श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोइराला पक्षमा मतभेदको खाडल गहिरिँदैः पुनः सभापति बन्दै देउवा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पुराना नेताहरूले आफूहरुलाई अनुमोदन गराउने सिलसिलामा नेकपा एमालेने बहुप्रतिक्षीत अधिवेशन सम्पन्न गरिसकेको भने सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वलाई अनुमोदन गराउने अन्तिम तयारीमा जुटनभएको छ।

जनताबीच अलोकप्रिय र पार्टीभित्र बालोचकहरूको सङ्ख्या अधिक भए पनि शेरबहादुर देउवा फेरि पनि सभापतिको बलिया उम्मेदवार मानिनुहुन्छ । कोइराला पक्षका नेताहरूबीच एकता र समझदारी नबनेका कारणले पनि देउवा बलवान बन्नुभएको हो ।

विगतमा कोइराला पक्ष भनेर चिनिएका रामचन्द्र पौडेल अन्तिम एक पटक देउवासँग प्रतिष्पर्धा गर्ने मौका आफूलाई दिनका निम्ति सहयात्रीहरूसँग अनुनय-विनय गर्दै हुनुहुन्छ। डा शशाङ्क कोइराला, डा शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत र अर्जुन नरसिंह कैसी सभापति स्तरका नेता मानिनुहुन्छ र, उहाँहरू सबैले पौडेललाई साथ दिएको अवस्थामा मात्र उहाँले देउवासँग प्रतिष्पर्धा गर्न सक्ने स्थिति हो । तर यसबीचमा प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने डा. शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिन दृढ हुनुहुन्छ । अब डा. शशांक कोईराला, डा. रामशरण महत र अर्जुन नरसिंह केसीले कोईराला पक्षबीच एकता कायम गराउन सक्नुभयो भने त्यसले एउटा बेग्लै परिणाम दिन सक्ला, होइन भने कोइराला क्याम्पबाट वहु उम्मेदवार बन्ने र शेरबहादुर देउवा सजिलैसंग सभापतिमा विजयी हुनुहुनेमा शड्का गरिरहनु पर्ने छैन ।

काङ्ग्रेस महाधिवेशनमा करिव पांच हजार मतदाता हुनेछन् र विजयी बन्न दुई हजार पाँचसयको हाराहारीमा मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि कोइराला पक्षबाट बह उम्मेदवारी पन्यो भने देउवाले पहिलो चरणमा नै पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न असम्भव छैन ।

कोइराला पक्षमा देउवालाई टक्कर दिन सक्ने सर्वाधिक बलिया नेताका रूपमा डा. शेखर कोइरालालाई लिइन्छ । तर ‘जुनियर’ भएकोले उहाँलाई नेता मान्त रामचन्द्र पौडेल, डा. रामशरण महत र प्रकाशमान सिंह तयार हुनुहुन्न । पौडेललाई सभापतिको उम्मेदवार बनाउन डा. शेखर तयार हुनुहुन्न । देउवाविरोधी कुनै अदृष्य शक्तिले आफ्नो सामर्थ्य दर्शायो भने बेग्लै कुरा, त्यसो भएन भने कोइराला पक्षबाट कम्तिमा दुईदेखि बढीमा तीन जनासम्म उम्मेदवार मैदानमा उत्रने सम्भावना छ ।

कोइराला क्याम्पका कुनै एक मात्र उम्मेदवार बनाइएछ भने पनि त्यहाँभित्रका अर्को पक्षले खुलेर या लुकेर शेरबहादुर देउवालाई सहयोग पुऱ्याउने सम्भावना पनि त्यत्तिकै प्रबल छ । देउवाले अलिक ‘उदार प्रयास गर्नुभयो भने डा. रामशरण महत, अर्जुन नरसिंह केसी र रामचन्द्र पौडेलसमेतको समर्थन प्राप्त गर्न सम्भव छ ।

देउवा क्याम्पमा पनि ‘सभापति’ स्तरका नेताहरू नभएको होइन । पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, डा. नारायण खड्का र कृष्णप्रसाद सिटौलालाई सभापति बन्न योग्यता पुगेका नेता मानिन्छन् । विजयकुमार गच्छदार विभिन्न कारणले खुम्चिनु परेकोले उहाँको भूमिका देउवाको सहयोगीका रूपमा सीमित हुन पुगेको छ भने कृष्णप्रसाद सिटौला खुलेर देउवाका पक्षमा देखापर्नुभएको छ । धनुषाका नेता विमलेन्द्र निधि र महोत्तरीका कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

शेरबहादुर देउवा आफ्नो क्याम्पका एकछत्र नेता भए पनि उहाँलाई टीम मिलाउन निकै मुस्किल पर्ने देखिन्छ । डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार कम्तिमा उपसभापतिका दाबेदार हुनुहुन्छ, जबकि उहाँहरूमध्ये दुई जनालाई मात्र उपसभापतिमा समर्थन गर्न पाउने वैधानिक सुविधामा देउवा हुनुहुन्छ । त्यसैगरी महामन्त्रीका दाबेदार नेताहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । डा. मीनेन्द्र रिजाल, एनपी साउद, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, रमेश लेखक र बद्री पाण्डेदेखि गगन थापासम्मले महामन्त्रीमा दाबी गरिरहेका छन् ।

नेपाली राजनीतिमा पछिल्लो डेढ दशकभित्र पश्चिमी प्रभाव निकै बढेर गएको छ र, कुनै बेला भारतसँग निकट मानिएको काङ्ग्रेस पार्टी यतिबेला पूर्णत: पश्चिमी पकडमा गएको छ । सभापति शेरबहादुर देउवालाई पश्चिमाहरूको बलियो साथ रहँदै आएको भए पनि यतिबेला उनीहरू अस्ताउँदो सूर्य छोडेर उदाउँदो सूर्यतिर लागेको सङ्केतहरू देखिएका छन् र, उनीहरूको रोजाइमा डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा परेको बुझिन्छ । डा. शेखरले भारतको समेत सहानुभूति प्राप्त गर्न कोशिस गरिरहनुभएको बुझिन आएको छ ।

भारतले ‘कम्फर्टेबल’ ठानेका डा. शशाङ्क कोइराला सभापतिमा उम्मेदवारी दिन आनाकानी गर्दै हुनुहुन्छ । आफूभन्दा उमेरमा ठूला दाज्यू डा. शेखर कोइराला आफैले उम्मेदवारी दिने इच्छा राखेकोले शशाङ्क खुम्चिनुपर्ने अवस्था आएको हो । देउवा क्याम्पमा सभापतिको उम्मेदवारीलाई लिएर खासै समस्या नभए पनि पदाधिकारी चयनमा ठूलो कठिनाइ पर्ने देखिन्छ भने कोइराला पक्षमा पदाधिकारी चयनमा समस्या नदेखिए पनि सभापतिको उम्मेदवार चयनमा निकै सकस पर्ने अवस्था छ । अहिलेसम्मको स्थिति विश्लेषण गर्दा शेरबहादुरं देउवा सबैभन्दा ठूला प्रतिष्पर्धी डा. शेखर कोइराला बन्ने देखिएको छ ।

पहिलो चरणमा सभापतिको टुंगो नलागेपनि चरणको निर्वाचनबाट सभापतिको टुङ्गो लाग्ने निश्चित छ । शेरबहादुर देउवालाई पश्चिमा शक्तिले छोड्न खोजेको र डा. शेखर कोइरालालाई रोजेको भए पनि कोइराला क्याम्पमा देखापरेका विभाजनको स्थितिबाट शेरबहादुर देउवाले भरपुर लाभ उठाउने सम्भावना छ ।

पश्चिमा शक्तिले दोहोरो भूमिका निर्वाह गरेको भए पनि यसपटक काङ्ग्रेसमा गुण्डागर्दी र ठेकेदार पृष्ठभूमिका व्यक्तिहरू प्रतिनिधिका रूपमा ठूलो सङ्ख्यामा आएको, देउवाले सत्ताको सदुपयोग गर्ने स्थिति रहेको, शिद्धान्त र विचारविहीन प्रतिनिधिहरू सत्ता र नगदबाट ज्यादा प्रभावित हुने अवस्था रहेको र, नगद परिचालनमा समेत देउवा नै अग्रणी रहने भएकोले आगामी महाधिवेशनमा उहाँको विजयको सम्भावना बढेको हो ।

देउवाको लोकप्रियतामा ह्रास आएको भनिएता पनि देशभरका सबै जिल्लाबाट चयन प्रतिनिधिहरूको सङ्ख्या विश्लेषण गर्दा समेत देउवा सबभन्दा बलवान देखिनुभएको छ । तथापि, कोइराला क्याम्पका भनेर चिनिएका सबै नेताहरू एकजुट भएको अवस्थामा भने देउवालाई सभापति बन्न हम्मे-हम्मे पर्ने देखिएको छ । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया