कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताउनुभयो । “गतवर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भन्नुभयो, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।”

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोक्नुभएको छ । “धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ”, उहाँ भन्नुभयो, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।”

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नुभएको छैन । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । “गतवर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उहाँले भन्नुभयो, “किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।”

यतिखेर खेतीपाती गर्ने किसान दशैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् । जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दशैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो । घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ । “धान काटेर खेतमै दाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउँला ?, दशैँ त अर्को वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ ।”

वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ ।

गतवर्ष समयमै सूचना नपाएर नोक्सानी ब्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन् । कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ । यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् । यसरी समयमै सूचना गर्दा विपदबाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ । “पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ”, उहाँले भन्नुभयो, “यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड
२०८३ कार्तिक २७, शुक्रबार