काठमाण्डौंः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने तयारी थालेको छ। कोरोना भाईरसको संक्रमण नगरपालिकाभित्र बढिरहेको र सबैले उच्च स्वास्थ्य सर्तकता अपनाउनु पर्ने भएकाले भोलीबाट शैक्षिक संस्थाहरुमा एन्टिजेन परीक्षण गर्ने तयारी गरेको हो।
बुधबार नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा सम्पूर्ण वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल लगायत सरोकारवालासहित बसेको बैठकले बिहीबारदेखि सरस्वती मावि, पञ्च मावि, दिक्तेल बोर्डिङ र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिए।
बैठकले आवश्यकता अनुसार अन्य शैक्षिक संस्था लगायतका स्थानहरुमा परीक्षणलाई निरन्तरता दिने, जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा एन्टिजेन परीक्षणको दायरा वडा तहसम्म विस्तार गर्ने र आगामी तीन दिन भित्र आईसोलेसन निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया