काठमाडौंः सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रिय सभाको ११ औँ अधिवेशनको आजको पहिलो बैठकमा विभिन्न अध्यादेशहरू पेश भएका छन् ।
राष्ट्रिय सभा बैठक सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र पढेर सुनाउनुभयो ।
बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक खिमलाल भट्टराईले देशमा मंहगी बढेको, अर्थतन्त्र खस्किएको, व्यवसाय, विकास निर्माण ठप्प भएको, हिउँदे बालीका लागि मलको अभाव भएको र जनतामा सरकार विहीन अवस्था सृजना भएको जनाउँदै बैठक चल्न नदिने बताउनुभएको थियो ।
प्रतिपक्षी दलको विरोधकाबीच, गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐन पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८‘ राष्ट्रिय सभा समक्ष पेश गर्नुभएको छ ।
यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले ‘रेल्वे अध्यादेश २०७८‘ सभा समक्ष पेश गर्नुभयो ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पनि पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक पुस ५ गते सोमवार दिउसो १ बजे बस्ने छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया