काठमाडौँ । सानेपामा रहेको स्टार अस्पतालले घाइते अवस्थामा ल्याइएकी पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीमती मुना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान अचेत अवस्थामा अस्पताल पुर्याइएकी मुनाको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको हो। अस्पतालमा उनको शव पोष्टमार्टमको तयारी भएको छ।
ललितपुर महानगर वडा नं. २ सानेपामा सोमबार बिहान पूर्वसचिव कार्कीको घरमा भएको घटनामा कामदार मृत र श्रीमती कार्की अचेत अवस्थामा फेला परेकी थिइन्।
कामदार विजय चौधरी मृत अवस्थामा फेला परेका हुन्। अचेत अवस्थामा रहेकी उनलाई भने प्रहरीले नजिकै रहेको स्टार अस्पताल पुर्याएको थियो।
एकाबिहानै पशुपति दर्शन गर्न गएका सरकारका पूर्वसचिव अर्जुन कार्कीले घर फर्किएपछि मात्रै उक्त विभत्स दृश्य देखेका थिए। त्यसलगत्तै उनी बेहोस भएका थिए। पछि कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएको थियो।
सो लगत्तै प्रहरी घटनास्थल आइपुगेको प्रत्यक्षदर्शीले बताएका छन्। कार्कीको छिमेकीहरुका अनुसार सचिव कार्की घर फर्किँदा उनको श्रीमती भान्साकोठामा रगतपिच्छे अवस्थामा भेटिएकी थिइन्।
वरपरका छिमेकी र प्रहरीले दिएको जानकारीअनुसार कार्की घर आएपछि मात्रै घटनाबारे सार्वजनिक भएको हो।
ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले घटनाको पुष्टि गर्दै यसको अनुसन्धान गरिरहेको बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया