असार ३०, २०८२ सोमबार July 14, 2025

रेसुङ्गा बहुमुखी क्याम्पसमा ६ महिनाका लागि आर्थिक सङ्कटकालको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक सङ्कटकालको घोषणा गर्ने निर्णय गरेको हो ।

क्याम्पस सञ्चालक समितिको बैठकले विभिन्न पाँच बुँदे निर्णयसहित क्याम्पसको विद्यमान आर्थिक अवस्था एवम् विद्यार्थी भर्नादर न्यून भएको भन्दै ६ महिनाका लागि क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा गरिएको हो ।

क्याम्पसको वर्तमान आर्थिक अवस्था एवम् समग्र वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन पेश गर्न क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्मबहादुर विश्वकर्माको संयोजकत्वमा सञ्चालक समिति सदस्य ठाकुरप्रसाद पाण्डेय र गोपालप्रसाद भुसाल सदस्य रहने गरी तिन सदस्यीय अध्ययन तथा समाधान सुझाव उपसमिति गठन गरिएको छ ।

त्यस्तै, बैठकले क्याम्पसको वर्तमान अवस्था तथा समयानुकूल वर्तमान क्याम्पस नियमावली २०४७ (संशोधित ०७६) मा संशोधन गर्नुपर्ने भएकाले भदौ १८ गते विशेष क्याम्पस साधारणसभाको आव्हान गरेको छ ।

क्याम्पसको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गरी अर्को व्यवस्था नहुँदासम्मका निम्ति क्याम्पस प्रमुखबाट मात्र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने तथा सहायक क्याम्पस प्रमुखहरुलाई राजीनामा दिई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

क्याम्पस नियमावली २०४७ (संशोधित २०७६) मा समयानुकूल आवश्यक बुँदाहरुमा संशोधन गर्नका लागि संशोधन मस्यौदा पेश गर्न क्याम्पस सञ्चालक समितिका सदस्य यज्ञप्रसाद पन्थीको संयोजकत्वमा पार्वता थापा र सदस्यसचिव क्याम्पस प्रमुख हरिबहादुर खत्री रहने गरी तीन सदस्यीय नियमावली मस्यौदा उपसमिति गठन गर्ने र उक्त उपसमितिले पाँच दिनभित्र मस्यौदा पेश गर्ने निर्णय गरेको बताइएको छ ।

वि.सं.२०३९ सालमा स्थापना भएको क्याम्पसले आर्थिक सङ्कट बेहोर्नुपरेको हो । “त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय स्तरमै विद्यार्थी भर्नादर खस्किएको छ । यसबाट रेसुङ्गा बहुमुखी क्याम्पस पनि अछुतो रहन सकेन ।” क्याम्पस प्रमुख हरिबहादुर खत्रीले भन्नुभयो,“यस क्याम्पसमा गरिब, विपन्न पढ्ने गर्दछन् । उनीहरु माथि धेरै शुल्क पनि लगाउन सकिदैन ।”

विद्यार्थीबाट उठाइएको शुल्कले मात्रै क्याम्पसको प्रशासनिक खर्च धान्न नसकिएको भन्दै दिगो आर्थिक स्रोतको बाटो नहुँदा क्याम्पसले आर्थिक सङ्कट बेहोर्नुपरेको उहाँले बताउनुभयो । आर्थिक सङ्कट समाधानका लागि आन्तरिक गठित समिति प्रतिवेदनको आधारमा नै समस्याको समाधान गरिने खत्रीले बताउनुभयो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसको आर्थिक सङ्कटलाई टार्न कार्यदल गठन गरिएको बताउँदै उक्त कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा थप निर्णयहरु गरिने उल्लेख गर्नुभयो । सो कार्यदललाई आवश्यक गाइडलाइन समेत दिइएको छ । अहिले सबैको ध्यान आर्थिक सङ्कट कसरी टार्न सकिन्छ भन्नेमा रहेको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैको सहयोग र सहकार्यमा क्याम्पसको आर्थिक सङ्कटलाई पार लगाउने बताउनुभयो । “सुरुदेखि क्याम्पसको हरेक गतिविधिसँग आफू साक्षात्कार रहेको उल्लेख गर्दै,” उहाँले भन्नुभयो, “क्याम्पसको दिगोपनाका लागि हामी प्रतिबद्ध छौं । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेरै अगाडी बढ्छौं ।” क्याम्पसलाई नयाँ तरिकाले नयाँ धारबाट सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

यस क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययन/अध्यापन हुँदै आएको छ । हाल यस क्याम्पसमा ७६० विद्यार्थी अध्ययनरत  छन् । क्याम्पसमा पूर्णकालीन प्राध्यापक २४ जना र १० जना आंशिक प्राध्यापकमध्ये ७ जना प्राध्यापनरत छन् । पूर्णकालीन कर्मचारी १० जना छन् । क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आर्थिक सङ्कटका कारण आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन सकेको छैन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार