कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

“वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरवको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेबियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, सुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ ”, कार्यकारी अध्यक्ष अधिकारीले भन्नुभयो ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहे पनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको पहल एवम् निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको हो । उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए ।

एकतर्फी ३७ हजार भाडा

रियाद गन्तव्यका लागि एकतर्फी भाडा दर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडा दर कायम गरिएको बताउनुभयो ।

निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्ने गरी ‘स्लट’ पाएको छ । उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उहाँले जानकारी दिनुभयो । “हामीले वाइडबडी जहाजबाटै उडानका लागि मागेका हौँ, अहिलेलाई न्यारोबडीबाटै उडान हुन्छ, पछि पुनः वाइडबडी जहाजबाटै नियमित उडान गर्छौँ”,उहाँले भन्नुभयो ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडा दर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कँदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।

आठ देशका १० गन्तव्यमा उडान विस्तार

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ ।

निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो  अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक  भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो ।

व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ जियो  ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीहरूको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको  जिकिर थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार