बैसाख २२, २०८३ मंगलबार May 5, 2026

प्रदेशको नामकरण र राजधानी नतोकिएको भए राजीनामा दिन्थेँ : सभामुख सरोजकुमार यादव, मधेस प्रदेश (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रदेशसभाको चार वर्ष कसरी बित्यो ? सभामुखको नाताले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

खासगरी हाम्रो सदनको काम भनेकै विधेयक, कानुन बनाउनु, हो । सरकारले विकास निर्माण लगायतका काम गर्छ । हामीले विगत चार वर्षमा सबै कानुन सर्वसम्मत रुपमै बनायौं । हाउसमा कसैका बारेमा कुनै पनि किसिमको गाली गलौज र आलोचना भएन । हाउसमा तोडफोड पनि हुन दिएनौँ । सदनको गरिमा कायम राख्यौँ ।

देशको अवस्था चार वर्षमा धेरै बदलियो । दलहरु पनि टुटफुट भए । यसको असर यहाँ पनि प¥यो । कुनै पनि दलका नेतासँग विभेद नगरी नियमसंगत सबै दललाई समान रुपमा लिई काम कारवाही गर्दै आएका छौँ । यस बीचमा करिब ५० वटा विधेयक बनाउन सफल भयौं । अहिले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न पनि सफल भयौँ । यो नै अहिलेसम्मको मुख्य उपलब्धिको रुपमा लिएको छु ।

यो पालामा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्छ भनेर कसैलाई विश्वास नै थिएन । यो काम प्रदेश सरकारको थियो । प्रदेशको नाम र राजधानीका सम्बन्धमा सरकारले आफ्नो काम गर्न नसकेपछि मैले प्रदेशसभामा नियमावली संशोधन गरेर पहलकदमी लिएको थिएँ । दुई वर्ष अघि पनि प्रदेशको नामकरण र राजधानीको लागि अग्रसर भएँ तर त्यतिबेला असफल भइयो । प्रदेश सरकारले त्यतिबेला पनि खासै वास्ता गरेको थिएन । दलहरु बीच पनि छलफल, बहस गरेको थिएन । तर यो पटक मैले विशेष पहल गरेकै हो र सफल पनि भइयो ।

तपाईंले प्रदेशको नाम र राजधानीका बारेमा अग्रसरता लिनुको कारण के थियो ?

करिब करिब सबै प्रदेशको नामकरण र राजधानी तोकिसकेको थियो । यस प्रदेशलाई दुई नम्बर प्रदेश भनेर भनिरहनुपर्दा धेरै नै नराम्रो लाग्ने गरेको थियो । जसले गर्दा मैले नामकरणका लागि पहलकदमी लिएँ ।

मैले आफैले के बुझे भने प्रथम संविधानसभाले संविधान निर्माण गर्न सकेन । केन्द्रीय दलका नेताहरुका कारण संविधान जारी नै भएन । त्यसपछि फेरि ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । त्यो निर्वाचनमा मेरो क्षेत्रका जनताले संविधान निर्माण नगरेको भन्दै मलाई मत नै दिएनन् । पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसक्ने, गल्ती गर्नेमा काँग्रेस, एमाले र माओवादी दल थिए तर त्यसको असर मलाई पनि प¥यो र म दोस्रो संविधानसभामा पराजित भएँ ।

०६४ सालमा संघीयताका लागि निकै दबाब थियो । त्यतिबेला संघीयतालाई बेवास्ता गर्न विभिन्न दल लागिपरेका थिए । दोस्रो संविधानसभाबाट संविधान निर्माण भयो । त्यतिबेला दबाबमा दलहरुले संघीयतालाई स्वीकारे । संविधानमा देखाउनका लागि संघीयता ल्याइयो । ०६४ सालमा बनेको संविधानसभाबाट संविधान निर्माण गरेको भए संघीयता धेरै बलियो हुन्थ्यो ।

त्यसो भए अहिले संघीयता कमजोर छ भन्न खोज्नु भएको हो ?

हो, संघीयता निकै कमजोर अवस्थामा छ । अहिले मुलुकमा संघीयता भए पनि प्रदेश मातहत आफ्नो प्रहरी छैन, आफ्नो प्रशासन छैन । न कर्मचारी छ । आफ्नो ढंगले प्रदेश सरकारले काम कारवाही गर्न सकेको छैन । निरीहजस्तै रहेर प्रदेश सरकारले कामकाज गर्नु परेको अवस्था छ ।

हाउसबाट प्रदेश प्रहरी ऐन पारित भई प्रमाणीकरण समेत भइसकेको अवस्थामा कार्यान्वयन किन गराउन सकिएन ?

दुःखद् अवस्था छ । केन्द्र सरकारका कारण प्रहरी समायोजन भएन । केन्द्रले समायोजन गरिरहेको छैन भने संयोजन गरेर प्रदेश प्रहरी भर्नाका लागि मुख्यमन्त्रीलाई सल्लाह दिएको छु । यसबीचमा राष्ट्रियसभाको निर्वाचन भएका कारणले आन्तरिक गृहकार्य हुन सकेन । अब एकाध महिनामा मधेस सरकारले प्रहरीका लागि विज्ञापन निकाल्ला ।

प्रदेशको नामको विषयमा आफूले अग्रसरता लिएको तपाईंले भन्नुभयो । यदि तपाईंले जोखिम लिइरहँदा असफल भएको भए के हुन्थ्यो ?

मैले यो कुरा बैठकमा पनि भनेको थिएँ कि यदि प्रदेशको नाम र राजधानी पारित गर्न असफल भयौँ भने असफलता त सबैको हुन्थ्यो । म त्यही दिन सभामुख पदबाट राजीनामा दिन्थेँ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न नसकेको भए म आफू पनि असक्षम हुँ भन्ने साबित हुन्थ्यो । मैले नामकरण र राजधानीको लागि गोप्य मतदान हुनु करिब दुई दिन अघिसम्म आफ्नो ८० प्रतिशत घरायसी सामग्री सरकारी निवासबाट सारिसकेको थिएँ ।

तपाईंले कसरी प्रदेशको नामकरणका लागि दुई तिहाइभन्दा बढी प्रदेशसभा सदस्यलाई विश्वासमा लिनुभयो ?

सही कुरा के हो भने संसदमा भएका दलहरु संघीयतामा एकदमै इमानदार छन् । सबै दलका नेता र माननीयहरु संघीयता आवश्यक छ र संघीयता प्रति गम्भीर पनि छन् । सबै माननीयले संघीयताको जननी हामी नै हो, यही प्रदेश हो भनेर आत्मसात् गरेका छन् ।

सबै दलका नेताहरुले मधेस प्रदेश हुनुपर्छ भनेर चाहना राखेका थिए । यस्तो हुनुको कारण के छ भने यस क्षेत्रका मधेसी नेताहरु दलको आन्तरिक निर्वाचनमा खुला कोटामा जित्न त परै जावस्, उम्मेदवारी पनि दिन सकेनन् । जस्तै, काँग्रेसको महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्री सम्म भयो तर खुला केन्द्रीय सदस्यमा यस प्रदेशबाट दुई जना पहाडी समुदायकै नेताहरु आए । जसले गर्दा मधेसप्रति आकर्षण पनि बढेकै छ । यसैकारण पनि काँग्रेस, एमाले, माओवादी लगायतका दलका नेताले मधेस प्रदेश नै हुनुपर्छ भनेर चाहना राखे ।

मधेस प्रदेश हरेक दलका कारण नामकरण भएको हो र यसको श्रेय मधेसवादी दल मात्रलाई होइन, सबै दललाई जान्छ ।

प्रदेशको नामकरणको सवालमा त तपाईं मधेस प्रदेशकै पक्षधर हुनुहुन्थ्यो भन्ने प्रस्ट भयो, तर प्रदेशको राजधानीको सवालमा तपाईं कतातिर हुनुहुन्थ्यो ?

प्रदेश नामकरण र स्थायी राजधानीको सवालमा म तटस्थ नै थिएँ । तर यस पटक जसरी पनि प्रदेशको नाम तोक्ने उद्देश्य सफल भएको छ । प्रदेशको स्थायी राजधानी जहाँसुकै भए पनि हुन्थ्यो । मैले कुनै खास ठाउँलाई राजधानी बनाउँ भनेर कसैलाई कुनै किसिमको दबाब वा कुनै किसिमको सल्लाह, सुझाव दिएको थिइनँ । तर मेरो उदेश्य के थियो भने मेरै पालामा नामकरण र राजधानी हुनुपर्छ भन्ने ध्येय थियो र भयो पनि ।

स्थायी राजधानी तोक्ने सवालमा पनि यदि समयमै निर्णय नगरेको भए यसले ठुलो रुप लिने थियो । किनभने प्रदेशको नामभन्दा पनि स्थायी राजधानीका लागि सर्लाही, रौतहट, बारा र पर्साका करिब ४० जना प्रदेश सांसद रौतहटको चन्द्रपुरस्थित एक होटलमा एकत्रित भएका थिए । जनकपुरधामलाई राजधानी बनाउनु हुँदैन भनेर एकमत भएका थिए । तर मैले त्यसो हुन दिइनँ किनभने पश्चिम–पूर्व भनेर छुट्याएको भए भोलिका दिनमा संघीयता पनि कमजोर हुन्थ्यो र चार चार जिल्ला अलग अलग बाँडिएको अवस्थामा भविष्यमा ठुलो द्वन्द्व निम्तिने अवस्था सिर्जना हुन्थ्यो । त्यो रोक्न सफल भएको हुँ ।

र, अर्को कुरा के भयो भने दलहरुले ह्वीप जारी नगर्ने, बरु गोप्य मतदान गर्ने भन्ने कुरा प्रदेश सांसदहरुले गरे । मैले सोही सल्लाह अनुसार कार्य गरेको हुँ । त्यसैले परिणाम राम्रो र सकारात्मक आएको हो ।

प्रदेशसभाको नयाँ अभ्यास छ, तर प्रदेशसभाले जुन गतिशीलता साथ जनताका समस्या उठाउनु पर्ने हो, त्यसमा त चुकेको छ नि ?

हेर्नुस्, त्यो कुरा प्रदेशसभाले होइन, प्रदेश सरकारले जनताका काम कारवाही गर्ने हुन् । प्रदेशसभाले कानुन बनाउने हो र कानुनको कार्यान्वयन गर्ने कार्य सरकारको रहेकाले यसप्रति सरकार गम्भीर हुनुपर्छ । हामीले प्रदेशसभाबाट गर्नुपर्ने कामहरु, सरकारका सामु आएका विभिन्न जटिल समस्याहरु समाधान समेत गरेकै हौँ ।

तर प्रदेशसभा अन्तर्गतका विभिन्न समितिले गर्नुपर्ने काम कारवाहीहरु हुन सकेको छैन । त्यो काम समितिको सभापतिले गर्नुपर्ने हो । जस्तै, कोरोना संक्रमणकालमा भएका विभिन्न कमी कमजोरी केलाउने र हाउसमा ल्याउने । त्यसपछि मैले आफ्नो भूमिका खेल्ने हो । तर समितिका सभापति बनेकाहरु आफ्नै काममा व्यस्त भए ।

तपाईं पनि विभिन्न विषयमा विवादमा तानिनु भएको छ, तपाईंले सरकारसँग आफ्नो नाममा योजना नै माग्ने काम गर्नु भएको भनिन्छ, कुरा के हो ?

सभामुख नामको योजना आउनु गलत हो तर म पनि जनताबाट निर्वाचित भएर आएको हुँ । म सभामुख भएपछि मेरो निर्वाचन क्षेत्रका जनताले विकास निर्माणका कार्यबाट वञ्चित हुनु पर्ने त होइन होला । मैले मुख्यमन्त्रीलाई भनेँ कि मेरो निर्वाचन क्षेत्रका जनताका लागि विकास निर्माणका काम दिनुस् । त्यो कुरामा मुख्यमन्त्रीजीले सभामुख परियोजना नै सञ्चालन गरिदिनु भयो, जुन हुनुपर्ने थिएन । जनताको अपेक्षा पूरा त हुनुप¥यो भनेर सो निर्वाचन क्षेत्रमा काम दिन सल्लाह गरेकै हो तर मुख्यमन्त्रीले ३ करोड रुपैयाँको योजना नै प्रदेशसभामा पठाइदिनुभयो । मैले सो रकम बारास्थित भौतिक कार्यालयमा पठाइदिएँ ।

संघीय संसदमा अल्झिएका कानुनमाथि बहस गर्ने, कानुन बनाउने लगायतका काम गरेर विवादित बन्नुभएको, संघीय संसदको क्षेत्राधिकार मिच्ने काम गरेको आरोप पनि तपाईंमाथि लाग्ने गरेको छ नि ?

प्रदेशसभालाई त्यति अधिकार छ । संघीय सरकारले १० वर्षसम्म कानुन नबनाएमा प्रदेश सरकारले पनि केही गर्नु हुँदैन भन्ने होइन । जस्तै यस प्रदेशमा चार वर्षसम्म अनेकन चोरी, डकैतीलगायतका विभिन्न आपराधिक घटना भए तर त्यो घटनालाई प्रदेश सरकारले हेर्ने होइन नि । यहाँ विभिन्न घटना घट्दा हाउसमा प्रदेश संसदहरुले आवाज उठाए र हामी निरीह बनेर सुन्ने कार्यमात्र गर्ने होइन नि !

संघमा पनि सात वटै मुख्यमन्त्रीले आवाज उठाएकै हो । तर पनि प्रधानमन्त्रीले नसुनेपछि प्रदेशसभाबाट कानुन बनाएको हो । नागरिकताको सवालमा यस प्रदेशबाट सुझाव दिने काम भएको हो । यो अधिकार सभालाई छ । यो कानुन विपरीत कार्य होइन । यस प्रदेशमा जन्मसिद्धका सन्तानलाई नागरिकताको समस्या छ । यस प्रदेशमा धेरै नागरिकताविहीन छन् । त्यसैले यसमा हाउस गम्भीर हुनु स्वाभाविक हो । आमा बुबालाई सरकारले नागरिकता दिने तर सन्तानलाई देश विहीन बनाउन मिल्दैन नि ।

तर हाउसबाट बनेका कानुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन, किन होला ?

तपाईंले धेरै ठुलो कुरा भन्नु भयो । त्यसले मलाई धेरै दुःख र कठिनाई भइरहेको हुन्छ । यसभन्दा राम्रो त मलाई प्रतिनिधिसभामै ठिक थियो । यसलाई ठगी गर्ने संघीयता बनाइदिएको छ ।

सातवटै प्रदेशका र केन्द्रका सभामुखको बैठक हुँदा मैले भनेको थिएँ कि कमसे कम प्रदेश पालिकाबाट सरकार बनाउनुस् । किनभने अहिले गाउँपालिका सानो पालिका, नगरपालिका अति ठुलो पालिका, यसभन्दा ठुलो उपमहानगरपालिका, यसभन्दा ठुलो महानगरपालिका र प्रदेश सरकार सबै भन्दा ठुलो प्रदेशपालिकाबाट प्रदेश सरकार बनाउनुस् भनेर मैले भनेको थिएँ । यसलाई ईमानदारी रुपमा समायोजन गरिदिएको भए हुन्थ्यो नि बरु ।

यस प्रदेशमा कुनै पनि किसिमको घटना हुन्छ भने मुख्यमन्त्रीको आलोचना हुन्छ । तर यहाँ शान्ति सुरक्षालगायतका हरेक चिज संघीय सरकारको मातहतमा छ । प्रदेश सरकारसँग त केही छैन । सीके राउतले एकाएक राष्ट्रियसभाको निर्वाचनका दिनमा आन्दोलन गर्यो । यसबारे प्रदेश सरकार बेखबर थियो । केन्द्र सरकार मातहत रहेका प्रहरी प्रशासनलाई त थाहा थियो । तर पनि प्रदेश सांसद र नगरप्रमुख लगायतकाहरुको गाडी तोडफोड भयो । यसको जिम्मेवारी कसले लिने हो ? यहाँ त प्रदेश सरकारलाई अन्योलमा राख्ने कार्य संघीय सरकारले गरेकै हो नि !

प्रदेश प्रहरी विधेयक र मदरसा विधेयक विवादित रह्यो । यस्ता विवादित विधेयकलाई किन ल्याउनु भयो ?

मदरसा विधेयक मुस्लिम बालबालिकाले अध्ययन अध्यापन गर्ने शिक्षा र कोर्षहरुलाई मान्यता दिनका लागि ल्याइएको हो । तर मदरसा ऐनको अध्ययन नै नगरी विरोध भयो र सरकारले अहिलेसम्म पनि हाउसमा ल्याएन । जबकि मदरसा ऐनले मुस्लिम शिक्षालाई मान्यता दिन्थ्यो र मुस्लिम समुदायका छोराछोरीले अध्ययन गरेको शिक्षाले समेत मान्यता पाउँथ्यो । यो ऐन पास भएको भए सबै मदरसाको शिक्षा कोर्षले एकरुपता पाउँथे र सरकारबाट मान्यता समेत पाउँथे । तर यस सम्बन्धमा अनेकन अफवाह फैलाइयो । मुख्यमन्त्री मुस्लिम भएकै कारण मदरसा विधेयक ल्याएर आतंकवादी गतिविधि बढाउन लागेको भनेर भ्रामक हल्ला र अफवाह फैलाउने कार्य भयो । जुन सरासर गलत  हो । म मुख्यमन्त्री भएको भए मैले सबैभन्दा पहिला यो ऐन नै पारित गर्थेँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार