असार २५, २०८२ बुधबार July 9, 2025

जनउत्तरदायी नेतृत्वको अपेक्षा – शान्तिकृष्ण अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल परापूर्वकालदेखि नै यस्तो मुलुक हो, जहाँ मान्छेभन्दा धेरै देवताको बसोवास थियो । त्यसैले नै होला, हिन्दुका तेत्तीस कोटी देवता छन् भनिएको । अहिले पनि नेपालमा हेर्ने हो भने मानिस बस्ने घरको सङ्ख्याभन्दा निकै बढी मन्दिर पाइन्छन् । थरैपिच्छेका कुलदेवताका मन्दिर छन् । जातैपिच्छेका देवता छन् । धर्मअनुसार भिन्न–भिन्न भगवान्को पूजा गरिन्छ । आइतबारदेखि शनिबारसम्मका बारैपिच्छेका अलग–अलग भगवान् र देवता छन् । ग्रह, राशी र नक्षत्रका आधारमा एउटै धर्ममा आस्था राख्नेले पनि बेग्लाबेग्लै भगवान्को पूजा गर्ने गर्छन् ।

जसरी व्यक्तिपिच्छेका भगवान् छन्, त्यसैगरी तीन करोड जनताका आआफ्नै नेता छन् । नेपाली जनताले नेतालाई यति मान्दछन् कि बरु भगवान् बिर्सन्छन् तर नेता बिर्सन सक्दैनन् । नेता पनि कति छन् भने सङ्ख्या जोड्दा कतै जनसङ्ख्याभन्दा बढी हुने त होइन भन्नेजस्तै देखिन्छ । नेपालजस्तो सानो मुलुकमा राजनीतिक पार्टी नै सयौँ छन् र प्रत्येक पार्टीका गाउँ तहसम्मका नेता छन् । बालिग भएको प्रत्येक मान्छे नेता हो भन्दा फरक नपर्ने देखिन्छ ।नेपालमा ७५३ पालिका छन् । यी पालिकालाई छ हजार ७४३ वटा वडामा विभाजित गरिएको छ । प्रत्येक वडामा वडाध्यक्ष र सदस्य रहने व्यवस्था छ । यी पदका लागि निर्वाचन हुन्छ र निर्वाचन जितेको मान्छे नेता गनिने नै भए । प्रत्येक पालिकामा अध्यक्ष, उपाध्यक्ष या नगरप्रमुख, उपप्रमुख पदका लागि निर्वाचन हुन्छ । ७७ जिल्लामा जिल्ला विकास समन्वय समिति छन् । यी समितिमा पदाधिकारीहरू निर्वाचित भएर आउने गर्छन् । यसरी निर्वाचित भएर आएका सबै जना नेता हुने नै भए ।

नेपाललाई सात प्रदेशमा विभक्त गरिएको छ । सात प्रदेशका सांसदको कुल सङ्ख्या ५५० हुन्छ । प्रत्येक प्रदेशमा मुख्यमन्त्री, मन्त्री हुन्छन् । त्यसमाथि सङ्घीय संसद्को व्यवस्था छ । सङ्घीय संसद्मा प्रत्यक्ष र समानुपातिक निर्वाचनका माध्यमबाट चुनिएर आएका २७५ जना सांसद रहन्छन् । ५९ जनाको राष्ट्रिय सभा त कहिल्यै रिक्त नहुने गरी रहेकै छ । सङ्घमा प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री निर्वाचित वा नियुक्त हुने गरेकै छन् । सांसदहरू त नेताको कोटीमा यसै पर्ने नै भए । अझ यी नेतालाई त माननीयको उपाधिसमेत दिने गरिएको छ ।

यस्ता पदमा निर्वाचित, नियुक्त वा मनोनीत त सरकारी ओहोदाप्राप्त नेता नै भए । राज्यले नै नेताको पदवी दिएको मान्नुपर्दछ । कतिपय नेतालाई राज्यले तलब, भत्ता, आवास, यातायात आदि सुविधा अर्थात् परिवारको जीवनयापनका लागि आफ्नो सम्पत्तिको कत्ति पनि अंश खर्च गर्नै नपर्ने सुविधा दिने गर्दछ । कतिपय नेतालाई भने भत्ता मात्रको सुविधा दिइएको छ । त्यसैले यी नेतालाई अधिकारप्राप्त नेता भन्दा अत्युक्ति नहोला । तर यी नेताभन्दा पनि सयौँ गुणा बढीको सङ्ख्यामा अन्य नेता नेपालमा क्रियाशील भेटिन्छन् । राष्ट्रिय पार्टी भनिने राजनीतिक दलका त देशव्यापी रूपमा वडा तहदेखि केन्द्रीय तहसम्मका संरचना छन् । नेपाली काँग्रेसले त अहिले आफ्नो सङ्गठनलाई व्यापक बनाउन टोल–टोल र गल्ली–गल्लीमा समेत एकाइ गठन गरेको छ ।

प्रत्येक एकाइमा कम्तीमा पन्ध्र र बढीमा दुई सयसम्मका सदस्य छन् । तीन सय सदस्यको केन्द्र भएका पार्टी पनि छन् र विगतमा चार हजार सदस्यको केन्द्रीय समिति गठन गरेका पार्टी पनि थिए । केन्द्र र जिल्लामा मात्रै सङ्गठन भएका पार्टी पनि क्रियाशील नै देखिन्छन् । टोल समितिदेखि केन्द्रसम्मका यी एकाइमा कार्यरत सबै व्यक्तिलाई गरिने सम्बोधन पनि नेता नै हो ।शिक्षकको आफ्नै सङ्गठन छ । पार्टीपिच्छेका शिक्षक सङ्गठन छन् । प्रत्येक सङ्गठनका विद्यालयपिच्छे, गाउँपिच्छे, जिल्लापिच्छे, प्रदेशपिच्छे र केन्द्र तहका समिति छन् । शिक्षकको मात्रै होइन, वकिलको सङ्गठन त्यस्तै छ । प्राध्यापकको, इनिजनियरको, डाक्टरको, पत्रकारको अर्थात् सबै पेसाकर्मीको सङ्घ सङ्गठन जरादेखि टुप्पासम्मका पाइन्छन् । यति मात्र होइन, निजामती कर्मचारीको समेत पार्टीपिच्छेका सङ्गठन छन् । यी सङ्गठनका पदाधिकारी तथा सदस्य पनि नेताकै पगरी भिरेका हुने नै भए ।

उद्योगीका सङ्गठन, साना व्यवसायीको सङ्गठन, औषधि उत्पादकको बेग्लै, औषधि बेच्नेको आफ्नै, कपडा उत्पादकको बेग्लै, कपडा बेच्नेको अर्कै, खाद्यान्न उत्पादकको अलग्गै अर्थात् व्यापारीपिच्छेका भिन्नभिन्न सङ्गठन भएको मुलुक नेपाल हो । किसानको एउटै सङ्गठन होइन कि देशमा जति पार्टी छन्, त्यति नै सङ्गठन, पशुपालकको त्यस्तै, कुखुरा पाल्नेको एउटा सङ्गठन, बङ्गुर पाल्नेको अर्कै सङ्गठन पाइने मुलुक नेपाल नै हो । उखु उमार्नेको छुट्टै र तोरी उत्पादन गर्नेको बेग्लै सङ्गठन बनाइएको पाइन्छ । यी सबै सङ्गठनका हर्ताकर्तालाई नेता मान्न पर्दछ नै ।

यति धेरै नेता भएको मुलुक नेपाल भने सधैँ विकासको मार्गमा पछि परेको प-यै छ । आजभोलि प्रश्न उठ्ने गरेका छन्– नेपालका विश्वविद्यालय किन कहिल्यै सुध्रिन सकेनन् ? अस्पतालका सेवा सुविधामा किन सन्तोषजनक प्रगति हुन सक्दैन ? विद्यालयको गुणस्तरमा किन सुधार हुँदैन ? सरकारी सेवा प्रवाह जहिले पनि किन परम्परागत नै हुन्छ ? कुनै पनि सेवा प्रदायक संस्थाबाट सेवाग्राही सन्तुष्ट हुने अवस्था किन कहिल्यै नआएको ? के नेपालमा आम नागरिकले सधैँ यस्तै अवस्था भोग्नुपर्ने हो ? समुन्नत नेपाल र समृद्ध नेपाली देख्ने दिन कहिले आउँछ ?

संस्कृतमा एउटा पदावली छ– ‘नश्यन्ति बहुनायका ।’ अर्थात् धेरै नेता भए भने नाश मात्रै हुन्छ । के नेपालमा त्यस्तै भएको हो त ? नत्र आआफ्ना कर्मक्षेत्रका यावत् समस्याको समाधान गर्दै सुधार र प्रगतिको मार्गमा लैजाने प्रतिबद्धता बोकेका यत्रा नेता क्रियाशील हुँदा पनि कुनै पनि क्षेत्र सन्तोष गर्न लायकका पाइन नसकिएको ? भाषण र बोली सुन्दा त नेताले मुलुकको कायापलट नै गरिदिन्छन् जस्तो अनुभूति हुने गर्दछ ।

नेपाली बृहत् शब्दकोषमा भनिएको छ– नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा, नाइके हो । त्यसैगरी नाटक, महाकाव्य आदिको प्रमुख पात्रलाई पनि नायक भनी लेखिएको छ । शब्दकोषकै अनुसार बाटो बताइदिने व्यक्ति, नायक वा मालिकलाई पनि नेता भनेर परिभाषित गरिएको छ । अर्थात् नेतृत्व गर्ने व्यक्ति नेता हो । मुलुकमा क्रियाशील यति धेरै सङ्ख्याका नेताले शब्दकोषले भनेझैँ असल बाटो देखाउने गरेको भए नेपालको अवस्था शायद यस्तो हुने थिएन होला । समाजमा नेतृत्व दिएर अगुवाको भूमिका निर्वाह गर्ने गरेको भए नेपाली जनताको आर्थिक स्थिति अर्कै हुने थियो होला । नेताको परिभाषाअनुसारको काम, कर्तव्य निर्वाह हुन नसकेकैले विश्वका मुलुकका बीचमा नेपाल विकासका दृष्टिले धेरै पछि रहनु परेको र नेपाली जनताको आर्थिक अवस्था सुध्रन नसकेको भन्न कुनै अप्ठेरो मान्नुपर्ने देखिँदैन ।

बरु नेताहरू शब्दकोषमा भनिएको नाटक, महाकाव्यको नायकजस्ता मात्रै भए कि भन्ने लाग्न सक्दछ । कतिपय नेताका व्यवहार र आचरण हेर्दा मालिकका रूपमा परिवर्तित हुँदै गएको आभाष मिल्दछ । असल बाटो देखाउनुको सट्टा खराब बाटो देखाउँदै हिँड्ने नेताहरूको सङ्ख्या बढी भएर असल नेताहरू पछि पर्दै गएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ । मुलुक र जनताको अवस्थाले कि त नेताको परिवर्तन खोज्न थालेको छ कि त नेताको व्यवहारमा परिवर्तन । तेत्तीस कोटी देवता त दिए खान्छन् नत्र चुप लागेर बस्दछन् । पूजा गर्न आउने भक्तले चढाएको प्रसाद पनि खाँदैनन् र भक्तलाई नै फिर्ता दिन्छन् । नेता त त्यसैगरी नखाई बस्न सक्दैनन् । जनताले तिरेको राजस्वबाट नेताको जीवन चल्दछ । त्यसैले नेताहरू अब जिम्मेवार बन्नैपर्छ । देश र जनताप्रति उत्तरदायी हुनैपर्छ । आफ्नै स्वार्थ, आफ्नै पार्टीको मात्र हित हेर्ने नेता होइन कि नेपाल हेर्ने नेता मुलुकले खोजेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार