। त्यसबाट देउवा झस्कन पुगेको दाबी गर्दै निकट एक नेताले भने, ‘कतै माओवादीले २०७४ को आमनिर्वाचनमा जस्तै धोका दिने त होइन भन्ने आशंका उब्जिएको छ।’

प्रधानमन्त्री देउवामाथि माओवादी केन्द्रका अध्यक्ष दाहाल हावी हुन खोजेको आशंका व्यक्त गर्दै देउवा निकट एक नेताले भने, ‘प्रधानमन्त्रीले अघि सारेका प्रस्तावहरू पारित नहुने अवस्था देखिनु राम्रो होइन। हामी त्यसप्रति सजग छौं।’ तर पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले यो साताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताउँदै निर्वाचनसम्मै अहिलेको गठबन्धन कायमै रहने दाबी गरेका छन्।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदै छन्। पार्टी र सरकार सञ्चालनमा देउवाका बलियो सहयोगी विमलेन्द्र निधिले साथ छाडेका छन्। पार्टीको १४औं महाधिवेशनबाट फेरि पार्टी नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवालाई चुनौती दिँदै निधिले सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

सभापति देउवाको रक्षाकवच बनेर उभिएका पार्टीप्रवक्ता विश्वप्रकाश शर्मा महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणासहित प्रचारमा जुटेका छन्। पार्टी सभापति देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकै बेला आइतबार आफ्नो अवधारणा सार्वजनिक गर्दै शर्माले चारपटक सांसद र दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नहुने प्रस्ताव ल्याएका छन्। यसले पनि देउवामाथि दबाब बढ्ने भएको छ।  नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार