केही समययता नेपालका विभिन्न राजनीतिक दलले महाधिवेशन गराउँदै आएका छन्। यसरी महाधिवेशन गराउनुमा एक त कानुनी कारण छ भने अर्को पार्टीपंक्तिलाई थप सुदृढीकरण गराउनु रहेको छ। तर, धेरै जसो दलहरूले संवैधानिक पाबन्दीका कारण नै महाधिवेशन गर्ने गरेका छन्। कुनै पनि पार्टीले हरेक पाँच वर्षमा आफ्नो दलको महाधिवेशन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही बमोजिम दलहरूले पाँच वर्षमा महाधिवेशन गराउनु अनिवार्य नै हुन जान्छ। त्यसैकारण पनि सजिलो वा अप्ठ्यारो जस्तोसुकै परिस्थिति भए पनि महाधिवेशन गराउनै पर्ने अवस्था देखिन्छ। समस्याको सामना गर्दै गाह्रा परिस्थितिलाई झेल्दै वडादेखि केन्द्रसम्मका अधिवेशन महाधिवेशन सम्पन्न भइरहेकै पनि छन्।
नेकपा एमाले, नेपाली कांग्रेस तथा राप्रपा जस्ता दलले आफ्नो महाधिवेशन सम्पन्न गरिसकेका छन्। तल्लो निकायदेखि नै नेकपा माओवादी केन्द्रको अधिवेशन हुँदै आएको छ। माओवादीले अहिले वडा अधिवेशन सकेर प्रदेश अधिवेशनहरू गर्दै आएको छ। अधिवेशनकै क्रममा माओवादी नेताका विभिन्न अभिव्यक्ति सुनिन आएका छन्। जसरी माओवादी नेताहरूका अभिव्यक्तिहरू आइराखेका छन्, तीमध्ये कतिपय अभिव्यक्ति सुन्दा आफ्ना कार्यकर्ता र दलका लागि नभएर अर्को दलका नेताहरूका लागि व्यंग्य, छेडछाड र आलोचनमा समय खर्चिएको देखिन्छ। अपत्यारिला सपनाहरू जनता र कार्यकर्तामाझ व्यक्त गरेको पाइन्छ। माओवादीको विगतको राजनीतिक पृष्ठभूमि निकै भयानक थियो। उनीहरूले त्यसलार्ई क्रान्तिको नाम दिए पनि कतिपय नेपालीका लागि त्यो पृष्ठभूमि अपाच्य थियो। अहिले पनि त्यो पृष्ठभूमिलाई नेपाली जनताले भुलिसकेका छैनन्।
आगामी महाधिवेशनले माओवादीलाई सही दिशातर्फ लैजान सकोस्। माओवादीभित्रका सही र सक्षम बौद्धिक जमात कार्यकर्ताले सही नेतृत्व छानोस्।
अर्थात्, श्रीमान् गुमाएका श्रीमतीहरूको पखालिएको सिउँदो अहिलेसम्म ओभाएका छैनन्। श्रीमान्को मृत्युले रसाएका ती आँसु अहिले पनि सुकेका छैनन्। कतिका छोरा गुमेका छन्, कतिका छोरी गुमेका छन्। कतिका बुबा अनि कतिका आमा गुमेका छन्। कति परिवार एकल हुन पुगेका छन्। कतिका घरबास उठेका छन्। कतिका घरबार लुटिएका छन् अनि कति बेपत्ता पारिएका छन्। कति गाउँ छोड्न बाध्य पारिएका छन्। यी माओवादीका कारण भएका घटनाहरू नेपाली समाजले बिर्सिसकेको छैन। यस्तो अवस्था स्वयं माओवादीका नेताहरूलाई पनि महसुस भइराखेको छ। उनीहरू समाजदेखि डराएका छन्। जनताको डर उनीहरूलाई अहिले पनि छ। राज्य सञ्चालन गर्ने दल र तिनका नेताहरू प्रतिकूल भएर हामीमाथि विगतका राजनीतिक घटनाक्रम र आपराधिक गतिविधिका सम्बन्धमा छानबिन र कारबाही गर्न नसक्ला भन्ने उनीहरूलाई लागेको छैन।
अन्तर्राष्ट्रिय संघसंस्थाले पनि माओवादीबाट सफाइ पाइसकेको अवस्था छैन। निर्धक्क अन्तर्राष्ट्रिय गतिविधिहरूमा सामेल हुन सक्ने अवस्था माओवादीका नेताहरूमा अहिले पनि छैन। यी विविध कारणले पनि होला, माओवादीलाई राजनीतिक गठबन्धन सधैं चाहिएको थियो। आगामी दिनमा पनि चाहिने छ। सबै राजनीतिक दल र तिनका नेताहरूको समन्वय र सद्भाव चाहिएको छ। माओवादीलाई अहिलेको गठबन्धनले मात्र पुग्दैन। आउने चुनावमा पनि माओवादीलाई गठबन्धन चाहिन्छ। त्यो चुनावपछि पनि माओवादीलाई सरकारमा बस्न गठबन्धनको आवश्यक पर्ने देखिन्छ। पछिल्लो समय माओवादी छाडेर जाने नेताहरूको संख्या पनि ह्वात्तै बढेको छ। माओवादी निर्माणमा सामेल भएका नेताहरूलाई हेर्ने हो भने अहिले प्रचण्ड एक्लै छन्। अन्य सबैजसोले पार्टी छोडेर गइरहेका छन्। माओवादीका प्रभावशाली नेताहरूले पनि माओवादी छोड्ने क्रम बढेको छ। लगभग एक्लो जस्तो बनेका प्रचण्डको अग्निपरीक्षा चलिरहेको छ। हेरौं, उनी कति अंक ल्याएर कुन श्रेणीमा पास हुन्छन् ?
माओवादीका नेताहरू किन यत्रतत्र भए ? किन दल छोडे ? किन अन्यत्र प्रवेश गर्न गए ? सहजै अनुमान लगाउन सकिन्छ। उनीहरूले माओवादीमा आफ्नो भविष्य देख्न छोडेका छन्। माओवादीको अस्तित्व रहँदैन भनेर नै उनीहरू लागेको हुनुपर्छ। अर्कोतिर हेर्ने हो भने आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्न, विगतमा आफूमाथि लागेको दाग मेटाउन र सुरक्षित हुन पनि पार्टी परिवर्तन गरेका छन्। कोही एमालेमा प्रवेश गरेका छन् भने कोही समाजवादी लगायत अन्य दलतिर प्रवेश गरेका छन्। कोही निष्कृय भएर बसेका छन् भने कोही यसैमा सक्तिय रहेर गठबन्धनबाट सुरक्षित हुन सकिन्छ भन्ने सोचमा छन्। जे भए पनि माओवादीको अतीत कतिपयका लागि निकै भयानक थियो। त्यो अतीत एक दुई संघीय संसद्का चुनाव हुँदैमा वा एक दुई दसक बित्दैमा नेपाली जनताले माओवादीबाट पीडित व्यक्तिहरूले त्यो पीडा भुलिसकेका हुँदैनन्। पुस्ता कटिसकेको पनि हुँदैन। देशी र विदेशी शक्तिहरूले माओवादीलाई हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको पनि हुँदैन। यो कुरा माओवादीका नेता कार्यकर्ताहरूले राम्रोसँग बुझेका छन्। त्यसैले उनीहरू यो गठबन्धन एक दुई वर्ष रहिदिए हुन्थ्यो भनिरहेका छन्। त्यसरी नै बाँच्न पाए हुन्थ्यो भन्ने सोचमा छन्।
यी तथ्यहरूलाई केलाउँदा र माओवादीको अहिलेको गतिविधि बुझ्दा माओवादीको अधिवेशनको नेपाली समाजमा त्यति अर्थ रहने देखिँदैन। यो माओवादी केन्द्र सुध्रिन र माझिन आवश्यक छ। अब माओवादी नेतृत्वमा विगतको भूमिगत आन्दोलनभन्दा पृथक अवस्था हुन्छ। माओवादी सिद्धान्त र विचारप्रतिको प्रतिवद्धता रहेका व्यक्तिको खाँचो महसुस भएको हुनेछ। अराजनीतिक र आपराधिक क्तियाकलापको दाग नलागेका व्यक्तिबाट माओवादीको नेतृत्व सम्भव हुने र उसले नै अबको माओवादीको बागडोर समात्न आवश्यक रहेको देखिन्छ।
माओवादीजस्तो सशक्त राजनीतिक संगठनको खाँचो मुलुकलाई छ तर ऊ जनप्रिय हुनुपर्छ।
त्यसरी छानिएको व्यक्तिले पार्टीलाई माझ्न पनि सक्छ। पार्टीभित्र सबैको संरक्षण गरेर पार्टीलाई थप मजबुद बनाउँदै लैजान सक्छ। हुन त नयाँ नेतृत्व पाउँदैमा जनताले माओवादीलाई विश्वास गर्न थालिहाल्छन् भन्ने होइन। त्यसका लागि माओवादी पुनः एक पटक जनताको घरआँगनमा जानुपर्छ। एक दशक जनताको साथमा बसेर जनताको सेवा गरेर नबसेसम्म माओवादीप्रति आमनेपाली नागरिकको विश्वास नहुन सक्छ। नेपालप्रति चासो राख्ने नेपाललाई सहयोग गर्ने छिमेकी मुलुक तथा अन्य मुलुकले माओवादीलाई भरोसा गर्न सक्ने अवस्था पनि रहँदैन। त्यसैले माओवादी परिमार्जन हुन आवश्यक छ। यसको नेतृत्व परिवर्तन हुनु आवश्यक छ।
माओवादीलाई माओवादी आन्दोलनपछि एक मात्र नेतृत्वले नेतृत्व गरिरहेको छ। त्यसैले पनि माओवादी परिवर्तन हुन नसकेको हो जस्तो देखिन्छ। हुन त माओवादी पहिलेको भन्दा केही परिवर्तन भएको पनि होला। तर, नेतृत्व परिवर्तन नभई माओवादी परिवर्तन हुन सक्दैन। अब माओवादीमा आपराधिक गतिविधिबाट पृथक तथा कम्युनिष्ट विचारधाराका व्यक्ति नेतृत्वमा आउनुपर्छ। आगामी अधिवेशनले नेतृत्व पुस्तान्तरण गर्ने र त्यसलाई प्रजातान्त्रिक बनाउँदै जाने दिशातिर माओवादी जानु आवश्यक छ। माओवादी जस्तो सशक्त राजनीतिक संगठनको खाँचो मुलुकलाई छ तर ऊ जनप्रिय हुनुपर्छ।
तर, आपराधिक क्तियाकिलाप र गतिविधिमा संलग्न भएका व्यक्ति नेतृत्वमा आए भने त्यसले माओवादीलाई थप क्षति पुर्याउने निश्चित छ। सही विचार र व्यवहार भएका व्यक्ति जसलाई जनताले भरोसा गर्न सक्छन्। अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गर्न सक्छन्। त्यस्ता नेताको नेतृत्वमा माओवादी पार्टी संगठित हुने र समग्र संगठनलाई प्रजातान्त्रिक बनाउनेतर्फ लैजानुपर्छ। व्यवहारमा पनि लोकतान्त्रिक तथा प्रजातान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने र क्रमशः सुधार गर्दै लैजाने काम कारबाही गरे मात्र माओवादीले विश्वास पाउन सक्ने र जिम्मेवार पार्टी हुने सक्ने आकलन गर्न सकिन्छ।
आगामी महाधिवेशनले माओवादीलाई सही दिशातर्फ लैजान सकोस्। माओवादीभित्रका सही र सक्षम बौद्धिक जमात कार्यकर्ताले सही नेतृत्व छानोस्। सही दिशातर्फ माओवादीलाई डोहोर्याउने काम होस्। अन्यथा माओवादी संगठन त हुन्छ तर त्यो नाममा मात्र सीमित हुने देखिन्छ। त्यसले वडादेखि केन्द्रसम्म नै असर गर्ने छ। जनप्रतिनिधि पाउनै नसक्ने अर्थात् जनताको विश्वास नै पाउन नसक्ने पार्टीको रूपमा भनौं। एक सिटसमेत जित्न मुस्किल हुने संगठनमा सीमित भएर रहनुपर्ने हुनसक्छ। राजनीतिमा हारजित हुन्छ। तर, पार्टीलाई सुदृढीकरण गरेर मिहेनत परिश्रम गरेर सुधारको बाटोतर्फ लैजानुपर्छ। त्यो काम माओवादीले यही महाधिवेशनबाट गर्ने छ भन्ने विश्वासका साथ सफलताको शुभकामना ! अन्नपूर्णपोष्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया