असोज ११, २०८३ आइतबार September 27, 2026

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो पर्वको रौनक ओलाङचुगोलामा मात्र देखिन्छ ।

वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको यो मौलिक सांस्कृतिक पर्व परापूर्वकालदेखि नै धुमधामसँग मनाउने गरिएकामा कोरोना सङ्क्रमणका कारण अघिल्लो वर्ष औपचारिकतामै सीमित भएको त्यहाँका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले बताउनुभयो ।दश दिनसम्म मनाइने यस मौलिक पर्वमा पाहुनाहरुका साथै भारतको दार्जिलिङबाट प्रमुख लामा आउनुभएको छ ।

यस पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले बौद्ध धर्मसंस्कारअनुसार पूजा पाठ गर्ने स्थानीय याङ्मानुर्पु शेर्पाले बताउनुभयो । पर्वको अवधिभर हरेक दिनको मध्यरात लामाले पूजा पाठ गर्नाका साथै देव नृत्यसमेत देखाउने गर्दछन् । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्दा त्यहाँबाट निस्केको घ्यू र तेलको धुवाँले गुम्बाको धुरी नाघेमा शुभ हुने धार्मिक विश्वास गरिन्छ ।

फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पूजा समापन गरिन्छ । स्थानीयवासीका अनुसार पर्वमा सहभागी लामाहरुले देवता र राक्षसको मुखुन्डो लगाएर दुबै पक्ष बीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ । पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बसेका छन् । ओलाङचुङगोलामा साढे चार सय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।

गत वर्ष कोरोना महामारीको समयमा पनि यो पर्व मनाइएकामा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यो वर्ष फुटुकमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाका रुपमा सहभागी भएको स्थानीयवासी बताउँछन् ।

यस पर्वको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको यो पर्वको जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले बताउनुभयो ।समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङचुङगोलामा एकमात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । यहाँ हाल वालुङहरु ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मिटर) मा ११ परिवार बसोबास गर्दै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
२०८३ असोज ११, आइतबार
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
२०८३ असोज ११, आइतबार
गणेश भगवानको दर्शन गर्दै, हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
२०८३ असोज ११, आइतबार
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
२०८३ असोज ११, आइतबार
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक
२०८३ असोज ११, आइतबार
विश्वमञ्चमा बालेनको सम्बोधन
२०८३ असोज ११, आइतबार
कांग्रेसको १५औँ महाधिवेशन : गगन थापाद्वारा १५ व्यवस्थापन समिति गठन, इतर समूहको छुट्टै तयारी
२०८३ असोज ११, आइतबार