काठमाडौंः सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो २ महीनामा करीब साढे रू. ४४ करोडको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा रू. ४४ करोड २ लाखको १४२ ओटा जीप, कार र भ्यान आयात भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार बढाएर ४० देखि ८० प्रतिशतसम्म पुर्याएका थिए । भन्सार वृद्धिसँगै अघिल्लो वर्षको जेठदेखि भदौसम्म आयात ठप्पै देखिएको थियो ।
अघिल्लो आव २०७७/७८ को १२ महीनाको अवधिमा जम्मा २४९ ओटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए । उक्त अवधिमा नेपालमा रू. ६५ करोड ७८ लाखको विद्युतीय जीप, भ्यान र कार आयात भएको थियो । आव २०६६/६७ मा विद्युतीय गाडीको आयात संख्या ६ सयभन्दा बढी थियो ।
सरकारले आर्थिक अध्यादेश २०७८/७९ मार्फत विद्युतीय गाडीमा अन्तःशुल्क पूर्ण रूपमा हटाउनुका साथै भन्सार पनि घटाएको थियो । सरकारले विद्युतीय गाडी आयातमा सहजीकरण गरेपछि व्यवसायीमा उत्साह थपिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।आर्थिक अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया