असार २६, २०८२ बिहिबार July 10, 2025

दलाल सत्ता र बेखुस पुस्ता – अच्युत वाग्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘पोखरामा नयाँ सवारी लाइसेन्सको मोल पच्चीस हजार रुपैयाँबाट एक्कासि पचास हजार पुगेछ’, क्षेत्रीयस्तरका एक नेताले बिनापश्चात्ताप स्वाभाविक भावमा यसरी भने मानौं यो अति सामान्य भइसकेको विषय हो । करिब छ वर्षयता लाइसेन्सको कारुणिक कथा यस्तै छ । लाइसेन्स पर्खेर बस्नेको संख्या अहिले काठमाडौंमा मात्रै नौ लाख पुगेको छ ।

पासपोर्ट कार्यालय, वैदेशिक रोजगार विभाग आदिमा त्यस्तै भीडभाड हुन्छ । सरकारले जनतालाई सेवा दिनुपर्ने यस्ता कैयौं कार्यालयमा अधिकारका रूपमा पाउनुपर्ने न्यूनतम सेवा अतिरिक्त ‘दररेट’मा खरिद गर्नुपर्छ । भन्सार, कर आदि कार्यालयको त खुलेआम असुलीमा कुख्याति छँदैछ ।

लाइसेन्सकै उदाहरणबाट दलालीको परिदृश्य प्रस्ट्याऊँ । दस वा बीस लाखवटा, चिप्सजडित लाइसेन्स कार्ड छाप्ने मेसिन खरिद गर्ने केही करोड रुपैयाँको स्रोत यतिका वर्षसम्म राज्यले व्यवस्थापन गर्न नसकेर यो अवस्था आइलागेको होइन । वास्तवमा अभावको यो परिस्थितिलाई योजनाबद्ध ढंगले राज्य सञ्चालकहरूकै चाहनाबमोजिम जीवन्त राखिएको हो । मन्त्री, कर्मचारी, लेखनदास र अहिले ड्राइभिङ सेन्टर सञ्चालकहरूसमेतको लाइसेन्स बिक्रीको जबर्जस्त दलाली सञ्जाल बनेको छ । यो भत्किनेबित्तिकै धेरैको आकर्षक कमाउको स्रोत ठप्पै हुन्छ । सेवाको प्रकृतिअनुरूप अन्य सबैतिर यस्ता सञ्जाल क्रियाशील छन् ।

उच्च राजनीतिक एवम् कर्मचारी नेतृत्व र भ्रष्टाचार नियन्त्रण गर्ने नाममा स्थापित निकायहरू कोही पनि यसबाट बेखबर छैनन् । तर, जनता ठगिने क्रम रोक्न कोही तत्पर हुँदैन । किनभने, प्रत्यक्ष–अप्रत्यक्ष दलाली भाग सबैतिर पुग्ने पद्धति स्थापित छ । यो मूलधारका मिडियामा समाचार बन्दैन । नेता र दलहरूबीचका तिखा झगडाजस्तो स्वादिला यी समाचार हुँदैनन् वा यस्ता ‘हल्ला’लाई प्रमाणित गर्न गाह्रो भएको बहाना सर्वत्र छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलसम्म समयमा बनाउन नसकेकामा आलोचना भएजस्तो देखिएको छ । उनी पनि उनका पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीभन्दा फरक भएनन् भन्ने आलोचना पनि सुनिन्छ । तर यो ‘आलोचना भएजस्तो’ मात्र किन हो भने, मन्त्रिमण्डल बन्न नसक्नुका वास्तविक कारणहरूमाथि कतै बृहत् चर्चा हुँदैन । प्रस्टै छ, देउवा आफैं र सत्तामा सहभागी सबै दललाई ‘आकर्षक’ मन्त्रालय चाहिएको छ । शीर्ष भनिएका नेताहरूले गरिरहेको त्यो (अ)राजनीतिक सौदाबाजी लज्जाशून्य र खुल्लमखुला छ । आकर्षक मन्त्रालयको परिभाषा नै बढी दलाली भाग वा ठेक्काको कमिसन असुल्न पाउने मन्त्रालयहरू हुन् र तिनलाई उम्कन नदिन सबैको कसरत छ ।

थप, राज्यसत्ता सञ्चालनमा निर्णायक भूमिकामा रहेकाहरूले योजनाबद्ध ढंगले नीतिगत रूपमै सत्तालाई दलालीको औजार बनाउँदै छन् । राजनीतिमा त्याग गर्नेहरूको स्थानमा व्यावसायिक स्वार्थ बाझिनेहरूलाई नै विधायन र नीति निर्माणको तहमा पद बिक्री गर्नेदेखि आर्थिक लाभमा हिस्सेदारी गर्ने पूर्वप्रशासकहरूलाई संवैधानिक अंगको पदाधिकारी र राजदूतजस्ता नियुक्ति दिने काम त निरन्तर भई नै रहेका थिए । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले त स्रोत नखुलेको सम्पत्ति लगानी गर्न पाउने प्रस्तावना बजेटमार्फत नै गरिदिए । गत भदौ २५ मा उनले प्रस्तुत गरेको आर्थिक विधेयकमा दसवटा क्षेत्रमा २०८० चैतभित्र लगानी गरे लगानीको स्रोत नखोजिने प्रस्ताव छ । ती दस क्षेत्रमा जलविद्युत्, अन्तर्राष्ट्रिय विमानस्थल, सुरुङ, सडक तथा रेलमार्ग, सिमेन्ट र स्टिल उद्योग, कृषि उद्योग, पर्यटन उद्योग, तीन सयभन्दा बढीलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी स्वदेशी कच्चापदार्थ उपयोग गर्ने उद्योग छन् । प्रस्टै छ, यो प्रयोजन सम्पत्ति शुद्धीकरणका लागि राजनीतिक नेतृत्व, खासगरी माओवादी केन्द्रलाई प्रभावमा पार्न सफल केही व्यापारीको स्वार्थमा ल्याइएको हो । यसबाट मुलुकमाथि पर्ने दूरगामी नकारात्मक असरहरूलाई जानीजानी बेवास्ता गरिएको छ ।

सरकारमा मन्त्री हुनका लागि भइरहेको हानथाप होस् वा अहिले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, त्यसले अब राजनीति त्याग, समर्पण र सेवाको होइन, रातारात धनी हुने निजी स्वार्थपूर्तिको माध्यम मात्र बनेको प्रस्ट हुन्छ ।

भन्नुपरेन, राज्यले दिने पदक–पुरस्कार पनि त्यही दलाल वा लुटतन्त्र (क्लेफ्टोत्रेसी)को हिस्सा भएका छन् । सबै मान, सम्मान र अवसरहरूमा पनि ठूला नेता, शक्तिशाली पदधारी र उनीहरूका आफन्तहरूकै एकाधिकार छ । असोज ३ गते नेपालको संघीय संविधान लागू भएको छ वर्ष पूरा भयो । संविधान कार्यान्वयनको वास्तविक अवस्थाको गहन र छुट्टै समीक्षा आवश्यक छ । तर, संविधान दिवसका दिन दिइने उच्च पदकहरूमा पनि नेताहरूकै हालीमुहाली देखियो । आश्चर्य छ, प्रधानमन्त्री भइसकेका झलनाथ खनाल प्रवृत्तिका मानिसहरूलाई पदक किन चाहिएको होला ? र, मुलुकलाई दिएको कुन उल्लेख्य योगदानका लागि ? उच्च ओहदाका कर्मचारीहरू कुन आकर्षक पदमा जाने र कसले पदक पाउने भन्ने निर्णय पनि अब त्यसको ‘प्राइस ट्याग’ले गर्न थालेको छ ।

यसरी, सिंगो राज्यसत्ता नै आफैं प्रत्यक्ष दलालीको औजार वा लुटतन्त्रमा रूपान्तरित भएपछि प्रधानमन्त्रीका रूपमा देउवा ओली वा अन्य कुनै प्रधानमन्त्रीभन्दा बिलकुल फरक नदेखिनु कुनै आश्चर्यको विषय रहेन । किनभने, ती सबैका लागि राज्यसत्ता सञ्चालनको मूल आधार अब एउटै छ र समान छ । दलाली झाग टत्र्याउने माध्यम र एकाध पात्रहरू फेरिएलान्, तर जो सरकारमा बसे पनि उसको मूल ध्येय सत्तालाई त्यही दलाली भाग असुलीमा दुरुपयोग गर्ने मात्र हुन थालेको छ । देउवाले अपवाद हुने हिम्मत यसपालि पनि देखाएनन् । अपेक्षाभन्दा त्यति फरक परेको हो ।

कसरी बदलिएला मुलुक र नागरिकहरूको निरन्तर पीडाको यो बीभत्स नियति ? यसको उत्तर धेरैले प्रस्तुत गर्नेजस्तो धेरै जटिल छैन । यसका दुइटा मात्रै बाटा छन् । पहिलो, अहिले भएकै वा तिनका उत्तराधिकारी पुस्ताको राजनीतिक नेतृत्वले यो दलाली र लुटतन्त्रको चंगुलबाट बाहिर आउने अविचलित इच्छाशक्ति देखाउन सक्नुपर्‍यो । र, पूर्ण इमानदारीकासाथ अहिलेको संवैधानिक पद्धतिलाई परिणामदायी ढंगले क्रियाशील बनाउन सम्पूर्ण ऊर्जा लगाउनुपर्‍यो । त्यसले क्रमिक सुधार गर्छ । बाँकी प्रश्न हो, राजनीतिक दलहरूको अहिलेको पहिलो, दोस्रो वा तेस्रो पुस्तासम्मको नेतृत्व यसरी रूपान्तरणकारी हुने सम्भावना कति छ ? सत्य हो, यो सम्भावना अत्यन्तै शून्य छ । सरकारमा मन्त्री हुनका लागि भइरहेको हानथाप होस् वा अहिले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, त्यसले अब राजनीति त्याग, समर्पण र सेवाको होइन, रातारात धनी हुने निजी स्वार्थपूर्तिको माध्यम मात्र बनेको प्रस्ट हुन्छ ।

दोस्रो बाटो क्रान्तिको हो, लोकतान्त्रिक क्रान्तिको । राजनीतिक रूपान्तरणका लागि हुने वास्तविक क्रान्तिका केही विशिष्ट चरित्र हुन्छन् । पहिलो, त्यस्तो क्रान्ति त्यो पुस्ताले मात्र गर्छ जसले यस्तो रूपान्तरणपछि मुलुकको उन्नति सुनिश्चित हुने सपना देख्छ र त्यसभित्र आफ्ना सन्ततिको समेत भविष्य देखेको हुन्छ । र, त्यो ऊर्जावान् युवा पुस्ता आफ्नो भूमिकाप्रति सचेत हुन्छ र मुलुकका लागि सहिद हुन मानसिक रूपले तत्पर रहन्छ ।

नेपालको हकमा यस्तो क्रान्तिका लागि समर्पित पुस्ताको उपस्थिति अत्यन्त पातलो हुँदै गएको छ ।पहिलो, देशले ठूलो लगानी गरेको र राम्रो शिक्षा पाएको भनिएको जुन वर्ग छ, त्यो करिब वार्षिक सत्तरी–असी हजारको संख्यामा विदेशमा शिक्षा लिने नाममा नफर्कने गरी पलायन भइरहेको छ । यो पंक्तिलाई मुलुकको रूपान्तरणका लागि दुःख र त्याग गर्ने चासो, चेत र इच्छा केही छैन । दोस्रो, श्रम बेच्न खाडी र दक्षिणपूर्वी एसियामा जाने वर्ग छ । त्यसलाई मुलुक छोड्ने आतुरी छ । यो अभ्यास अब आर्थिक बाध्यता कम र सामाजिक रोग बढी भइसकेको छ ।तेस्रो ‘बेखुस पुस्ता’ यहाँ बाँकी छ- अमेरिकाको डीभी चिट्ठा हालेर थाकेको र राम्रो कमाइ गर्ने योग्यता हासिल गर्ने शिक्षा नपाएको । अमेरिकी लेखक जेरेमी एडम्सले आफ्नो पुस्तक ‘होलोड आउट’मा कम शिक्षित, दुःखी, मूल्यमान्यताशून्य र सामाजिक सञ्जालमा लिप्त भएर अन्ततिर आंशिकमात्र ध्यान दिने अहिलेको युवा पुस्तालाई ‘अनह्याप्पी जेनेरेसन’भनेका छन् । यो समूहलाई पनि क्रान्तिमा विश्वास छैन । अथवा, कार्ल मर्क्सले भनेझैं यो लम्फु सर्वहारावादी(लम्पेन प्रोलेटारियट) वर्ग हो जुन गुलामी गरेर जीविकोपार्जन गर्न लाज मान्दैन तर क्रान्ति गर्ने हिम्मत राख्दैन ।

जतिपटक क्रान्ति भएपनि केही फरक नपर्ने रहेछ भन्ने निराशाका स्वरहरू पनि अक्सर सुनिन्छन् । यहाँ के प्रस्ट हुनु जरुरी छ भने, २००७ र २०४६ सालका दुवै क्रान्ति लोकतन्त्रका लागि नै भएका त थिए तर ती शक्ति बाँडफाँटको सम्झौतामा टुंगिएका थिएÙ वारकिपार भएका थिएनन् । २०६३सालको आन्दोलन लोकतन्त्रकेन्द्रित क्रान्ति थिएन । माओवादी हत्याहिंसाको शृंखलालाई लोकतान्त्रिक राजनीतिमा अवतरण गराउने मुख्य उद्देश्य थियो । यसरी हेर्दा, नेपालमा लोकतान्त्रिक रूपान्तरणका लगि सम्पूर्ण क्रान्ति भएकै छैन भन्नु अत्युक्ति हुँदैन । वास्तवमा यस्तो रूपान्तरण वा क्रान्तिका लागि समर्पित र दूरदर्शी नेतृत्वको प्रस्ट अभाव अझै खड्केको छ ।

जनता सधैं जागरुक हुँदा मात्र आर्थिक–सामाजिक रूपान्तरणको अवस्थालाई परख गर्न सक्छन् । भर्खरै अल्जेरियाका पूर्वराष्ट्रपति अब्देलअजिज बुटाफ्लेकाको निधन भयो । स्वतन्त्रता सेनानीको आकर्षक छवि हुँदै सन् १९९९ मा राष्ट्रपति बनेका कुनै बेलाका राष्ट्रिय ‘हिरो’ उनलाई सन् २०१९ मा जनताले नै विद्रोहद्वारा हटाए । तर नेपाली जनताले उही नेतालाई उसको कार्यशैली हेरेर दण्डित गर्ने अभ्यास गरेका छैनन् । शक्तिशाली होउन्जेल पूजा गरिरहने र आम जमातले प्रश्न नगर्ने संस्कार पनि लोकतान्त्रिक अग्रगमनका लागि घातक भएको छ । देउवा, ओली, पुष्पकमल दाहाल वा माधव नेपालले आदि यही कारणले एकपटक नेता भएपछि जिन्दगीभर नेता भएर बस्न पाएका हुन् ।

यी सबै परिदृश्यले नेपालमा अर्को सार्थक लोकतान्त्रिक क्रान्तिको सम्भावना धेरै नजिक देखाउँदैन । त्यसैले सत्तामा बसेर ‘क्लेफ्टोत्रेसी’ चलाउनेहरूमा कुनै पनि प्रकारले, कानुन वा मतदाताबाट, दण्डित हुनुपर्ने भय शून्यमा झरेको छ । तथापि, क्रान्तिकै धक्काबिना यो मनोमानीतन्त्र जनमुखी लोकतन्त्रमा रूपान्तरण हुने सम्भावना कतै छैन । प्रश्न र प्रतिरोध नगर्ने अनि एकथान लाइसेन्सका लागि पचास हजार रुपैयाँ तिर्न तयार हुने मानसिकताले गुनासो गर्ने अधिकार पनि सायद राख्दैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार