बैसाख २२, २०८३ मंगलबार May 5, 2026

‘गुट नभएका कारण उम्मेदवारीमा दाबी नभएको हो’ – पृथ्वीसुब्बा गुरुङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१० औं महाधिवेशनमा नेतृत्व छनोट प्रक्रिया कसरी अघि बढ्छ ?

आठौं महाधिवेशनदेखि नै हाउसबाट प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्ने प्रक्रियामा गइसक्यौं । त्यसअघि कम्युनिस्ट पार्टीमा अध्यक्ष मण्डल बन्थ्यो । त्यसले आयोजक कमिटीसँग परामर्श गरेर सूची प्रस्तुत गर्थ्यो, त्यसमै ताली बजाइन्थ्यो । सामान्यतया हामी प्रतिस्पर्धामा जाने हो । जनताको बहुदलीय जनवाद (जबज) ले पनि नेतृत्वको विषयलाई खोपाको भीमसेन बनाउनु हुँदैन भन्छ । नेतृत्वलाई आमजनता र कार्यकर्ताको सरोकार र चासोको विषय बनाउनुपर्छ । पार्टी चलाउने नेता–कार्यकर्ता र सदस्यबाट निर्वाचित वा अनुमोदित हुनुपर्छ । राज्य चलाउने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर जनताबाट अनुमोदित वा निर्वाचित हुनुपर्छ । नेतृत्व चयनको विषयमा मूल सिद्धान्त हो यो ।

महाधिवेशन प्रतिनिधि छनोटमा तँछाडमछाड र गुटबन्दी नगरौं भनेका थियौं । गुटका आधारमा चुनाव हुनु गलत रहेछ । पार्टीभित्र प्रतिस्पर्धा व्यक्तिगत रूपमा गर्ने हो । गुटबन्दीका आधारमा नेता छान्दा जनवादी केन्द्रीयताको सिद्धान्त पनि रहेन । व्यक्ति गुटको अधीनस्थ बन्यो । अब गुटका आधारमा चुनाव लड्ने दिन गयो । व्यक्तिगत क्षमताका आधारमा चुनाव लड्ने हो । अहिले प्रतिस्पर्धामा खासै जोड दिएका छैनौं । अहिलेको दक्षिणपन्थी गठबन्धनले चुनौती सिर्जना गरेको छ, त्यसको प्रतिवाद गरेर सही राजनीतिक दिशा स्थापित गर्न र देशमा राजनीतिक स्थायित्वका लागि जे गर्दा सहमति र एकता हुन्छ, त्यसतर्फ जानुपर्छ । पछिल्लो समयमा भएका सबै निर्णय सर्वसम्मत गरेका छौं । महाधिवेशनमा पनि सर्वसम्मत हुनुपर्छ भनेर लागेका छौं ।

सर्वसम्मत नेतृत्व कति सम्भव देख्नुहुन्छ ?

एमालेभित्र अहिलेदेखि अध्यक्ष ओलीसँग नजिक रहेर काम गरिरहेका, १० बुँदे सहमति गरेर एमालेमै रहेका, मा‌‌ओवादी केन्द्रसँग एकता प्रक्रियाबाट आएका, अन्य राजनीतिक दलबाट पनि आएका, संस्थापनसँग काम गरेका नेता छन् । यस्तो हिसाबले महाधिवेशनबाट निर्वाचन हुनुपर्ने पाँच थरीका नेता छन् । पाँच थरीलाई व्यवस्थापन गर्नु ठट्टाको विषयमा होइन । यी सबैको प्रतिनिधित्व हुने गरी नेतृत्व छनोट गर्न प्रयास भइरहेको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिइसक्नुभयो नि ?

हामी सर्वसम्मतको प्रयास गर्छौं । जुन जुन पदमा थिए, सबै यथावत् राखेर बाँकी सिटमा को–को ल्याउने भन्ने भयो भने अध्यक्षमा लडिराख्नुपर्ने स्थिति नहुन सक्छ । तर त्यस्तो भएन भने पनि १५ वटा पदमा सबै भावना र सबै पक्षको प्रतिनिधित्व गराउने हो । सबै हिसाब गर्दा कुनै–कुनै मानिस नपर्न सक्छन् । अध्यक्षसँग नजिक रहेर काम गरिरहेको म वा मजस्तै अरू नेता नपर्न सक्छन् । १० बुँदे वा पूर्वमाओवादीबाट आएका साथीहरू नपर्न सक्छन् । त्यसमा चित्त नबुझ्नेहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । उनीहरूलाई प्रतिबन्ध लगाउन मिल्दैन ।

पदाधिकारीको संख्या बढाएर व्यवस्थापन हुन सक्छ कि सक्दैन ?

यस विषयमा अध्यक्षले मुख खोल्नुभएको छैन । हामी सबैको मुखचाहिँ कोक्याएकै छ । त्यस्तो गर्न पाए हुन्थ्यो भनेर बोली नै रहेका छौं । अध्यक्षले मानिदिए अलि सजिलो हुन्थ्यो । तर धेरै ठूलो कमिटी बनाउँदा नेतृत्व सफल हुने रहेनछ । नेतृत्व जतिमाथि गयो त्यति सानो बनाउँदा राम्रो हुन्छ भनेर उहाँ (ओली) ले नौ सदस्यीय पदाधिकारी बनाउन खोज्नुभएको थियो । हाम्रै जोडबलले १५ मा पुर्‍याएका हौं । १५ बाट १९ पनि पुग्न सक्छ । तर संख्या थप्दा सन्दर्भिक र औचित्यपूर्ण हुनुपर्छ । अहिले भनेको भएका सबैलाई कायम राख्ने र नयाँ केहीलाई हाल्ने भन्ने हो । तर यो वैज्ञानिक र चुस्तदुरुस्त विकल्पचाहिँ होइन ।

महाधिवेशन आउन ४ दिन बाँकी हुँदा व्यक्तिगत दाबी देखिँदैन नि ?

गुट नभएका कारण उम्मेदवारीमा दाबी नभएको हो । गुट भएको भए म अहिले उम्मेदवारी घोषणा गरिसक्थें । मेरो गुटका नेता केपी हुन्थे । काम गर्दै जाँदा गुट फेरि जन्मिन सक्छ तर आजका दिनमा प्रत्यक्ष गुट छैन । त्यही भएर जसले घोषणा गर्छ, त्यसले एक्लैले घोषणा गर्ने हो । भोलि के हुन्छ भनेर डराएर पनि कसैले भन्न सकेका छैनन् । अध्यक्षले कसरी मिलाउनु होला भनेर सबै जना अध्यक्षको मुख ताकेर बसेका छन् । जर्नेलहरू धेरै भए भने आ–आफ्नो कमान्ड सम्हाल्छन्, एउटै जर्नेल भयो भने उसको कमान्ड पर्खेर बस्नुपर्छ । हाम्रो परिस्थिति पनि त्यही हो ।

तपाईंको दाबीचाहिँ कुन पदमा हो ?

गुटलाई निषेध गर्नुपर्छ भनेर सुरुमा कुरा उठाउने मै हुँ । त्यसकारण गुटका आधारमा घोषणा गर्ने कुरा आएन । केपी शर्मा ओलीले मुख खोल्नुभएको छैन । सचिव भएर काम गरिरहेको छु । महासचिव भएर काम गर्न सक्छु । अध्यक्षलाई तपाईंले मुख नफोरे पनि ज–जसलाई प्रक्षेपण वा कल्पना गरिराख्नुभएको छ, उहाँहरूभन्दा म कम छैन भनेको छु । त्यो मेरो मात्रै दाबा हो । महासचिवभन्दा तल्लो पदमा उठ्दिनँ भनिदिएको छु । कि उपाध्यक्षमा भन्ने हो । नत्र केन्द्रीय सदस्यमा लड्छु ।

भनेअनुसार पद पाउनु भएन भने तपाईं प्रतिस्पर्धामा जानुहुन्छ ?

जान पनि सक्छु, नजान पनि सक्छु । तत्कालीन परिस्थितिले निर्धारण गर्छ ।

पदाधिकारीका आकांक्षी सबैलाई मिलाउन सहज त देखिँदैन नि ?

अध्यक्षलाई सबै मिलाउन गाह्रो छ । सुवास नेम्वाङ हुनुहुन्छ, उहाँ सभामुख र संविधानसभा अध्यक्ष भएर काम गरेको अनुभवी नेता हुनुभयो । विचार र संगठनका क्षेत्रमा धेरै योगदान नभए पनि उहाँ राष्ट्रिय व्यक्तित्व हो । उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने छ, उहाँ सचिव वा महासचिव भइराख्ने व्यक्ति होइन । उहाँका लागि उपयुक्त पद नै भएन कि भन्ने भइरहेको छ । पदाधिकारीमा मालेका संस्थापक सदस्य ईश्वर पोखरेल मात्रै हुनुहुन्छ । यो मालेको विरासत बोकेर आएको पार्टी हो । इतिहासको त्यो कालखण्डको सम्मान हुन्छ कि हुँदैन भन्ने पनि छ । आजका लागि वरिष्ठ उपाध्यक्षको योग्यता र क्षमताले के माग गर्छ भन्ने अर्को पक्ष पनि हो । त्यसैले उहाँ नै हो कि अर्को कोही हो भन्ने छ ।

माओवादीबाट बादलजीसहित नेताहरू आउनुभएको छ । बादल ठूलै नेता हुनुहुन्थ्यो । एकताबाट दायाँबायाँ गर्दिनँ भनेर एमालेमै बस्नुभयो । उहाँलाई कहाँ सम्मान गर्ने ? ओलीसँग हिजोदेखि संगठन, राजकीय क्षेत्रमा नजिकै भएर काम गरेका हामी पनि ४–५ जना छौं । अर्को महाधिवेशनबाट उठ्न नपाउने अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले निरन्तर रूपमा कम्युनिस्ट पार्टीमा गरेको योगदानको मूल्यांकन कसरी गर्ने, बिदाइ गर्दा अन्याय हुन्छ कि भन्ने पनि छ ।

सबै प्रवृत्ति, व्यक्ति, क्षमता र योग्यताको पनि सम्मान गर्नुपर्‍यो । पार्टीको नेतृत्व चयन गर्ने भनेको अनुहार मात्रै छान्ने होइन । विधान परिमार्जन बाटो बन्द भएको छैन । तर यति चाँडो परिवर्तन गर्दा केही दिनअघि किन बुद्धि नपुर्‍याएको भन्ने प्रश्न पनि उठ्न सक्छ । नयाँहरूको आकांक्षा छ । अहिले केन्द्रीय कमिटीमा ३० जना महिला हुनुहुन्छ, अब ३३ प्रतिशत अनिवार्य भनेका छौं । त्यो भनेको २ सय २५ जनामा ७५ जना हुनुपर्छ । यो हुँदा ४५ जना महिला थपिनुहुन्छ । यो थपिँदा मौजुदा केन्द्रीय कमिटीका १५–२० जना बाहिरिन्छन् । अब नयाँ मानिस कसरी आउँछन् भन्ने प्रश्न छ ।

पदाधिकारीमा एक तिहाइ महिला आउने सम्भावना छ कि छैन ?

पदाधिकारीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व यस पटक गाह्रो छ । समावेशी हुन्छ, २–३ जना कति पर्नुहुन्छ । ११ औं महाधिवेशनमा त्यो ठाउँमा पुग्छौं । ८ औंमा ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउन महिला राख्ने भन्ने थियो । त्यति बेला ८ प्रतिशत प्रतिनिधित्व थियो । ९ औंमा २० प्रतिशत पुर्‍यायौं । नेतृत्वमा ३३ प्रतिशत राख्नुपर्दा प्रतिनिधित्व र विकास पनि त्यसैअनुरूप हुनुपर्‍यो । सदस्य नबढाउने, नेतृत्व विकास नगर्ने अनि सबै कमिटीमा ३३ प्रतिशत संख्या खोजेर भएन नि π धेरै हतारो गर्नुपर्ने छैन । महिला मात्रै होइन, पुरुष पनि लुडोमा जस्तै गरी हठात् माथिल्लो पदमा आइपुग्दा राम्रो नेताका रूपमा टिक्न धेरै गाह्रो छ । -कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार