काठमाडौंः सरकारले आसन्न संसद् बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल गरे सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा स्पष्ट पारेका छन् ।
शनिबार भएको प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सहभागी हुनुअघि विशेष कुराकानीमा माओवादी अध्यक्ष दाहालले भनेका छन्, ‘परिमार्जन र संशोधनबिना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ ।’
सरकारले परिमार्जनबिनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्दै दाहालले भने, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीले चाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिक रूपले मिल्दैन ।’
दाहालले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको तर एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने पनि स्पष्ट पारे । उनले भने, ‘मैले इमानदारितासाथ के भन्नुपर्छ रु भने विभिन्न शक्ति, राजनीतिक दल र प्रवृत्ति जसरी आआफ्नो इन्ट्रेस्टअनुसार चल्न खोजिराखेको स्थिति छ, ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।’
एमसीसीका नाममा दबाब दिएर नेपालीहरूको मन नदुखाउन दाहालले अमेरिकी अधिकारीहरूलाई सुझावसमेत दिएका छन् । उनले भने, ‘अमेरिकी अधिकारीहरूले भन्न थालिसक्नुभयो कि तपाईंहरूले यदि यसलाई गर्नुभएन भने चीनको प्रभावमा परेर नगरेको ठान्छौं र हामी यसलाई गम्भीर रूपले लिन्छौं भनिदिएपछि त हामी नेपाली पनि गम्भीर हुनुपर्ने स्थिति त बन्यो नि त ।’
उनले अगाडि भने, ‘अमेरिकाले संवेदनशील भएर नेपालका राजनीतिक पार्टीहरू र मुख्यतः नेपाली जनताको मन जित्ने ढंगले प्रस्तुत हुनुपर्ने हो । हिजोआज जसरी भाषाहरू आइराखेका छन्, अमेरिकाजस्तो शक्तिले त्यसो भन्नुचाहिँ उचित होइन भन्ने सुझाव मेरो रहन्छ ।’राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया