काठमाण्डौंः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ।
शुक्रबार प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए।
उनले प्रदेशसभामा प्रस्ताव पेश गर्दै संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास रहेको भन्ने प्रष्ट पार्न प्रदेश सभाको नियमावली २०७४ नियम १२८ (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेको जानकारी गराएका थिए।
त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले पेश गरेको प्रस्तावमाथि छलफल तथा मतविभाजनद्वारा प्रस्तावबारे निर्णयका लागि आइतबारलाई तोकेका थिए। य
प्रदेश सभामा ४१ सदस्य रहेको एमालेका मुख्यमन्त्री आचार्यले गत असोज २५ गते संवैधानिक प्रावधानअनुसार विश्वासको मतका लागि प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए।
एमाले विभाजन भएसँगै प्रदेश सभामा बहुमत गुमाएका उनलाई विश्वासको मत लिनुपर्ने चुनौती रहँदै आएको थियो।
प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने हुँदा विपक्षी गठबन्धन मत पुर्याएर सरकार गठन गर्ने तयारीमा रहेको छ।
गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० प्रदेशसभा सदस्य देखिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया