असार २, २०८३ मंगलबार June 16, 2026

जुठो खानेबीचको सम्बन्ध – डा. सुभाष पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सानोभन्दा ठूलो परिवारमा हुर्किएका बालबालिका विविध हिसाबले फरक हुन्छ। धेरै जनाले बोलाइरहने हुँदा ठूलो परिवारमा बढेका बच्चाको बोली छिटो फुट्छ।

धेरै मानिसका बीचमा हुर्कँदा सामना गर्नुपर्ने पृथक विचार अनि पारिवारिक द्वन्द्वले सिकाएको पाठ युवावस्थामा लाभप्रद् हुन्छ। पछि ठूलो जमात अनि विपरित सोच भएका समूहसँग सामना गर्न सक्ने सामथ्र्य विकास हुन्छ। विस्तारित कुल र सानो परिवारमा हुर्किएका बच्चाले सामना गर्ने परिवेश अनि वातावरण फरक हुने भएकाले दुवै समूहका बालकले बेहोर्ने चुनौती र अवसर पृथक हुन्छन्। दुवै जमातका आआफ्नै प्रकृतिका सबल र दुर्बल पक्ष भएकाले कुन परिवेशमा हुर्किएका बच्चा भविष्यमा बढी सफल हुन्छ भनी ठोकुवा गर्न सक्ने अवस्था छैन।

ठूलो परिवारमा बढेको बालकले हुर्कने क्रममा आफ्नो बुबा/आमामात्र होइन, हजुरबुबा, हजुरआमा, काका, काकी, दाजुभाइ, दिदी/बहिनीलगायत विस्तारित परिवार सदस्यहरूको जुठो खान पुग्छ। अर्कोतिर सानो परिवारमा बढेका बच्चाले ‘प्लेट सेयर’ गर्ने समूह सानो हुन्छ, बा/आमा अनि दाजुभाइ वा दिदीबहिनीसँग मात्र खाना खान्छ उसले।

सामान्यरूपले हेर्दा विस्तारित परिवारमा खाना साझेदारी गरेर हुर्किएको बच्चा र कसैको पनि जुठो नखाइ बढेको बालकबीच सामाजिक हिसाबले ठूलो फरक हुनुपर्ने होइन। तर, अनुसन्धानले फरक परिणाम दिएको छ। गत महिना संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालय र म्यासाच्युसेट्स इन्स्टिच्युट अफ् टेक्नोलोजी (एमआइटी) का अनुसन्धानकर्ताको संयुक्त टोलीले जुठो खाना र सामाजिक मनोविज्ञान (सोसियल साइकोलोजी) बीच अनौठो अन्तर्संबन्ध प्रस्तुत गरेका छन्।

अनुसन्धानकर्ता एस्ली थोमस नेतृत्वको उक्त अनुसन्धानात्मक नतिजा गत महिना जर्नल ‘साइन्स’ मा प्रकाशित भएको छ। सामाजिक मनोविज्ञान विश्वव्यापी विषय भएकाले अमेरिकी जनतालाई केन्द्रमा राखी गरिएको उक्त अध्ययन संसारका सबै नागरिकका लागि सत्य सावित हुनेमा अन्वेषणकर्ता विश्वस्त देखिए।

आफू भन्दा ठूलाको जुठो खाना खाने मान्यता भएको नेपाली परिवेशमा यो अन्वेषण सान्दर्भिक देखियो। साथै, यो आलेखको उद्देश्य प्रकाशित अनुसन्धानात्मक नतिजालाई पाठकसामु पस्कनुमात्र भएको अनि जुठो खानाको वकालत पंक्तिकारको धारणा नभएकोसमेत जानकारी गराउँछु।

मानिसले जुठो खान कहिलेबाट प्रारम्भ गर्छ? एउटै थालमा खाना खानेबीचको सम्बन्ध के अन्य पक्षको भन्दा प्रगाढ हुन्छ? एउटै थालमा खाने अनि एउटै खेलौना खेल्नेबीचको विश्वासको तह एकै हुन्छ? चारैतिर बसेर एउटै थालबाट भात खाने र जुठो नखाने दाजुभाइदिदीबहिनीबीच विश्वास र सम्बन्ध समान हुन्छ त? के स्कुले जीवनमा जुठो खाने साथीको घनिष्ठता जीवनको उत्तराद्र्धमा अन्य समूहको भन्दा मजबुत हुन्छ? लगायतका प्रश्नको उत्तर दिने प्रयत्न गरेको छ उल्लिखित अनुसन्धानले।

जनावरमा गरिएको अन्वेषणले जुठो खाने चलन विकासको क्रमसँगै आएको देखिन्छ। चराले आफ्नो मुखको चुच्चोमा ल्याएको खाना आफ्नो बच्चालाई ख्वाउनुलाई उदाहरणका रूपमा लिन सकिन्छ। धेरै जीवमा गरिएको अध्ययन अनि तिनको उत्पत्तिको क्रमबद्ध विकासले जुठो खाने संस्कार र सुमधुर सम्बन्धबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ।

हार्वर्ड विश्वविद्यालय प्रेसले सन् २००३ प्रकाशित गरेको ‘एनिमल सोसियल कम्प्लेक्सिटी’ पुस्तकमा प्रकाशित एक अनुसन्धानमा बाँदरको बच्चाले दुःख परेको बखत आफूले जुठो खाएकी आमाको मद्दत माग्छ भन्छ, अन्यको मुख ताक्दैन उसले। अथवा जुठो खानेका बीच अनौठो विश्वासको सम्बन्ध जनावरमा समेत देखिएको छ।

क्रमिक विकासको सिद्धान्त अध्ययनले आमाले बच्चालाई आफ्नो जुठो ख्वाउनुलाई प्रारम्भिककालदेखि नै चलिआएको संस्कार भन्छ। विवाहपछि जुठो ख्वाउने चलन धेरै सभ्यतामा देखिनुलाई जोइपोइबीचको सम्बन्धको मजबुतीकरण मानिन्छ। त्यस्तै पास्नीपछि बच्चालाई ख्वाएको खाना सबैले खाने प्रचलनलाई पनि त्यसैरूपमा लिन सकिन्छ।

अफ्रिकी मुलुक केन्याको केही समुदायमा पाहुनालाई खाना पस्किएपछि घरमुलीले सबैको भागबाट खाएपछिमात्र भोजको रित सुरु हुन्छ। उल्लिखित घटनाक्रमले जुठो खाने चलन संसारका सबै समूह तथा समुदायमा स्थापित देखियो। अब, थाल साझेदारीको अभ्यासले सामाजिक सम्बन्धलाई कसरी निर्देशित गर्छ त? भन्ने प्रश्नको उत्तर खोज्न डा. एस्ली थोमसको अध्ययनले कसरी मद्दत गर्‍यो भन्ने हेरौँ।

उल्लिखित अन्वेषणमा अनुसन्धानकर्ताले विभिन्न उमेर समूहलाई केन्द्रमा राखी ‘सलाइभा सेयरिङ’ (र्‍याल साझेदारी) र सम्बन्धको गाढापनबीचको तालमेल स्थापित गर्ने कोसिस गरे।

अन्वेषणका क्रममा केबल ८ देखि १८ महिना समूहका बच्चाले समेत आफूलाई दुःख पर्दा आफूले जुठो खाएको बच्चाको सहायता खोजेको देखियो। सँगै खेल्ने गरेको तर जुठो नखाएको भन्दा आफूले एउटै थालमा भात खाएको साथी समस्या पर्दाको भरपर्दो सहयोगी हुन्छ भन्ने ज्ञान बच्चामा जन्मजात गुण भएको ठान्छन् अनुसन्धानकर्ताहरू। बच्चाले जुठो खाएको संगीलाई भरोसा गर्नुमा सामाजिक मनोविज्ञानको भूमिका ठान्छन् उनीहरू।

सानै उमेरमा कोसँग सहयोगको आशा गर्ने भन्ने पत्ता लगाए पनि हुर्किएपछि बच्चाको घारणा कसरी फेरिन्छ भन्ने पत्ता लगाउन उक्त समूहले ५ देखि ७ वर्ष समूहलाई अध्ययनको केन्द्रमा राख्यो। उक्त उमेर समूहले जुठो र एकाघरका सदस्यबीचको अन्तर्संबन्धसमेत स्थापित गर्‍यो।

एउटै प्लेटमा खाने एकाघरका नातेदार विश्वास गर्न सकिने समूह हुन् भन्ने ठान्ने गरेको देखायो अध्ययनले। अनि सँगै खेल खेल्ने भने जो पनि हुन सक्ने प्रष्ट सोच देखियो केबल ७ वर्षको बच्चामा। सँगै खेल्ने व्यक्ति भन्दा एकै भाँडामा खानेलाई भरोसायोग्य देख्यो केबल ७ वर्षको बच्चाले। अब बच्चाले नाता र सहयोगी कसरी पत्ता लगाउँछ त?

व्यस्त कार्यतालिकामा रहने आमा भन्दा दैनिकरूपले हेरचाह गर्ने धाइआमाको सामीप्यमा बच्चा अधिक बस्नु स्वाभाविक हो। अध्ययनका क्रममा समस्या परेका बखत बालकले सधैँ देखिरहने धाइआमा भन्दा आफ्नी आमालाई खोजेको देखियो। अहोरात्र हेरचाहमा खटिने ‘न्यानी’ लाई बच्चाले आशाका साथ हेर्नुपर्नेमा यदाकदा भेट्ने आमालाई किन अधिक पत्यायो भन्ने कुराले अनुसन्धानकर्तालाई चकित तुल्यायो।

पछि, खोतल्दै जाँदा ‘सलाइभा सेयरिङ’ का कारण बच्चाले आमालाई भरोसा गरेको पाइयो। लामो समय सँगै व्यतीत गरे पनि एकै प्लेटमा खाना नखाएका कारण बच्चाले धाइआमालाई कम आँकेको ठहर भयो। यद्यपि बच्चाले कसरी ‘सलाइभा सेयरिङ’ पत्ता लगाउँछ अनि त्यसका पछि कुनै बायोलोजिकल कारण पनि छ कि भन्ने कुराको उत्तर दिन भने उक्त अनुसन्धान सफल भएको देखिन्न।

एउटै प्लेटमा खाना खाने एकाघरको सदस्य भएमात्र विश्वासको सबलीकरण हुन्छ कि जुठो खानाले गैरनातेदारबीचको सम्बन्धलाई समेत मजबुत बनाउँछ भन्ने प्रश्नको समेत जवाफ दिएको छ अन्वेषणले। प्रेम सम्बन्ध र घनिष्ट मित्रताले एकै थालमा खान उक्साउने अनि ‘सलाइभा सेयरिङ’ ले विश्वासलाई अझ खँदिलो बनाउँछ भन्छन् अनुसन्धानकर्ताहरू।

त्यस्तै ‘आइस्क्रिम कोन’ सेयर गर्ने साथीबीचको मित्रता लामो समयसम्म कायम रहने देखियो। त्यस्तै विवाहपछि जोइपोइले एकै थालमा खाँदा सम्बन्ध अझ गाढा हुने देखियो। जुठो खाने समूह जति ठूलो भयो समस्या परेका बखत व्यक्तिले सहयोगको योजना गर्ने समूह पनि बृहत् हुने भएकाले हजुरआमा/बुबासँग हुर्किएको बच्चाले भविष्यमा आफूलाई बढी सुरक्षित महसुस गर्छ भन्ने एक पक्षको तर्क देखियो। ठूलो परिवारमा हुर्कँदा धेरै ‘सिब्लिङ’ सँगको सामीप्यताले पछिल्ला चुनौतीपूर्ण समयमा भरोसा दिने देखियो।

डा. एस्ली थोमसलगायतका अनुसन्धानकर्ताको समूहले अमेरिकी बच्चालाई केन्द्रमा राखी गरेको अनुसन्धानले जुठो खान्कीको साझेदारीले सम्बन्धलाई घनिष्ठ बनाउने भन्छ। बालकमा देखिएको नतिजा वयस्कको हकमा ठीक होइन भनेको छैन अध्ययनले।

त्यसैले उल्लिखित निष्कर्षलाई सर्वव्यापी परिणाम मान्नुपर्ने हुन्छ। ‘सोसियल साइकोलोजी’ प्रादेशिक परिवेश नभएर भूमण्डलीय सिद्धान्त भएकाले अमेरिकी अध्ययन अन्य देशका नागरिकमा समेत शाश्वत हुन्छ। ‘सलाइभा सेयरिङ’ का कारण परिवारका सदस्यबीच गाढा सम्बन्ध स्थापित हुने भएकाले रोगका कारण वर्जित भएबाहेकका अवस्थामा एकै भाँडामा खानु लाभदायक देखियो। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार