असार २४, २०८२ मंगलबार July 8, 2025

व्यवहारमा समानुपातिक प्रतिनिधित्व – श्यामप्रसाद मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भ

नेपालको संविधानमा बढी मत प्राप्त गर्ने विजयी हुनेतर्फ १६५ स्थानको व्यवस्था गरिएको छ । राजनीतिक दलका आधारमा प्राप्त मतको प्रतिशतले पछिपरेका समुदाय, वर्ग, क्षेत्र, जातजाति सबैको न्यायोचित प्रतिनिधित्व हुनेगरी ११० स्थानको व्यवस्था गरिएको छ । हालै प्रकाशित समाचारलाई आधार मान्दा हरेक समूहबाट हुनेखानेलाई अवसर दिने गरिएको छ । राजनीतिक दलमा पक्कड जमाएका तर जनतामा जान साहस गर्न नसक्नेले यी संख्यालाई आप्mनो हितमा प्रयोग गरेका छन् । दलीय सिफारिसमा आआप्mनो नाम राख्न सफल भएका छन् । समाजबाट पछि पारिएका कमजोर, सीमान्तकृतलाई अवसर दिनेगरी गरिएको व्यवस्थाको व्यापक दुरुपयोग भएकोमा आलोचना भइरहेको छ ।

देशको शासन सञ्चालन गर्ने पहिलो सर्तका रूपमा परिपक्व राजनीतिक संस्कृतिको विकासलाई लिने गरिन्छ । यस प्रकारको संस्कृतिको विकास त्यस अवस्थामा सम्भव हुन्छ । जब शासन व्यवस्थामा सबै जनताको न्यायोचित एवं समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति निर्वाचनबाटै गर्न सकिन्छ । यी सबै वर्गको प्रतिनिधित्वबाट मात्र सबै प्रकारका समस्याको सामूहिक रूपमा समाधान गर्न सार्थकता प्राप्त हुने गर्दछ । यसबाट शासन व्यवस्थाप्रति जनताको स्वामित्व ग्रहण हुन थाल्दछ । यस्तो, प्रतिनिधित्वबाट देशभित्र उपलब्ध हुने स्रोत र साधनको न्यायोचित वितरण हुन्छ । सामूहिक स्वार्थको सम्बोधन सम्भव हुन्छ । यिनै पक्षलाई दृष्टिगत गरी आफ्नो देशको विशिष्ट परिस्थितिलाई मध्यनजर राखी निर्वाचन प्रणालीको निर्धारण गरिएको हुन्छ । यही सन्दर्भमा हाम्रो लोकतान्त्रिक शासन प्रणालीले समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत सबै जनताको शासन सञ्चालनमा सहभागिता सुनिश्चित गरेको हो । समानुपातिक प्रतिनिधित्व गराउन सम्पन्न हुने निर्वाचनमा राष्ट्रलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ । वर्ग, जात जाति, समुदाय, क्षेत्र, राजनीतिक दलका नीति तथा कार्यक्रमसहितको घोषणापत्र दलले समानुपातिकतर्फबाट निर्वाचन गराई, उम्मेदवारका रूपमा दलले प्रस्तावित गरे पठाएका नामहरू, समेतका आधारमा मतदान गर्दछन् । यसको सदुपयोग हुँदा लोकतन्त्रको विकासमा मद्दत पुग्दछ ।

समानुपातिक प्रतिनिधित्वको उपादेयता

नेपाललगायत विश्वका करिब ४० प्रतिशत देशमा यो प्रणालीलाई अवलम्बन गरिएको छ । यसको उपादेयता सैद्धान्तिक रूपमा प्रमाणित भएको छ । व्यवहारमा यसको सदुपयोग हुन सक्दा मात्र उपादेयता सिद्ध हुन सक्दछ । आधुनिक लोकतन्त्रको परिभाषा नै बदलिएको छ । बहुमतले शासन गर्ने र अल्पमतले सम्मानक साथ शासित हुनुपर्ने पुरातन परिभाषालाई फरक कोणबाट सोचिएको छ । अबको लोकतन्त्रले अल्पमतलाई समेत शासन प्रक्रियामा समाहित गर्नुपर्छ । व्यावहारिक र सर्वस्वीकार्य परिभाषालाई सबै लोकतान्त्रिक देशले अंगीकार गर्दै आएका छन् । समन्यायको सिद्धान्त अवलम्बन गर्नु नै आधुनिक लोकतन्त्रको मुख्य उद्देश्य हो । यसमा सबैलाई समान बनाउने लक्ष्य राखिएको हुन्छ । यस्तो लोकतन्त्र सामाजिक न्यायमा आधारित हुन्छ । यही सिद्धान्तका आधारमा सबैलाई अवसर प्रदान गर्ने पवित्र लक्ष्य निर्धारण गरिन्छ । बहुमतका आधारमा मात्र शासन गरिँदा साना साना दलको आवाजले मूर्तरूप लिन सक्दैन । तर, समानुपातिक प्रतिनिधित्वमा अमुक दलले प्राप्त गरेको मतका आधारमा संसद्मा प्रतिनिधित्व गरी आवाजबिहीनको आवाजलाई बुलन्द गर्न सकिन्छ । यसमा साना दल र अल्पसंख्यकले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्दछन् ।

सबैलाई समेट्ने उद्देश्य राखिएको समानुपातिक निर्वाचनबाट लक्षित समूह नै नसमेटिने भएपछि यसको उपादेयतामाथि प्रश्न उठ्न थालेको छ ।

बढी मत ल्याउने विजयी हुने प्रकारमा जस्तो मत खेर जाने अवस्था यसमा आउँदैन । सबै लिंग, क्षेत्र, समुदाय, वर्ग जात, जातिको जनसंख्यामा रहेको आफ्नो हिस्साका आधारमा प्रतिनिधित्व गर्दछन् । अन्तर प्रादेशिक विसमताको निराकरणमा यस प्रणालीबाट सुधार गर्न सम्भव हुन्छ । निर्वाचित भएर प्रतिनिधित्व गरिरहेको स्थान कुनै कारण रिक्त भएमा पुनः निर्वाचन गरिराख्नु पर्दैन । सूचीमा रहेको क्रमका आधारमा शीघ्र पूर्ति गर्न सकिन्छ । महिलाको प्रतिनिधित्व सबै प्रकारका क्लस्टरमा गरिने भएकाले लैंगिक विभेदलाई समूल समाप्त गर्न सहायक सिद्ध हुन्छ । आधा आकास ओगटेका महिलाले देशको नीति निर्माण र शासन प्रक्रियामा सहजै अवसर प्राप्त गर्दछन् । पछि परेका सबै वर्गको प्रतिनिधित्वको सुनिश्चितता हुन्छ । देश सबैको साझा फुलबारीका रूपमा विकसित हुन्छ । विविधताकाबीचका एकता सम्भव हुन्छ । यसैले यसको उपादेयताबारे कही कतै खासै प्रश्न उठेको छैन ।

नेपालमा समानुपातिक प्रतिनिधित्व

नेपालमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था पहिलो संविधान सभाको निर्वाचनदेखि नै भएको हो । अन्तरिम संविधान २०६३ ले नै बहिष्करणमा परेकालाई समेटी राज्य संयन्त्रमा मूल प्रवाहीकरण गर्न यसको व्यवस्था गरिएको हो । पहिलो संविधान सभाको ६०१ संसद् संख्यामा ३३५ समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था गरियो । याही प्रावधानले दोस्रो संविधान सभाको निर्वाचनमा समेत निरन्तरता पायो । यसको उद्देश्यअनुरूप लक्षित समूह निर्धारणमा प्रारम्भ देखिने दुरूपयोग हुँदै आएको छ । नवधनाढ्य र व्यापारिक, उद्योगी घरानालाई यसबाट अवसर प्रदान गर्ने अस्वस्थ प्रतिस्पर्धामा सबै दलहरू देखिए । विशेषगरी मधेसी दलमा आप्mनै श्रीमतीलाई प्रतिनिधित्व गराउने होड चल्दै गयो । महिलालाई समानुपातिक प्रतिनिधित्व गराउने प्रावधान प्रहसनमा परिणत हुँदै गयो ।

देशको वर्तमान संविधानमा यो संख्यामा केही हदसम्म संकुचन गरियो । संविधान सभामा ३३५ स्थान सुरक्षित गरी जम्मा सभाका सदस्यको ५५ दशमलव ७४ प्रतिशत छुट्याइएको थियो । नेपालको वर्तमान संविधानमा २७५ संसदमध्ये ११० अथवा ४० प्रतिशत मात्र समानुपातिकतर्फ राखिएको छ । पहिलो संविधान सभादेखि हालसम्म आइपुग्दा यसको व्यापक दुरुपयोग हुँदै आएको छ । समानुपातिकतर्फको स्थानमा शासनमा निरन्तर रूपमा अवसर पारिहेका, दलका नेतासँग राम्रो पक्कड कायम गर्न सफल भएकाको बाहुल्यता देखिँदै छ । आप्mना नजिकका नाता, इस्ट मित्र, श्रीमती, भाइ, भतिजा, केटी साथी, आदि यसमा समेटिने गरेका छन् । शारीरिक र मानसिक रूपमा कमजोर भएकाहरू (तर अन्धा अपांग होइनन्) लाई राहत दिने प्रावधान समानुपातिक भएको छ । २०७४ सालको निर्वाचनमा विभिन्न तहका सरकारमा ५६ जोडीले सांसद बन्ने सौभाग्य प्राप्त गरेछन् । आधिकारिक रूपमा संख्या स्पष्ट गर्न नसकिए तापनि केटी साथीको संख्या समेत ठुलै भएको अनुमान छ ।

राजनीतिक दल यसको दुरुपयोग गर्नमा निर्लज्ज देखिएका छन् । प्रभावशाली समूहकालाई छानीछानी अवसर प्रदान गरिएको छ । सीमान्तकृत वर्गलाई पहिलो हुने निर्वाचित बन्ने प्रणालीमा विजयी बनी प्रतिनिधित्व गर्न कठिनाई पर्ने भएकाले यस प्रकारको व्यवस्था गरिएको हो । यसको दुरुपयोग सम्भ्रान्त परिवारका सदस्यलाई अवसर दिएर गरिएको छ । परापूर्व कालदेखि शासन सत्तामा हालीमुहाली जमाई आएको वर्गका लागि यो प्रावधान राखिएको सरह भएको छ । शक्ति र शासनमा समाहित भइरहेकालाई पुनः सत्तामा निरन्तरता दिने माध्यम यसलाई बनाइएको छ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दलदेखि साम्यवादी दलसमेतले सम्भ्रान्तलाई छानीछानी यसमा समेटी रहेका छन् । निर्वाचन हार्ने प्रायः निश्चित भएका तर केन्द्रीय नेतृत्व तहमा रहेकालाई सत्तामा टिकाइ राख्ने प्रयोजनमा समानुपातिक प्रणालीको सहजै उपयोग भइरहेको छ । यौन दुराचारीदेखि भ्रष्टाचारीसम्म यसमा समेटिएका छन् । संवैधानिक आसय, प्रावधान र मर्मको हदैसम्म मानमर्दन गरिएको छ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलले बन्दसूची बुझाउँदा जनजातिका लागि २८ दशमलव ७ प्रतिशत, खस आर्यलाई ३१ दशमलव २ प्रतिशत, थारूका लागि ६ दशमलव ६ प्रतिशत, दलितका लागि १३ दशमलव ८ प्रतिशत, मधेसीका लागि १५ दशमलव ३ प्रतिशत, मुस्लिमका लागि ४ दशमलव ४ प्रतिशत, पिछडिएको क्षेत्रका लागि ४ दशमलव ३ प्रतिशत आरक्षण गरिएको छ । यो आधारसँग प्रतिकूल सूची पेस भएमा आयोगले बदर गर्न सक्दछ । यसमा रहेको प्राथमिकताक्रम निर्धारणलाई दलले चाहँदा परिवर्तन गर्न सक्ने प्रावधान छ । तर, संविधानको आसय र प्रवधानविपरीत आएका सूचीको सम्बन्धमा आयोगले केही गर्नसक्ने अवस्था कानुनतः छैन । यही आधारमा राजनीतिक दल स्वायत्त बनेका छन् । दुरुपयोग गर्ने अस्वस्थ प्रतिष्पर्धामा अभ्यस्त भएका छन् । यस अवस्थामा समानुपातिक निर्वाचन प्रणालीको उपादेयता हाम्रो सम्बन्धमा आलोचित छ, यसमा सुधार गर्नैपर्ने अवस्था छ ।

नकारात्मक पक्ष र अबको बाटो

यस व्यवस्थाको उद्देश्य पवित्र छ । समन्याय र सामाजिक न्यायको गन्तव्य यसले निर्धारण गरेको छ । तर, व्यवहारमा प्रयोग हुँदा यसका केही अँध्यारा पक्षहरू समेत छन् । निर्वाचित प्रतिनिधि को को हुने हुन् ? आफ्नो मतबाट कसले अवसर प्राप्त गर्ने हुन् ? यो पक्षबारे मतदाताहरू अनविज्ञ रहन्छन् । निर्वाचित प्रतिनिधिहरू र मतदाता नागरिकबीच प्रत्यक्ष सम्बन्ध रहँदैन । दलका नाममा मतदाताले मतदान गर्दछन् । यसबाट निर्वाचित हुनेको नामावली सम्बन्धित दलले निर्धारण गर्दछ । यसरी निर्वाचित भएकाको प्रत्यक्ष जवाफदेहिता मतदातामा रहँदैन । कुन प्रतिनिधिले कुन भौगोलिक क्षेत्रको प्रतिनिधित्व गरिरहेको हो ? स्पष्ट हुँदैन । देशभित्रका पिछडा क्षेत्रबाट अमूक दलले तीन जनालाई प्रतिनिधित्व गराउन सकेको अवस्थामा तीनमध्ये अछाम वा जुम्लाको प्रतिनिधि को हो ? स्पष्ट हुँदैन । सानासाना दलको समेत यसमा सहभागिता र महŒवपूर्ण भूमिका निर्वाह गर्ने स्थिति बन्दछ । यसबाट संसद्मा धेरै प्रकारका सानासाना दलले सत्तामा सौदाबाजी गर्न पाउने स्थिति बन्दछ ।

लोकतान्त्रिक शासन सञ्चालनमा सबै जनताको सहभागिता सुनिश्चित गर्न समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरिएको हो ।

राजनीतिक अस्थिरताको अवस्थाको सामना गरिरहनुपर्छ । सरकारलाई कुनै महत्वपूर्ण विषयमा सर्वसम्मत निर्णय लिन कठिनाई पर्दछ । प्रतिनिधिले आफ्नो दलप्रति र यसका नेतृत्वप्रति भक्तिभाव प्रकट गर्दछन् । मतदातालाई गौण आँकलन गर्ने अभ्यस्तता प्रतिनिधिमा देखिँदै जान्छ । राजनीतिक दलले जनतासमक्ष आफ्नो दलको घोषणापत्रमार्फत गरेका बाचा र प्रतिबद्धता पूरा गर्न कठिन हुन्छ । किनकी यस अवस्थाबाट समावेसी प्रकृतिको सरकार बन्दछ । कुन घोषणापत्र लागू गर्ने विषय नै संकटमा पर्दछ । राजनीतिक दलका जनताको सामना गर्न नसक्नेहरू प्रतिनिधिसभामा सबै स्थानमा समानुपातिक हुनुपर्नेमा जोड दिइरहेका छन् । यो उनीहरूको जनताको अधिकार पूर्णरूपमा समाप्त गर्ने कुत्सित रणनीति हो ।

तसर्थ, नेपालको सन्दर्भमा यसमा केही सुधारहरू गरिनुपर्छ । नेपाली नागरिकहरूलाई आफुले मत दिएको दलले कुन कुन क्लस्टर र क्षेत्रबाट कसलाई उम्मेदवार बनाएको हो ? आफ्नो मतबाट आफ्नै प्रतिनिधि को हुने हो ? स्पष्ट गराउनुपर्छ । राजनीतिक अस्थिरताको अवस्थालाई समाधान गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था अनिवार्य हुनुपर्छ । नेपालमा भइरहेको दुरुपयोगबाट जनताको अधिकारमा प्रश्न चिह्न खडा हुने हुँदा यसका आधारहरू स्पष्ट पारदर्शी गरिनुपर्छ । कमजोर वर्गलाई लक्षित गरी ल्याइएको यस प्रणालीमा सम्भ्रान्त परिवारका, पटकपटक सत्तामा रहने अवसर पाएकालाई सहभागी बनाउनु भनेको संवैधानिक प्रावधान र आसयको उल्लंघन गर्नु हो । त्यसैले दुईपटक सांसद भएका, एकपटक मन्त्री भएकालाई पुनः यो सुविधा दिइनुहुन्न । पटकपटक परीक्षण भइसकेकाबाट यस देशले केही पनि प्राप्त गर्न नसक्ने प्रमाणित भइसकेको सन्दर्भमा पटकपटक सत्तामा पु¥याउने माध्यम यसलाई बनाइनुहँुदैन । प्रत्येक क्लस्टरबाट राजनीतिक दलले यस प्रावधानअनुसार निर्वाचित हुने व्यक्तिको छनोट गर्ने आधार वस्तुगत बनाउन सक्नुपर्छ । त्यस्ता आधारलाई जनसमक्ष पारदर्शी बनाउनुपर्छ । यस प्रयोजनका लागि आवश्यकताअनुसार संविधान र अन्य कानुनी प्रावधान पुनरावलोकन गरिनुपर्दछ ।

देशमा कुशासन र भ्रष्टाचार व्याप्त छ । राजनीतिक दलका नेतृत्व पंक्ति स्वार्थ लोलुप झुन्डको प्रशंसामा आत्मरतिमा मुग्ध छन् । समानुपातिक प्रणालीले समाजमा राम्रो प्रभाव पार्न नसकेका बदनाम पात्रलाई स्थान दिइरहेको छ । नेतृत्वमा पटकपटक परीक्षण भइरहेका दलको सरकारमा रहँदा र दलीय काम कारबाहीसमेत लोकतन्त्रअनुकूल नभएको आलोचना भइरहेको छ । यस अवस्थामा सबैलाई समेट्ने उद्देश्यले राखिएको समानुपातिक निर्वाचनबाट लक्षित समूह नै नसमेटिने अवस्थामा यस प्रावधानको उपादेयतामा प्रश्न उठ्न थालेको छ । यसले देशमा अर्को गम्भीर द्वन्द्व आमन्त्रण गर्न सक्दछ । तसर्थ यस प्रावधान र विशेषगरी राजनीतिक दलका अभ्यासलाई मौलिक रूपमै परिमार्जन र पुनरावलोकन जरुरी भएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार