असार २५, २०८२ बुधबार July 9, 2025

सहिदका सपना र क्षयग्रस्त राजनीति – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यो सहिद सप्ताह हो क्यारे, यसको अन्तिम दिन माघ १६ गते सहिद दिवस भनेर मनाउने चलन थियो । केही औपचारिकता त अझै बाँकी होलान् । नेपालमा क्रान्तिको लहर उत्पन्न गरेको १९९७ सालको पर्चा काण्डमा राणा शासकले फाँसीको सजाय दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरूले गरेको शहादतको सम्झना र सम्मानमा माघ १० देखि १६ गतेसम्म सहिद दिवस मनाइन्थ्यो ।

म स्कुल पढ्दा भूगोलपार्कमा ती महान् सहिदहरूका फोटा सजाइएका हुन्थे । जानेर वा नजानेर हामी श्रद्धाभावसहित तिनीहरूप्रति नतमस्तक हुन्थ्यौं । आजपर्यन्त त्यो श्रद्धा र नमन यथावत् छ । सहिद कहिल्यै पुराना हुँदैनन्, तर म यी पङ्क्तिहरूमा सहिद दिवस मनाउने ‘चलन थियो’ भनेर भूतकालीन अर्थ दिने वाक्य लेख्न विवश भएको छु । हामी अहिलेजस्तो राजनीति देख्दै छौं र भोग्दै छौं, त्यसले सहिदका सपना मात्र होइन, सहिद सम्बन्धी बुझाइलाई नै क्षत–विक्षत बनाएको छ ।

सहिद को हो भन्नेबारे विश्वभर एउटा साझा बुझाइ छ । सहिद त्यस्तो बलिदान गर्नेलाई मानिन्छ जसले राजनीतिक–सामाजिक परिवर्तन र न्यायका लागि चालु राज्यव्यवस्थाविरुद्ध विद्रोह गर्छ र सो क्रममा शासनसत्ताले मृत्युदण्ड दिन लाग्दा ज्यान जोगाउनका लागि कुनै सम्झौता नगरी आफूले अंगीकार गरेको सत्य र न्यायका लागि बिनाकुनै अफसोस हाँसीहाँसी फाँसीको वेदीमा चढ्ने सत्कर्म गरेको हुन्छ । राजनीतिक आन्दोलनमा त्याग र बलिदानका अनेक रूप हुन्छन् । त्यस क्रममा सयौं, हजारौं मानिसले ज्यान गुमाएका हुन सक्छन्; कैयौंको निरंकुश सरकारले हिरासतकै अवस्थामा हत्यासमेत गरेको हुन्छ । नेपालमा त्यस्ता घटना धेरै छन् । ती सबैलाई सहिद भनिँदैन । ती वीर योद्धाको सम्मान गर्न कन्जुस्याइँ गर्नुपर्दैन, परिवारजनको हेरविचार परिवर्तनपछि बनेको सरकारको दायित्व पनि हो । तर ती सबैलाई सहिद भनेर सूचीकृत गर्दै दस लाख नगद मूल्य तोक्ने काम भयो, जसले शहादतकै अवमूल्यन गरेको छ, सहिदको अवधारणालाई भ्रमित तुल्याएको छ । सहिद लेनदेन र क्षतिपूर्तिको वस्तु होइन ।

सहिदको सन्दर्भ उपयोग गरेर यहाँ मैले विमर्श गर्न खोजेको विषय वर्तमान राजनीति हो । हालै गणेशमान सिंहका बारेमा उनकै छोरी डा. मीता सिंहले अंग्रेजीमा लेखेको ‘द स्ट्रगल अफ गणेशमान सिंह’ पुस्तक प्रकाशनमा आएको छ । गणेशमानजीको संघर्ष र त्यागको इतिहास ताजै छ, त्यसैको जगमा आजको राजनीति उभिएको छ । यो पुस्तकको सबैभन्दा मन छुने पक्ष लेखकले गणेशमानजीका बारेमा दिएको जीवन्त प्रस्तुति हो । सार्वजनिक चर्चामा आउन नसकेका गणेशमानजीको सङ्घर्षका कतिपय कुरा र पक्षलाई पनि लेखकले उजागर गरेकी छन् । सहिद सप्ताहको कुरा गर्दा बिर्सन नसकिने व्यक्ति गणेशमानजी पनि हुन् । अहिले म भारतीय समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित भई विमलप्रसाद र सुजाताप्रसादले लेखेको पुस्तक ‘द ड्रिम अफ रिभोल्युसन’ पढ्दै छु । गणेशमान सिंह बीपी कोइराला लगायत नेपालको क्रान्ति चर्चा गर्दा सन्दर्भमा आइरहने नाम हो जयप्रकाश नारायण पनि । यी तीनै जनाको जीवन र व्यक्तित्वमा पाइने एउटा असाधारण समानता हो— आफैंले निर्माण गरेको क्रान्तिमा बाहिरिया बन्नुपर्ने विडम्बना ।

जयप्रकाश नारायणका बारेमा लेखिएको पुस्तकमा क्रान्ति र क्रान्तिपछिको राजनीतिक अन्तरविरोध, क्रान्तिकारी लक्ष्यको स्खलन र सत्ता राजनीतिको निकृष्ट लेनदेन एवं भोगचलनमा कसरी क्रान्तिको निर्माता आफैं बाहिरिन पुग्छ भन्ने कुराको मार्मिक तर स्पष्ट विश्लेषण पाइन्छ । क्रान्ति असफल हुँदाको परिणाम बेग्लै हो, त्यसको छुट्टै कथा हुन्छ । असफल भयो भन्दैमा क्रान्तिको यात्रा रोकिँदैन । तर यहाँ चर्चा गर्न खोजिएको कुरा क्रान्ति वा आन्दोलनको सफलतापछिको राजनीतिक विडम्बनाको हो । भारतलाई स्वतन्त्रता आन्दोलनको चुलीमा पुर्‍याउने महात्मा गान्धी स्वतन्त्रतालगत्तै असान्दर्भिक भए । उनी धेरै बाँचेनन्, स्वतन्त्रताको एक वर्ष नबित्दै उनको हत्या भयो । तर गान्धीको मिसन र त्यसको नैतिक पक्ष उनीपछि पनि जारी रह्यो । जयप्रकाश नारायणहरूले त्यसलाई निरन्तरता दिए । त्यो आज पनि भारतमा राजनीतिक नैतिक मूल्यको उचो धरोहरका रूपमा छ । जयप्रकाश नारायणले पनि सत्ता राजनीतिबाहिर सामाजिक रूपान्तरण आन्दोलनको नेतृत्व गरे । सन् १९७४–७५ मा इन्दिरा गान्धीको अधिनायकवादविरुद्ध उनी युवा आन्दोलनकारीहरूको मिसाल थिए । त्यसको विकल्पमा उनकै पहलमा अघि सारिएको जनता पार्टीको राजमा गान्धीजस्तै उनी पनि असान्दर्भिक भए ।

फोहोरी राजनीतिको दैनिक विरोध र प्रतिरोध मात्र होइन, यसलाई सालनालसहित फाल्ने उच्च नैतिकता र निष्ठाको व्यापक आन्दोलन जरुरी भएको छ । अनि मात्र सहिदप्रति हाम्रो कर्तव्य र निष्ठाको अर्थ रहन्छ, क्रान्ति चेतना पनि जीवित रहन्छ ।

भारतमा मात्र होइन, कम्युनिस्ट क्रान्ति पनि चाहे त्यो रुसमा होस् वा चीनमा, विचलन र स्खलनबाट मुक्त रहन सकेन । ७४ वर्षपछि रुसमा त कम्युनिस्ट सत्ता नै समाप्त भयो । कम्युनिस्ट भने पनि चीन अहिले पुँजीवादी अर्थतन्त्रकै अर्को रूप मानिन्छ । मालिक र कामदार वर्गको असमान संरचना अरू सुदृढ भएको छ । क्रान्तिको साधन मानिएको कम्युनिस्ट पार्टी अब निरंकुशतन्त्रको बलियो हतियार साबित भएको छ । अनुयायीहरूको प्रचारबाजीमा बाहेक विश्वशक्ति र सत्ताको होडमा पुँजीवादी अमेरिका र साम्यवादी भनिने चीनबीच के नै अन्तर बाँकी छ र ? माओ त्सेतुङले के परिकल्पना गरेका थिए, त्यो अब चर्चामै छैन । उनी आफैं पनि जीवनका अन्तिम वर्षहरूमा चार जनाको गिरोह (ग्याङ अफ फोर) को बन्दीजस्तै थिए । उनको नाममा यही गिरोहको राज थियो । उनले गरिब किसान र गाउँलेलाई परिचालन गरेर गरेको क्रान्तिमा अब उनको फोटोबाहेक केही बाँकी छैन । चीनमा आर्थिक प्रगति भएको छ, तर त्यसले कति र कस्तो समाजवादी रूपान्तरण गर्‍यो, प्रश्न अनुत्तरित नै छ ।

नेपालमा पनि २००७ सालको क्रान्तिका निर्माता बीपी, गणेशमानजीहरू थिए । २०१७ पछि उनीहरू बाहिरिया मात्र भएनन्, जेलमा बन्दी बनाइए; विदेशमा निर्वासित हुनुपर्‍यो । त्यही क्रान्तिको डुंगा चढेर राजगद्दीमा भित्रिएका राजा महेन्द्रले क्रान्तिका निर्माता नायकहरूलाई राजनीतिबाट पन्छाए । उनीहरूले फेरि क्रान्ति गर्नुपर्‍यो । त्यो सफल नहुँदै बीपीको जीवन बित्यो । गणेशमानजीको नेतृत्व २०४६ मा सफल भयो । २०४६ र २०६२–६३ का आन्दोलन वा क्रान्तिले लोकतन्त्रलाई फेरि सत्य साबित गरे । आन्दोलनका नेता र पात्रहरू फेरि राजनीतिमा हावी भए । अहिले उनीहरूकै हातमा छ राजनीति । फेरि पनि विडम्बना नै भन्नुपर्छ, २०४६ को आन्दोलनपछि गणेशमानजी असान्दर्भिक भए, उनी पन्छाइए । गणेशमानजी र जयप्रकाश नारायणको राजनीतिक वियोगान्तको कथा करिब उस्तै छ । यस्तै, २०६२–६३ को आन्दोलनबाट संविधानसभामा पुग्दा गिरिजाप्रसाद कोइराला पनि असान्दर्भिक भए ।

२०६२–६३ को आन्दोलनमा आइपुग्दा कांग्रेस र कम्युनिस्टहरूको पार्टीगत एकता र सहकार्य मात्र थिएन, धेरै वैचारिक समन्वय पनि भएको थियो । लोकतन्त्रको राजनीतिक एजेन्डा कांग्रेसको विचारमा आधारित थियो भने अर्थ–सामाजिक विषयमा कम्युनिस्टनिकट नीति र कार्यक्रम दिन सकिने अवस्था बनेको थियो । यसबाट मजस्ता धेरै मानिस राजनीतिका साथै अर्थ–सामाजिक रूपान्तरण हुनेछ भनेर उत्साहित भएका थियौं । त्यो क्रान्तिका दुई अग्रणी व्यक्तित्व गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अर्को १५–२० वर्ष एकताबद्ध भएर सहकार्य गर्ने भन्दै थिए । नेपालको राजनीतिमा कांग्रेस मात्र होइन, कम्युनिस्ट आन्दोलनको पनि एउटा लामो सङ्घर्ष, दृष्टिकोण र नीतिको इतिहास छ । त्यो क्रममा अनेकौं मानिसले आफ्नो प्राणको आहुति दिएका छन्, दुःखकष्ट भोगेका छन् । तर ती कुरा सत्ता राजनीतिको अभ्यासमा केवल भोट भजाउनेबाहेक केही भएनन् । आर्थिक–सामाजिक रूपान्तरणका जति भाषण छाँटे पनि सत्ताभोगको दलदलमा भ्रष्ट, निकृष्ट र अयोग्यबाहेक कोही पनि निष्ठावान् कांग्रेस र कम्युनिस्ट भनेर दरिन सकेनन् ।

अहिले राजनीति पार्टीहरूको हातमा होइन, ठेक्कापट्टा, दलाली र भ्रष्ट गिरोहहरूको पकडमा छ भनिन्छ; बेलाबखतमा बदनामीमा चर्चा आउने यती, ओम्नी, बतास वा यस्तै विविध नामधारी समूहको पकडमा छ भनिन्छ । अग्र पङ्क्तिमा चिनिएका केही शीर्ष नेता, युवा नेता जोजो भए पनि पार्टी र नेताहरूको सम्पूर्ण व्यवस्थापन उनीहरूकै जिम्मामा पुगेको सुनिन्छ । संविधानको ‘समाजवाद उन्मुख’ भन्ने आवरणमा पुँजीवादको निकृष्ट रुप भनेर आलोचित क्रोनी क्यापटलिजम या क्रोनीवाद अहिलेको नेपाली राजनीतिको यथार्थ हो । राजनीति र ठेक्कापट्टा मात्र होइन, शिक्षण संस्था लगायत हाम्रा तमाम पेसा, व्यवसाय, उद्योगधन्दासमेत यसकै चंगुलमा पुगिरहेका छन् । राजनीतिक दल र तीनै तहका सरकारहरू यसको अखडा र संयन्त्रजस्ता भएका छन् । हालै एमाले, कांग्रेस, माओवादीहरूका पार्टी महाधिवेशन सकिए । संविधानको भाषामा उनीहरूको लोकतान्त्रिक नवीकरण भयो । यथार्थमा यिनै ‘क्रोनी’ सहचर–अनुचरको माखेसाङ्लो अरू कसियो भन्छन्, ती पार्टीका निष्ठावान् र त्यागी कार्यकताहरू ।

अहिले स्थानीय चुनावको मिति घोषणामा भइरहेको विलम्बलाई लिएर निकै तातो बहस चलिरहेको छ । म पनि भन्छु, चुनाव सत्ताधारीको अनुकूलताका लागि ढिलो वा चाँडो गर्ने कुरा होइन । संविधान र कानुनसम्मत तरिकाले यसको निर्धारण गरिनुपर्छ । तर चुनाव कसका लागि ? हिजो चियागफमा एक जना मित्र भन्दै थिए, ‘ओलीको क्रोनिजम (दलाल–सञ्जाल) सकिँदै छ । यसका लागि स्थानीय तहका निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको पदावधि सकिन दिनुपर्छ । त्यसपछिको चुनावमा सत्ता गठबन्धनलाई त्यही दलाल–सञ्जालले जिताउँछ, संसद्मा पनि जिताउँछ ।’ यो सुनेपछि म निकै गम्भीर भएँ । मलाई अझै पनि लाग्छ, चुनाव लोकतन्त्रको दियो हो । तर यदि मतदाताको निर्णायक शक्ति खोसिएको छ भने चुनावको के अर्थ रह्यो र ?

मलाई नेपालका आन्दोलनहरूका सन्दर्भमा सबैभन्दा खड्किने कुरा के लाग्छ भने, हाम्रो राजनीतिमा केवल सत्ता खेल र भोग मात्र हावी भयो । यसको सामाजिक–आर्थिक पक्ष एकदमै ओझेल पर्‍यो । नेताहरूको व्यक्तित्व र नैतिकता एक अंश पनि नजोगिने गरी स्खलित भयो । पार्टीहरू दलालको अखडा बने, जनतासँग भोटका बेलामा बाहेक सम्बन्ध नै रहेन । पटकपटक पार्टी, सरकारको नेतृत्व लगायत सबै कुरा भ्याइसकेपछि पनि किन कोही सामाजिक अभियन्ता भएर निस्कन सक्तैन ? खाँचो अब टुप्पाको राजनीतिबाट होइन, समाजको पीँधबाट सामाजिक रूपान्तरण आन्दोलनको छ ।

हामी नागरिकहरू पटकपटक सडकमा पुगेका छौं, आन्दोलन गरेका छौं, आवश्यक पर्दा फेरि पनि पुग्छौं । तर उनै फोहोरी खेल, त्यसमै रमाउने भ्रष्ट र अयोग्य पात्र बोकेर सडकमा जाने काम अब हुन सक्तैन; त्यस्तो नागरिक आन्दोलनको औचित्य पनि छैन । नागरिक आन्दोलन त अहिले पनि जारी छ । कैयौं अभियन्ता सडकमै छन् । यसमा अब वैचारिक र नैतिक रूपान्तरणको आवश्यकता छ । फोहोरी राजनीतिको दैनिक विरोध र प्रतिरोध मात्र होइन, यसलाई सालनालसहित फाल्ने उच्च नैतिकता र निष्ठाको व्यापक आन्दोलन जरुरी भएको छ । काठमाडौंको सडकमा मात्र होइन, हरेक गाउँ, वडाबाट यसको निर्माण गर्नुपर्छ । अनि मात्र सहिदप्रति हाम्रो कर्तव्य र निष्ठाको अर्थ रहन्छ, क्रान्ति चेतना पनि जीवित रहन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार