असार २५, २०८२ बुधबार July 9, 2025

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइरालाले) राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नुभएको थियो ।

छलफलमा भाग लिनुहुँदै सांसदहरुले सरकारलाई परामर्श गर्न मुलुकमा धेरै  प्रतिष्ठानहरू स्थापना भए पनि ती संस्थाको सुझाव र निर्देशनको  व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै नीति अनुसन्धान प्रतिष्ठानले दिएका सुझावहरू कार्यान्वयन हुनेमा आशङ्का प्रकट गर्नुभएको थियो ।

जवाफमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइरालाले) नीति अनुसन्धान प्रतिष्ठान सरकारको नीति अनुसन्धानसँग सम्बन्धित प्रतिष्ठान भएकोले अन्य सङ्घ संस्था र प्रतिष्ठानभन्दा फरक भएको बताउनुभयो ।

बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्नुभएको थियो ।

बैठकमा सांसद झपटबहादुर रावलले गणपुर सङ्ख्या नपुगेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । ततपश्चात् सभामुख सापकोटाले गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।

यसअघि विशेष समयमा बोल्दै सामुदायिक विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने बेलासम्म पनि पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो  ।

सांसद योगेश भट्टराईले अझै पनि कतिपय विद्यालयमा कक्षा ६ र ८ का पाठ्यपुस्तक पुग्न नसकेको भन्दै नपुगेका विद्यालयमा अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुष्पा भुसाल (गौतम) र रेखा शर्माले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो  ।

सांसद द्वय भुसाल र शर्माले विगतका निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको  प्रतिनिधित्व गराउन दलहरूले कन्जुस्याइँ गर्ने गरेको भन्दै मिश्रित र समावेशी सिद्धान्त अङ्गीकार गरेको संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन गर्न माग गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया