असार २६, २०८२ बिहिबार July 10, 2025

बिपी, राजसंस्था र अहिलेको गणतन्त्र – डा. प्रकाशचन्द्र लोहनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था र प्रजातन्त्र नेपालको अस्तित्वसँग जोडिएका छन् भन्ने अभिव्यक्ति दिएपछि यो विषय नेपालको राजनीतिमा अहिले चर्चित भएको छ । मलाई सम्झना छ, ०३४/३५ सालतिर यसबारे बिपी कोइरालासँग उहाँ बसेको मित्रपार्कको घरमा केहीपटक मेरो कुराकानी भएको थियो । त्यसबखत नेपालको विकासको सन्दर्भमा बिपी ‘स्मल इज ब्युटीफुल’ भन्ने किताबबाट प्रभावित हुनुहुन्थ्यो र राजासँग मिलेर जाने उहाँको राजनीतिक लाइन थियो ।

एकपटक मैले सोधेँ– राजाले तपाईंलाई सधैँ दुःख दिए । तैपनि, तपाईं किन फेरि उनैसित मिल्ने कुरा गर्नुहुन्छ । यस प्रश्नको जवाफमा मलाई आश्चर्य केमा थियो भने बिपीमा राजाप्रति कुनै आक्रोश या तीतोपना पटक्कै थिएन । उहाँले हाँसेर जवाफ दिनुभयो र उहाँको जवाफ सरल र मर्यादित थियो । उहाँले भन्नुभयो-राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय चरित्र भएको संस्था चाहिन्छ ।

नेपालमा राजतन्त्रको राष्ट्रिय चरित्र छ, तर यसको उपयोग त्यतिवेला मात्र गर्न सकिन्छ, जब यो पूर्ण संवैधानिक परिधिभित्र बस्न तयार हुन्छ । राजसंस्थालाई संवैधानिक परिधिभित्र राख्न सके प्रजातन्त्र, राष्ट्रिय एकता र विकासले नयाँ गति लिन्छ भन्ने उहाँको धारणा थियो । संवैधानिक राजसंस्था यसको राष्ट्रिय चरित्रका कारणले आवश्यक छ भन्ने उहाँको दृढ विश्वास थियो । बिपीले यो विचार आफ्ना विभिन्न लेखमा पनि मार्मिक ढंगले राख्नुभएको छ, जुन आजपर्यन्त पुस्तकहरूमा सजिलै पाइन्छन् ।

जनआन्दोलन १ र २ : ०४६ सालको जनआन्दोलन एक किसिमले प्रजातन्त्र, राष्ट्रियता र विकासमा राजसंस्थाको ठाउँबारे बिपी विचारको व्यावहारिक अभिव्यक्ति थियो । ०४८ सालको संविधानले राजसंस्थाको राष्ट्रिय चरित्रलाई प्रजातन्त्र र विकासको पूरकका रूपमा राख्न खोजेको थियो । अन्ततोगत्वा यो मोडेल बेलायत र जापानको राजसंस्थाको दिशामा लक्षित थियो । तर, यो सम्भावनाको वास्तविक प्रयोग हुनै पाएन । कांग्रेसले थोरै समयमा आफू अलोकप्रिय हुने थुप्रै काम ग¥यो । उसले राजसंस्था, प्रजातन्त्र र आर्थिक विकासलाई एउटा शृंखलाका रूपमा हेर्नुको साटो प्रजातन्त्रसँग भ्रष्टाचारलाई नजिक बनाउँदै लग्यो । परिणामतः जनतामा असन्तोष चुलिँदै गयो र यही असन्तोषलाई समातेर माओवादीले विद्रोह सुरु ग¥यो ।

दलहरूकै कारण नेपालको परिवेशमा गणतन्त्र राष्ट्रिय चरित्रको संस्था या शासन व्यवस्था हुन नसक्ने स्पष्ट हुँदै गएको छ ।

दोस्रो जनआन्दोलनका नेताहरूले जनआन्दोलनको शृंखला अर्थात् राजसंस्था, प्रजातन्त्र र आर्थिक विकासबीचको अन्तरसम्बन्धलाई अस्वीकार गरे । यसबारे जनताको राय बुझ्ने काम पनि भएन । यसलाई कांग्रसले पनि समर्थन ग¥यो । यस अर्थमा उसले बिपीको विश्लेषण समयसापेक्ष नभएको भनी ‘घोषणा’ गर्‍यो । यसै परिवेशमा राष्ट्रपति हुने लोभमा गिरिजाप्रसाद कोइरालाले माओवादीलाई साथ दिनुभयो, यद्यपि उहाँले पनि धोका पनि पाउनुभयो ।

जनआन्दोलन–२ पछि राजसंस्था प्रजातन्त्र र विकासको सट्टा अब गणतन्त्र, प्रजातन्त्र र विकासको नयाँ चिन्तन देखा प¥यो । यस अर्थमा ०४६ को आन्दोलनपछि राजसंस्थाको राष्ट्रिय चरित्र हुन्छ भन्ने चिन्तनलाई त्यस बखत विदेशबाट सञ्चालित राजनीतिक तथा वैचारिक हावाहुरीमा जनताको अभिमतविनै गणतन्त्र र विकासको नयाँ सपना बाँडियो ।

गणतन्त्रकालका १४ वर्षमा देशमा राजनीतिक अस्थिरता, आर्थिक अराजकता र लुटतन्त्रले सीमा नाघेको छ । सबैजसो दलका सबैजसो नेताले देशको अस्तित्व नै संकटमा परेको भनी भाषण गर्न थालेका छन् । यसको स्पष्ट उद्घोष माओवादी विद्रोहका सैद्धान्तिक गुरु मोहन वैद्य किरणले गर्नुभएको छ । हुन पनि नेपाल देशमा आक्रोश, अस्थिरता र एकअर्काप्रति आशंकाको वातावरण बढ्दै गएको छ । झन्डै दश वर्षपछि एक थान संविधान तयार गरे पनि व्यवहारमा त्यो असफल हुँदै गएको छ । यसैबीच देश विदेशीका लागि एउटा नयाँ क्रिडास्थल बन्न लागेको स्पष्ट देखा परेको छ ।

आजको विश्वको उदाउँदो महाशक्ति चीन र रैथाने महाशक्ति अमेरिकाबीच बढ्दो तानवको परिवेशमा नेपालको परराष्ट्र नीति समुद्री आँधीमा दिशा हराएको जहाजजस्तो हुन थालेको छ । यस्तो अवस्थामा पनि जहाज कसरी बचाउनेभन्दा पनि जहाजभित्र भागबन्डा मिलाउनमा दलहरू व्यस्त देखिन्छन् । गणतन्त्र, राष्ट्रियता, प्रजातन्त्र र विकासको शृंखला अब टुटेर जाने चिह्नहरू स्पष्ट देखा पर्न थालेका छन् । दलीय नेतृत्वकै कारण नेपालको परिवेशमा गणतन्त्र राष्ट्रिय चरित्रको संस्था हुन नसक्ने प्रत्येक दिन स्पष्ट हुँदै गएको छ ।

आज देशमा देखिएको राष्ट्रिय अस्तित्वको संकट निवारणका लागि देशका पुराना र नयाँ सबै शक्तिहरूको एकसाथ संयोजन र उपयोग आवश्यक छ ।

अतः संविधानअन्तर्गत रहने राजसंस्थालाई स्थान दिनुपर्छ भन्ने विचार आमनेपालीको मनमा आइरहेको अनुभूत हुन्छ । राजसंस्था संसारबाट प्रायः हटिसकेको छ, यो यथार्थ हो । तर, जहाँ यसको राष्ट्रिय चरित्रलाई जनताको नियन्त्रणमा प्रयोग गरिएको छ, त्यहाँ त्यसले राष्ट्रियतालाई भावनात्मक रूपमा बलियो बनाउन मद्दत गरेको छ । जापान, बेलायत, स्पेनलगायत अन्य कतिपय युरोपेली राष्ट्रहरू यसका उदाहरण हुन् ।

यहाँसम्म कि क्यानडा र अस्ट्रेलियाजस्ता देशले समेत राजसंस्थालाई आफ्नो पहिचान बनाएका छन् । अर्थात्, इतिहासमा राजसंस्थालाई प्रजातान्त्रिक संविधान र संरचनाभित्र प्रयोग गरे विविधताबीच एकताको अवधारणालाई बचाउन सहयोग हुन सक्ने र जनतामा भावनात्मक एकता बलियो हुने तर्कको आफ्नै औचित्य छ र विकासको शिखरमा पुगेका देशमा त्यो प्रमाणित पनि भएको छ । ठीक यही खालको तर्क बिपीले आफ्नो मेलमिलापको नीतिमा पेस गर्नुभएको थियो । आज उहाँको दृष्टिकोणको सार्थकताबारे एकपटक फेरि सम्पूर्ण नेपाली सोच्न बाध्य भएका छन् । विडम्बना के छ भने यसबारे सोच्ने र आफ्नो धारणा सार्वजनिक गर्ने दल भने एक्लो राप्रपा मात्र रहेको छ । बिपीको आफ्नै दलले उहाँको विश्लेषणलाई भागबन्डा र लुटतन्त्रको दलदलमा बिर्सिसकेको छ ।

फेरि विचार गरौँ : राप्रपाको दृष्टिकोणले बिपीको चिन्तनलाई एकपल्ट ब्युँताइदिएको छ । यो स्वाभाविक छ किनभने बिपी एउटा पार्टी विशेषका मात्र नेता नभई सिंगो देशकै राजनेता हुनुहुन्थ्यो । हामी हाम्रो पार्टी सत्ता स्वार्थमा मात्र सीमित भएको देख्न चाहन्नौँ । हाम्रो विचारमा आज देशमा देखिएको राष्ट्रिय अस्तित्वको संकट निवारणका लागि देशका पुराना र नयाँ सबै शक्तिहरूको एकसाथ संयोजन र उपयोग आवश्यक छ । तर, यतिवेला हामी भएको पुरानो संरचना पनि प्रयोग गर्न नसक्ने र राजनीतिक घामपानी सामना गर्ने नयाँ घर पनि बनाउन नसक्ने अराजक र खतरनाक अवस्थामा पुगेका छौँ ।

यस्तै वेला देशको अस्तित्व संकटमा पर्छ । यो यथार्थलाई बिर्सेर हामी हाम्रो सत्ता जोगाउन आन्तरिक शक्ति सञ्चय र राष्ट्रिय शक्तिहरूबीचको संयोजनलाई उपेक्षा गरेर विदेशीको आशीर्वादका लागि दौडिरहेका छौँ । यो निरीहताबाट मुक्ति पाउनु अबको मूल चुनौती हो । यसका लागि संसद्अन्तर्गत रहने राजसंस्थाको ऐतिहासिक र भावनात्मक पृष्ठभूमि राष्ट्रिय र सांस्कृतिक एकताका लागि उपयोग गर्नु जरुरी भइसकेको छ । राप्रपाले यसलाई राष्ट्रिय एजेन्डाका रूपमा लिएको छ । ढिलोचाँडो कांग्रेसले पनि बिपीको चिन्तन बुझ्ने हो भने यही निर्णयमा आउनुपर्नेछ ।

मैले माथि प्रस्तुत गरेको चिन्तनलाई निश्चय पनि वामपन्थी-माओवादी, समाजवादी भन्ने मित्रहरूले निश्चय नै यो परम्परागत संस्थाबारे यत्रो चासो किन भनी प्रश्न गर्नुहुनेछ । तर, यथार्थलाई हेरौँ । वास्तविक अग्रगमन पुराना र नयाँ चिन्तनबीचको संयोजन हो । एक समय माओवादीको उद्गमस्थल चीनमा माओका लालसेनाहरू कन्फ्युसिसको दर्शन र सालिक भत्काउन व्यस्त थिए । आज त्यही चीनका नेताहरू संसारभर कन्फ्युसियस केन्द्रहरू खोल्न र कन्फ्युसियसको सामञ्जस्य र सन्तुलनकारी दर्शनका प्रवर्तकका रूपमा आफूलाई पेस गर्नुलाई चीनको गौरव ठान्छन् र आफ्नो देश बजार अर्थतन्त्र भएको भन्दै गौरव पनि गर्छन् । यो यथार्थलाई नेपालका अग्रगामीहरू के पश्चगमन भन्न तयार छन् ? रुसको कथा पनि यस्तै छ ।

रुसमा स्टालिनले हत्या गरेर गाडेका ठाउँबाट पनि रुसी सम्राट्हरूको हाडखोर ल्याएर फेरि राष्ट्रिय विभूतिका रूपमा सम्मानसहित ७० वर्षपछि सद्गत गरियो । सायद यस्तै यथार्थपरक दृष्टिकोणले माओवादीका वैचारिक गुरु मोहन वैद्य किरण र आफ्नो विचारमा सदा दृढ नेताका रूपमा रहनुभएका नारायणमान बिजुक्छेले कुनै किसिमले राजसंस्थाको उपयोग नेपालको अखण्डता कायम गर्न आवश्यक भएको तर्क राख्नुभएको हुनुपर्छ । हाम्रो देशमा पनि अरू नेताले अब पुरानो जडता छोडेर देशको रक्षा गर्ने परिवेशमा नयाँ लचकता अपनाउन गाह्रो मान्नु हुँदैन ।

अर्थात् परम्परागत चिन्तन या संस्थालाई समय सापेक्षित ढंगले व्यवस्था गरी राष्ट्रिय र सांस्कृतिक एकताका लागि उपयोग गर्नु व्यावहारिक कमजोरी नभएर राष्ट्र निर्माणका क्रममा बुद्धिमानी र अग्रगमन ठहरिन्छ । यस परिवेशमा संविधानको परिधिभित्र रहने सुनिश्चित गरी राजसंस्थाको राष्ट्रिय चरित्रलाई कायम राख्नु देशभक्ति हुन आउँछ । अतः हामीबीच संविधानभित्र राजसंस्थासहितको प्रजातन्त्रका लागि सार्थक संवाद गर्नु नेपालको अस्तित्व र राष्ट्रियताको जगेर्ना गर्न जरुरी भइसकेको छ । यस परिवेशमा पूर्वराजा ज्ञानेन्द्रको उद्घोष नेपाल र नेपालीको राष्ट्रिय स्वार्थअनुकूल र स्वागतयोग्य छ । नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार