काठमाण्डौंः सिन्धुपाल्चोकका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरूको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्गे आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका राउतले सात जनालाई रोजगारी दिएका छन् ।
उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकाले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउँछन् । झन्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको उनले सुनाए ।
राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौंमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् ।
त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गरेका चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रङको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग रू. सात लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेका उनले एक हजार ५०० मुढामा च्याउखेती गरेका छन् । मुढामा बीउ राखेको ९ महीनापछि मात्रै उत्पादन हुने गरेकाले तीन सय मुढाबाट मात्र उत्पादन भएको उनले बताए ।
उनको फार्ममा महीनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महीनासम्म मुढालाई थुपारेर राखेपछि फल्न शुरू हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन ९ महीनासम्म लाग्छ ।
प्रतिकेजी पाँच सयदेखि आठ सयसम्ममा विक्री हुने गरेको उक्त च्याउबाट गतवर्ष साढे दुई लाख आम्दानी भएको उनले बताए । यस वर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तीमा २ लाखदेखि ४ लाखसम्म आम्दानी हुने उनको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यवर्द्धक सिताके च्याउ खरीद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् ।
उनका अनुसार यो च्याउ विशेष गरेर उत्तीसको र कटुसको मुढामा हुन्छ । उत्तीसभन्दा कटुसको मुढामा यो बढी फस्टाउँछ । तर मुढाको अभाव भएकोे उनले बताए । आफ्नै लगानीबाट शुरू गरेको सो खेतीमा उनलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा सीता श्रेष्ठ तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँछिन् । उनी च्याउ खेतीबाट वार्षिक २ लाख कमाउँछिन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया