काठमाडौँ । चीनका विभिन्न सहरमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज शनिबार दिउँसो चीनको वुहान जाने भएको छ।
चीनका विभिन्न सहरमा रहेका १ सय ८० विद्यार्थीलाई वुहानमा भेला गराई उनीहरुको उद्धार गर्न लागिएको हो। वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।
वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक छन्।
अवतरण गरेपछि जहाजलाई आइकाओको नियमअनुसार ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन।
विद्यार्थीलाई चीनबाट नेपाल फर्काउनु अगाडि के–के गरिन्छ ?
चीनबाट नेपाल आउने विद्यार्थी कोरोना भाइसरबाट संक्रमित छैनन्। उनीहरु पूर्ण स्वस्थ छन्। तर पनि विद्यार्थीलाई नेपाल फर्काउनु अघि चीनमा उनीहरु स्वास्थ्य परीक्षण गरिने छ। परीक्षणका क्रममा भाइरसको लक्षण देखिएका वा संक्रमित विद्यार्थीलाई चीनमै आइसोलेसनमा राखेर उपचार गरिने छ भने नेपाल फर्केकालाई त्रिभुवन विमानस्थलमा फेरि परीक्षण हुने छ।
विमानस्थलमा परीक्षण गर्दा लक्षण नदेखिएकालाई विमानस्थलबाट सिधै क्वारेण्टाइनमा राखिने छ। लक्षण देखिएकालाई एम्वुलेन्समा राखेर अस्पतालको आइसोलसन वार्डमा पुर्याइनेछ।
नेपाल फर्किने उनीहरुमा कुनै प्रकारको संक्रमण नभए पनि नेपाल पुग्ने बित्तिकै विमानस्थलबाट सिधै १४ दिनका लागि क्वारेण्टाइनमा राखिन्छ।
चीनबाट उद्धार गरिएका विद्यार्थीलाई कहाँ राखिने छ ?
चीनबाट फर्काइएका १ सय ८० जना विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्रधिकरणको भवनमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता मेहेन्द्र श्रेष्ठले बताएका छन।
श्रेष्ठले भने, ‘चीनबाट फिर्ता ल्याइने विद्यार्थीका लागि हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ। १ सय ९९ बेडसहितको क्वारेण्टाइनको व्यवस्था गरेका छौँ।’
सरकारले चीनबाट उद्धार गरिएका विद्यार्थीलाई राख्नका लागि प्रधिकरणको भवनका चार वटा ब्लक तयार गरेको छ।
त्यस्तै क्वारेण्टाइनमा रहँदासम्म कसैले पनि आफ्ना अभिभावक वा परिवारसँग भेटघाट गर्न पाउने छैनन्।
कसरी राखिन्छ उनीहरुलाई क्वारेण्टाइनमा ?
क्वारेण्टाइनमा बसिरहेका उनीहरु संक्रमित नभएको ‘अब्जरवेसन’ का लागि उनीहरु १४ दिन खरिपाटीमा राखिने छ। क्वारेण्टाइनमा बसिरहेका उनीहरु बाहिर निस्कन पाउँने छैनन्।
८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइए पनि चीनबाट फर्काइएका विद्यार्थीका लागि सेवामा भने दैनिक तीन जना स्वास्थ्यकर्मी खटिने छन्। यसमा एक जना चिकित्सक समेत हुने छन्।
क्वारेण्टाइमा रहेका उनीहरुमा दैनिक स्वास्थ्य परीक्षण हुने छ भने उनीहरुमा कुनै लक्षण देखा पर्ने बित्तिकै उनीहरुलाई अस्पताल पुर्याउने व्यवस्था गरिएको छ।
उनीहरुका लागि खाना, स्वास्थ्य उपचार, शैचालय, संक्रमणको सतर्कतालगायत सबै कुराको व्यवस्थापन भवन भित्रै गरिएको छ।
चीनबाट फर्किएका विद्यार्थीलाई क्वारेण्टाइनमा राख्दा के हुन्छ ?
उनीहरुलाई यसरी क्वारेण्टाइनमा राखिरहँदा कुनै पनि समुदाय वा मानिसलाई संक्रमण हुने जोखिम हुदैन। यसले गर्दा कुनै पनि व्यक्ति वा समुदायलाई हानी हुनबाट जोगाउँछ।
नेपालमा क्वारेण्टाइनमा राखिएकाबाट समेत समुदायमा सर्न सक्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका छन्। तर चिकित्सकका अनुसार नोवेल कोराना भाइरसको संक्रमण हावाबाट सर्दैन। संक्रमित व्यक्तिबाट एक मिटरको दुरी कायम गरेको खण्डमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना न्यून हुन्छ।
यो कुरा सरकारले विरोध जनाइरहेका स्थानीय बासिन्दालाई बुझाउन अत्यन्तै जरुरी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया