हजुरबुवा, हजुरआमालाई कस्तो हुनुहुन्छ भनेर सोध्दा ठिकै छ नानी तर सर्दीगर्मी मिलेको छैन भनेर भन्ने पुस्ता उहाँहरू अन्तिम र सुन्ने पुस्ता हामीहरू अन्तिम हुनेछौं सायद। झट्टा सुन्दा यो विषय खल्लो र अवैज्ञानिक लाग्न सक्छ। किनकि शरीरको मोटामोटी संरचना र शरीर क्रियाको आधारमा संसारका मानिसलाई एउटै कोष्ठमा राख्छौं। रगत, पिसाब आदिको जाँचमा पनि औसत महिलामा यति र पुरुषमा यति हुनुपर्ने भन्ने निश्चित दायरा तोकेका छौं। हुन त संसारभरको चिकित्सा जगत् नै यसैलाई आधार मानेर चल्छ। यसलाई गलत भन्न खोजेको त होइन तर सुस्वास्थ्यको पूर्ण परिभाषा यतिमा मात्र अटाउँदैन। मोटामोटी सबैको एउटै भए पनि प्रत्येक व्यक्तिको फरकफरक शरीर क्रियात्मक क्षमता र शैली हुन्छ। त्यसलाई आयुर्वेद विज्ञानले प्रकृति भनेको छ।
शरीरको ज्ञानको अझ भनौं आफ्नै सुस्वास्थ्यको जिम्मा बाहिरी परीक्षण र उपकरणमा मात्रै सीमित नगर्नु राम्रो हो। शरीर र मानसिक स्वास्थ्यसम्बन्धी सामान्य कुरा बुझ्यौं भने शरीर र मनलाई सम्पूर्णतः स्वस्थ र सन्तुलित राख्न सहजै सक्नेछौं। प्रकृति भनेको शरीरको नितान्त व्यक्तिगत विषय हो। जसरी एक व्यक्तिको डीएनए अर्कोसँग मिल्दैन, औंंठा छाप मिल्दैन, त्यस्तै प्रत्येक व्यक्तिको शरीरको गुण फरकफरक हुन्छ। त्यसैलाई हामी प्रकृति भन्छौं। बच्चा जन्मनुपूर्व नै मातापिताको बीजको (शुक्रकीट र अण्डा) संयोग हुन्छ। त्यसपश्चात् जाइगट भन्दै गर्दा कोषहरूको विभाजन हुन्छ। सोक्रममा जसरी बच्चाको शारीरिक बनावट कस्तो रहने (नाक–आँखा–मुख–उचाइ आदि) भनेर निर्धारित हुन्छ।
शरीरको क्रियात्मक शक्ति, पाचनशक्ति, विचार शक्ति, बढ्ने शक्ति आदिका आधार पनि निर्धारण भइरहेको हुन्छ। यसले बच्चाको आधारभूत शारीरिक, मानसिक र भावनात्मक प्रकृति कस्तो रहने भन्ने कुरा निर्धारित गर्छ। यसमा आमाले गर्भावस्थामा गर्ने खानपान, जीवनशैली, सामाजिक र पर्यावरणका अवस्थाले असर गर्छन्। गर्भावस्थामा राम्रो पोषण, स्याहार, पारिवारिक साथ पाएका गर्भस्थ शिशुको शारीरिक र मानसिक विकास राम्रो हुन्छ। यस्तै, सिक्ने र समस्याहरूसँग जुध्न सक्ने क्षमता राम्रो भएको पश्चिममा भएका शोधमा पाइन्छ। मानिसको आधारभूत प्रकृति जीवनभर उही रहन्छ तर आहारविहार र वृत्तिहरूबाट त्यसको गुण वृद्धि, ह्रास या साम्य अवस्थामा राख्ने नराख्ने व्यक्ति स्वयंंको हातमा हुन्छ।
आयुर्वेद विज्ञानमा तीन प्रकारका शरीरका घटक (वात–पित्त–कफ) मानिन्छ। वातज, पित्तज र कफज गरी व्यक्तिको प्रकृतिलाई मुख्य रूपमा तीन भागमा विभाजन हुन्छ। तर पनि विभिन्न दोषका आधार व्यक्तिमा मिश्रित किसिमको प्रकृति देखिन सक्छ :
वातज प्रकृत
वातज प्रकृतिका व्यक्तिको शरीर प्रायः दुब्लो र छरितो हुन्छ। खानपान राम्रै किसिमको भए पनि यी व्यक्तिहरू औसतभन्दा कम तौल भएका हुन्छन्। छाला सुक्खा, फुस्रो र छिट्टो चाउरी पर्ने खालको हुन्छ। कपालको घनत्व कम हुन्छ, कपालको रेसा पनि पातलो हुन्छ। कपाल पनि सुक्का र जर्रो प्रवृत्तिको हुन्छ। अमिलो स्वाद भएको खानपान बढी प्रिय लाग्छ। खानामा सुक्खा चीज बढी मन पर्छ। भोक र प्यास कहिले राम्रो लाग्ने, कहिले नलाग्ने, पाचन शक्ति पनि अस्थिर किसिमको हुन्छ। निद्रा पातलो हुन्छ। एक पटक वायु बुझिएपछि पुनः निदाउन गाह्रो हुन्छ। खाना राम्रो नपच्ने र कब्जियतको समस्या पनि बारम्बार भइरहन्छ। धेरै बोल्ने र चञ्चल स्वभावका हुन्छन्।
यस्ता व्यक्ति घुमफिर गरिरहन पर्ने, एउटै ठाउँमा स्थिर भई बसिराख्न नसक्ने खालका हुन्छन्। पढाइ, व्यवसाय, कामहरू परिवर्तन गरिराख्ने स्वभावका हुन्छन्। काम गर्न शरीर जाँगरिलो, फूर्तिलो भए पनि शरीर छिट्टै थाक्ने खालका हुन्छन्। सबैसँंग बोल्ने, मिजासिला, धेरै साथी बनाउने स्वभावका भए पनि दीर्घकालीन रूपमा सबैसंँग राम्रो सम्बन्ध राख्न समर्थ हुँदैनन्। स्वभाव पनि क्षणमै रिसाउने, क्षणमै खुसाउने खालको हुन्छ। तिनलाई पुराना घटनाहरूको सम्झना या स्मरण त्यति राम्रो हुँदैन। कसैले राम्रो गरेको, नराम्रो गरेको छिट्टै बिर्सने खालका हुन्छन्। शरीर स्वभावैले चिसो खाले हुन्छ। स्वभावैले तातो–न्यानो चिज खान,
लगाउन र रहन मन लाग्छ।
भविष्यमा हाडजोर्नी, मांसपेशी र नसासम्बन्धी रोग बढी लाग्ने सम्भावना यस्ता व्यक्तिमा हुन्छ। उमेरजन्य हाडजोर्नीको समस्या घुँडा, ढाड दुख्ने आदि औसत उमेरभन्दा अगाडि आउन सक्छ। कपाल झर्ने र पातलो हुने, छालामा बुढ्यौलीको लक्षण छिटो देखिने हुन्छ। मन अस्थिर, अशान्त, तनाव, चिन्ता या अनिद्रा यी व्यक्तिमा बढी मात्रा देखिन सक्छ। पेट, आन्द्राका पचाउने र अवशोषण प्रणालीमा समस्या हुनाले कुपोषण, क्षयजन्य समस्या, बी–१२ डिफिसियेन्सी, क्याल्सियम कमी आदिको कुप्रभाव शरीरमा देखिन सक्छ। वातज प्रकृतिको व्यक्तिले खानामा सदैव थोरै मात्रामा गाईको घिउ प्रयोग गर्नु पर्छ। काम शारीरिक परिश्रमजन्य भए घिउको मात्रा बढाउन पनि सकिन्छ। दैनिक गुलियो, अमिलो र नुनिलो स्वाद भएका सन्तुलित भोजनमा अन्न, सागसब्जी, परिकार र फलफूलको प्रयोग गर्नुपर्छ।
गर्भावस्थामा राम्रो पोषण, स्याहार, पारिवारिक साथ पाएका गर्भस्थ शिशुको शारीरिक र मानसिक विकास राम्रो हुन्छ।
सलाद काँचो नभई आधा पकाएर प्रयोग गर्न राम्रो हुन्छ। पिरो, तितो र टर्रो स्वाद भएको खानपानले वात दोषको गुण स्वतः बढाउने भएकाले विभिन्न माथि उल्लेखित समस्या बढ्न सक्छन्। खानामा रसिलो, झोलिलो र केही मात्रामा स्निग्ध (चिल्लो) भोजन/परिकारलाई प्राथमिकतामा राख्नुपर्छ। नुहाएपछि या नुहाउन केही घण्टा अघि नियमित शुद्ध तिल नभए तोरीको तेलले शरीर र टाउको मालिस गर्नुपर्छ। दूधको प्रयोग नियमित गर्नुपर्छ। आफ्नो निद्राको समय निश्चित बनाई पैताला र शिरमा नियमित मालिस गर्दै सुत्नुपर्छ। सुमधुर संगीत श्रवण गर्दै योग निद्राको अभ्यास गर्न सक्यो भने राम्रो गहिरो निद्रा लाग्छ। जसले शरीरका क्षमता र अंगप्रत्यंगलाई स्वस्थ राख्न मद्दत गर्छ। उठेपछि मनतातो पानीको प्रयोग हितकर हुन्छ (गर्मीको महिनामा पनि), घामको स्पर्शसहित हलुका व्यायाम/योग गर्नुपर्छ। धेरै बल पर्ने व्यायाम वा
काम उचित हुँदैन।
पित्तज प्रकृति
पित्तज प्रकृतिका व्यक्तिको शरीर प्रायःजसो मध्यम, न दुब्लो न मोटो हुन्छ। सन्तुलित भोजन गर्दा कम मेहनतले नै तौल सन्तुलनमा रहन्छ। यी व्यक्तिको शरीर कोमल प्रकृतिको हुन्छ,। पसिना धेरै आउने खालको हुन्छ। छाला चिल्लो, चम्किलो र आकर्षक हुन्छ। डन्डीफोर, फोकाफोकी आदि आइराख्छ। कपाल उमेरभन्दा चाँडै फुल्छ। खानेकुरामा नुनिलो, पिरो र अमिलो स्वाद मन पर्छ। खानामा सौखिन रहने चिल्लो– चाप्लो, मरमसालायुक्त र चटपट स्वादको खाना बढी मन पराउने हुन्छन्। भोक बढी लाग्छ। भोक खप्न सक्दैनन्। निद्रा मध्यम खाले (५–६ घण्टा पर्याप्त) हुन्छ।
यस्ता व्यक्तिको पाचन प्रणाली तेज हुन्छ। खाएको कुरा पच्ने र बिहान लगभग एकै समयमा पेट सफा हुने प्रवृत्ति हुन्छ। यी व्यक्तिलाई तिर्खा पनि राम्रो लाग्छ। स्वभावमा कडा र चाँडै रिसाउने खाले हुन्छन्। तर, विद्वान्, बुद्धिमानी नेतृत्व गर्न सक्ने, प्रभाव जमाउन सक्ने खालका हुन्छन्। झनक्क रिसाउने, आक्रमक पनि भइदिने स्वभाव हुन्छ। कुरा बुझाउँदा छिट्टै कुरा बुझ्ने खालका हुन्छन्। नयाँ परिचय र सम्बन्धहरू स्थापित गर्न सक्ने र हितमा काम आउने सम्बन्धलाई व्यवस्थित गराएर राख्न सक्ने क्षमता हुन्छ। आफ्नो प्रशंंसा बढी मन पराउने स्वभाव हुन्छ। स्मरण शक्ति राम्रो हुन्छ। शरीर भने अलि गरम हुन्छ त्यसैले फ्यान, एसी, खुला हावामा बस्न रुचाउने खालका हुन्छन्। वातज र कफज व्यक्तिको तुलनामा यिनलाई जाडो कम लाग्छ। खानेकुरामा चिसो पेयपदार्थ शीतलो खानपान गर्न र शीतलो वस्त्र लगाउन मन पराउँछन्।
यी व्यक्तिहरूलाई भविष्यमा छालाका विभिन्न रोगले ग्रसित पार्छ। किशोरकिशोरी अवस्थामा बढी मात्रामा डन्डीफोर आउने हुन्छ। छालाको एलर्जी, घाउ, खटिरा आदिले दुःख दिइराख्ने हुन्छ। पटकपटक संंक्रमण, इन्फ्लाफेसनको समस्या भइराख्ने हुन्छ। पेट आन्द्राका अल्सर अन्य भागका मानसिक तनाव, डर, तनाब आदि हुनसक्छ। खानामा निरन्तर गाईको घिउको प्रयोग गर्नुपर्छ। तर वातज व्यक्तिको तुलनामा मात्रा कम हुनुपर्छ। दैनिक गुलियो, तितो र टर्रो स्वादसहितको अन्न, खानपानको परिकार, सागसब्जी, दूध र फलफूलको प्रयोग बढी मात्रामा गर्नुपर्छ। सलाद दैनिक ताजा प्रयोग गर्न सकिन्छ। पानीको प्रयोग पनि प्रशस्त मात्रामा हुनुपर्छ।
पिरो, नुनिलो र अमिलो स्वादयुक्त खानपानले स्वतः पित्तको वृद्धि गराउँछ। विभिन्न समस्याको सिकार हुनुपर्छ। शरीरमा पसिना आइराख्ने भएकाले, छाला चिल्लो हुने हुनाले हरेक दिन मालिस जरुरी पर्दैन। जाडो याममा भने छालाको अनुकूलताअनुसार तेलले मालिस गर्नुपर्छ। नियमित लगाउन नरिवल तेल उपयुक्त हुनसक्छ। नियमित मध्यम बल पर्ने व्यायाम/योग अभ्यास गर्नुपर्छ। प्राणायामको (अनुलोम, विलोम, भास्त्रिका, भ्रामरी आदि) अभ्यास नियमित जरुरी छ। यसले मानसिक चिडचिडाहट, डर, रिसाउने प्रवृत्ति, तनाव आदिलाई कम गर्छ।
कफज प्रकृति
कफज प्रकृतिका व्यक्तिको शरीर प्रायःजसो मोटोघाटो हुन्छ। सन्तुलित भोजन गर्दा पनि अत्यधिक मेहनेत पछि मात्रै चाहेको वजन पाउन सक्छन्। औसतभन्दा यी व्यक्तिको तौल धेरै हुन्छ। शरीर राम्रो देखिन्छ। हेर्दा बलियो र आकर्षक देखिन्छन्। छाला मोटो बाक्लो, सेतो हल्का पहेंंलो न अति सुक्का न अति चिल्लो मध्यम खाले हुन्छ। केश घना, कालो, मोटो रेसा भएको बुढेसकालसम्म पनि नफुल्ने खाले हुन्छ। खानेकुरामा गुलियो चीज अत्यन्त मनपर्ने क्रमशः नुनिलो, अमिलो स्वाद मनपर्ने हुन्छ। खानाका सौखिन हुन्छन्। नमिठो खाना पनि मिठो मानेर खाने हुन्छन्। यिनको भोक मध्यम किसिमको हुन्छ, भोक लामो समयसम्म खेप्न सक्छन्।
खाएको खाना पच्ने तर अतिकति ढिलो पच्ने, पच्न भारी हुने खाद्यान्न (माछामासु, अन्डा, मैदा आदि परिकार) खाँदा पच्ने तर ढिलो गरी पच्ने हुन्छ। बलिया भए पनि धेरै हिँंडडुल गर्न मन पराउँदैनन्। बढी एकान्तमा बस्न रुचाउँछन्। आनन्द र ढुक्कको बानी हुन्छ। कसैलाई हानि पुर्याउँदैनन् तर आफूलाई विगतमा भएको मानसम्मान, हानिलाई बिर्सदैनन्। निद्रा पनि बाक्लो हुन्छ, पूर्ण चाहिन्छ। खान र सुत्नका लोभी हुन्छन्। यी व्यक्ति स्वभावले गम्भीर, बुद्धिमानी, शान्त, शालीन भद्र र दयालु हुन्छन्। कम साथी बनाउने तर भएका सम्बन्धलाई दिगो राख्न सक्ने स्वभावका हुन्छन्। शरीर स्वतः चिसो हुन्छ। जाडोयाममा यी व्यक्तिलाई कोल्ड एलर्जी हुनसक्छ। चिसो खप्न गाह्रो हुन्छ। स्वतः तातो खानपान मनपर्ने, न्यानो वस्त्र लगाउन र न्यानो गरी बस्न रुचाउने खाले हुन्छन्।
भविष्यमा विभिन्न मेटाबोलिक समस्या आउन सक्ने हुन्छ। बढी वजन हुने भएकाले ओबोसिटी, सुगर, उच्च रक्तचाप आदि समस्या हुनसक्छ। हाइपोथाइरोइडिज्म डिप्रेसन, दिउँसोमा बढी निद्रा लाग्ने साथै अटो इम्युन रोगहरूको समस्या बढी हुनसक्छ। ट्युमर, क्यान्सरजन्य समस्या पनि बढी मात्रामा हुनसक्छ। खानामा चिल्लोपना अलि कम खानुपर्छ। माछा–मासुको प्रयोग, दूध र दुधजन्य परिकार पनिर, चिज, बटर आदिको एकदमै सन्तुलित प्रयोग गर्नुपर्छ। गुलियो, नुनिलो स्वादलाई कम प्रयोग गर्ने र पिरो, तितो, टर्रो स्वादलाई खानामा सन्तुलित प्रयोग गर्नुपर्छ। सलाद आदि खाँदा आधा उमालेर खाँदा फाइदा गर्छ। जौ, गहुँ, कोदो, फापरका परिकारको प्रयोग बढी गर्नुपर्छ। पानीको प्रयोग तिर्खाअनुसार मनतातो, तातो पानी पिउनुपर्छ। निद्राको अवधिलाई सन्तुलित राख्नुपर्छ, दिउँसोमा पटक्कै सुत्नु हुँदैन।
यस्ता व्यक्तिले महको प्रयोग दैनिक गर्नुपर्छ। व्यायाम र सक्रियता एकदमै जरुरी हुन्छ तर अल्छी हुने भएकाले गर्न सक्दैनन्। जाडो याममा तोरीको तेलले नियमित मालिस गर्नुपर्छ। दिनमा दुई पटक भोजन गर्ने र पर्याप्त व्यायाम गरे यी व्यक्ति स्वस्थ हुनसक्छन्। घामको स्पर्श पनि दैनिक हुनुपर्छ। बल पर्ने किसिमको व्यायाम, योग आसन र प्राणायाम लाभकारी हुन्छ। यी तीन प्रकृति भएका व्यक्ति कुनै एक्लो वातज, पित्तज र कफजभन्दा पनि मिश्रित किसिमको वात–कफज, वात–पितज, पित्त–कफज, पित्त–वातज, आदि गरी दुई दोषको गुण समान या कुनै एकको अल्ली बढी र अर्कोको कम गरी विभिन्न अनुपातमा रहन सक्छन्। यस्तो अवस्थामा सबैभन्दा बढी गुण मिल्न गएको दोष प्रकृतिलाई आफ्नो प्राथमिक र त्यसपछि मिल्न गएकोलाई दोस्रो प्रकृति मान्नुपर्छ। कसैमा वातज, पितज र कफजका तीनै गुण पनि समान रूपमा मिल्न सक्ने हुनसक्छ। यसरी प्रकृतिको पहिचानले व्यक्तिले आफ्नो शरीरको भित्री गुण र क्षमताको निर्धारण गरी दैनिक प्रयोग गर्ने अन्न, फलफूल, पेय पदार्थ, व्यायाम, निद्रा अवधि आदिको सही छनोट गरी स्वस्थ रहन सक्छ। प्रत्येक व्यक्तिको आआफ्नो प्रकृति हुने भएकाले समग्र विषयवस्तु एकमुष्ट भन्न कठिनाइ हुन्छ। थप जिज्ञासा हुनेले आयुर्वेद स्वास्थ्य संंस्था र आयुर्वेद चिकित्सकलाई भेटी थप परामर्श लिन सक्छन्। अन्नपूर्णपोष्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया