श्रावण ८, २०८२ बिहिबार July 24, 2025

सरकारी पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्म गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताउनुभयो । “राष्ट्रिय–पञ्चाङ्गलाई मोबाइल एप्लिकेसन बनाएर हत्केलामा पु¥याउनुपर्छ, प्रविधिसँग जोडियो भने यो विधा सर्वस्वीकृत हुन्छ, प्रत्येक दिन हुने सूर्योदय र सूर्यास्तको गणना गर्ने ज्योतिष शास्त्रीय विधि विज्ञानसम्मत छ, सबै धर्मावलम्बीका लागि ग्रह गणना गर्ने विधि एकै हो”, उहाँले भन्नुभयो ।

सहकारी, संस्थागत विद्यालयलगायत विभिन्न सङ्घसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्ने कामको जिम्मेवारी पनि समितिलाई दिएको सचिव न्यौपानेले सुनाउनुभयो ।

भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रोमात्र प्रयोग गर्न पनि उहाँले आम मानिसमा आह्वान गर्नुभयो । यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।

अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषीको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिनुभयो ।

धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताउनुभयो । सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उहाँको भनाइ थियो ।

पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गर्नुभयो । आफ्नो नौवर्षे कार्यकालमा मन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक भन्दा पनि कार्यान्वयन नभएको विषयले अहिले साकार रूप लिँदा खुसी लागेको उहाँको भनाइ थियो ।

समितिका सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले कर्मकाण्ड, ज्योतिष र पुराण वाचनलाई व्यवस्थित गर्न मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । धर्म, संस्कृतिका विषयमा विश्वलाई बाटो देखाउने काम नेपालको भएकाले त्यसअनुरूप नेपालले पहिले काम गरेर देखाउनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिषशास्त्र विभागका प्रा डा माधवप्रसाद पाण्डेयले सरकारले पञ्चाङ्ग प्रकाशन गरेको आजको दिन ऐतिहासिक बनेको उल्लेख गर्नुहुँदै पात्रोमा प्रयोग भएको ग्रहगति र आकाशीय ग्रहगतिका विषयमा अध्ययन अनुसन्धानको व्यवस्था गर्न माग गर्नुभयो । समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले व्यक्तिगत तवरबाट प्रकाशन भएको पात्रोका आधारमा राज्यले काम गर्नुपर्ने समयको अन्त्य भएको बताउनुभयो । आर्थिक स्रोतको व्यवस्थापनकै कारण पात्रो प्रकाशन गरी सार्वजनिक गर्न ढिलाइ भएको उहाँले सुनाउनुभयो ।

विसं २०२५ मा स्थापना भएको समितिको गठन आदेश गत वर्ष स्वीकृत भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको सुनाउनुभयो । देशभर ५० देखि ७० हजार भित्तेपात्रो प्रकाशन गर्न ठूलो धनराशि खर्च हुने उल्लेख गर्दै उहाँले यसलाई समितिले व्यवस्थित गर्न लागिपरेको बताउनुभयो ।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले समितिले धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नुपर्ने बताउनुभयो । महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले समितिको गठन आदेश जारी हुनुअघि ११ सदस्यीय समिति रहेकामा हाल घटाएर सात जनामा सीमित गरिनु उपयुक्त नभएको बताउनुभयो ।

समितिमा जनजातिको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको माग छ । नेवारी समुदायले मनाउने चाडपर्वका नाम र भाषामा अशुद्धी भएको गुनासो पनि उहाँले गर्नुभयो ।

कार्यक्रममा समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले विश्वकै अग्लो देश नेपालमा सबै आकाशीय ग्रहको अध्ययन अनुसन्धानका लागि ठूलो वेदशाला निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

बजारमा निस्कने अन्य पात्रोभन्दा ठूलो आकारको, अक्षर ठूला भएको यो पात्रो हेर्न सहज हुनेछ । आकर्षक कागजमा ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत रु १५० र संस्थागत रु ५०० तोकिएको छ । पञ्चाङ्गको सम्पादक मण्डलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, मन्त्रालयका संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं, कार्यकारी निर्देशक ज्योतिष पण्डित ढुङ्गेल र उपप्राध्यापक डा पुरुषोत्तम भट्टराई रहनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार