काठमाण्डौंः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको संसदीय अनुमोदनवारे दुई ठूला वामपन्थी पार्टीका अध्यक्षहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीको विषयलाई लिएर भएको फोनवार्ताबारे आरोप चलेको हो ।
आज बिहानै एमाले नेता विष्णु रिजालले ओली र प्रचण्डबीच फोनमा भएका कुराकानी सार्वजनिक गरेका थिए । अमेरिकी सहायक बिदेशमन्त्री डोनाल्ड लुसङ्गको कुरा टुङ्ग्याएपछि प्रचण्डले ओलीलाई फोन गरेर एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको उनले फेसबुकमा लेखेका थिए । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’, प्रचण्डले ओलीलाई फोनमा भनेको कुरा उधृत गर्दै उनले लेखेका थिए ।
रिजालले एमसीसीबारे एमाले प्रष्ट रहेको र सरकारले निर्णय नगरी एमालेले धारणा नबनाउने जवाफ दिइएको बताएका थिए । प्रचण्डलाई ओलीले ‘पहिले आफूले निर्णय गर्नुस्; नेकपा (एमाले) ले त निर्णय गरिहाल्छ’ भनेको रिजालको भनाइ थियो ।
रिजालमार्फत ओलीले फोनवार्ताका कुरा बाहिर ल्याएपछि प्रचण्डको सचिवालयले जवाफ फर्काएको छ । स्वकीय सचिव रमेश मल्लले पनि सामाजिक सञ्जालबाटै एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष ओली गैरजिम्मेवार बनेको बताएका छन् । हिजो साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओलीले गैरजिम्मेवार जवाफ दिएको उनले लेखेका छन् ।
‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन,यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं ।
देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचनपछि लैजाने कुरा गरौं भन्नुभएको हो’, मल्लले आज दिउँसो फेसबुकमार्फत बताएका छन् ।
तर, एमाले अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउँदै उनले भ्रममा नपर्न भनेका छन् । ‘उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर गैर साँसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, मल्लले भनेका छन् ।
त्यसअघि ओलीले प्रचण्डलाई फर्काएको जवाफ भन्दै रिजालले लेखेका थिए, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर कागज नै गर्नुभएको रहेछ,”ओलीको भनाइ उद्धृत गर्दै रिजालले लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् । नेकपा (एमाले) ले त निर्णय गरिहाल्छ ।’ -जनआस्थाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया