काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उहाँले दक्ष जनशक्ति उत्पादन गरी मुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताउनुभयो ।
विश्वविद्यालयका सह–कुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताउनुभयो । “माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिण गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनःसंरचनामा जोड दिएको छ ।”
उहाँले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो । शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयको पुनःसंरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राख्नुभयो । यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उहाँको भनाइ छ ।
दीक्षान्त समारोहमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता एवं बाल श्रमिकविरुद्ध विश्वव्यापी अभियानका अध्यक्ष कैलाश सत्यार्थीले शिक्षा नै विकासको मुख्य आधार भएको बताउनुभयो । उहाँले आफूले भारतीय कोठीमा बेचिएका युवती, बालबालिकाको उद्धारमा लामो समय खर्चिएको र थुपै्र सङ्घर्ष भोग्नुपरेको अनुभव सुनाउनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयका छवटा भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको, सात वटा बहुवर्षीय परियोजना सुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालु आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रूपमा कार्यसम्पादन भइरहेको बताउनुभयो ।
शिक्षामन्त्री पौडेल, नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी र उपकुलपति सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्राप्त विद्यार्थीलाई दीक्षित गर्नुभयो । दीक्षित हुने ५१९ विद्यार्थीमध्ये कुलपति पदक नौ, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्णपदक पाँच जनालाई प्रदान गरिएको थियो । समारोहमा सम्बन्धित सङ्कायका डिनहरुले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि प्रमाणपत्र पाउने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया