काठमाडौं । कोरोना नियन्त्रणका लागि नेपालले मागेका स्वास्थ्य सामग्री चीनले एक साताभित्र उपलब्ध गराउने सन्देश पठाएको छ । भारतले सहयोग गर्ने सकारात्मक जवाफ दिए पनि समय भने तोकेको छैन ।
नेपाल सरकारले मेडिकल सामग्री, एम्बुलेन्स, पोर्टेबल भेन्टिलेटर, अक्सिजन प्लान्ट, टेस्टिङ किट्सलगायतको सूची एक साताअघि चीन र भारत सरकारलाई बुझाएको थियो । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वांग यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै टेलिफोन संवादमा सहयोगको प्रस्ताव गरेपछि काठमाडौंस्थित राजदूतावासमार्फत सूची पठाएको थियो । परराष्ट्र मन्त्रालयले थप समन्वयका लागि बेइजिङ र दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको थियो ।
चीनका लागि कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल सरकारले पठाएको सहयोगको सूचीका विषयमा बेइजिङमा आफूले निरन्तर फलोअप गरिरहेको जानकारी दिएका छन । उनले मंगलबार टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘मैले चिनियाँ सम्बद्ध अधिकारीसँग केही दिनअघि सम्पर्क गरेको थिएँ । नेपालले पठाएको सूचीअनुसार सामग्री संकलन र मोबिलाइजेसन गर्दै छौँ भन्ने जवाफ आएको छ । साता–दश दिन लाग्न सक्छ भनिएको छ । चीनले विभिन्न सहरबाट सामग्री संकलन गर्ने र एयर लिफ्टबाट नेपाल पठाइदिने जवाफ दिएको छ ।’
परराष्ट्र मन्त्रालयले स्वास्थ्य मन्त्रालयले तयार गरेको सूची काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत बुझाएको थियो । चीनसँग नेपालले २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, २० हजार थान एन ९५ मास्क, सय थान पोर्टेबल भेन्टिलेटर, दुई हजार थान मोनिटर, २० थान एबिजी मेसिन, सात थान एम्बुलेन्स, १० हजार थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन मागेको छ । त्यस्तै, दुई हजार थान पिसिआर किट्स, एक हजार थर्मल थर्मोमिटर, १० थान थर्मो स्क्यानर र पाँच थान मोबाइल एम्बुलेन्स मागेको छ ।
चिनियाँ कम्पनीले दियो दुई हजार थान किट्स
चीनको बेइजिङ साभन्त बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने किट्स सहयोग गरेको छ । कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले करिब ३६ लाख रुपैयाँ (तीस हजार अमेरिकी डलर) बराबरका ती किट्स बुधबार बेइजिङस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् । किट्स ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूतावासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्नेछ । हस्तान्तरण समारोहमा बेइजिङ नगरपालिकाका वाणिज्य ब्युरोका थान छङ्हाइ र बेइजिङ–काठमाडौं अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओ जिआन्ली पनि सहभागी थिए । यो सहयोगलाई दूतावासले नेपाल–चीन मैत्रीको उत्कृष्ट उदाहरण भनेको छ ।
अनुदानकै भरमा नेपाल, खरिद प्रक्रिया अघि बढेन
छिमेकी देशसँग अनुदानमा स्वास्थ्य सामग्री मागेको सरकारले खरिद प्रक्रिया भने अघि बढाएको छैन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सामग्री खरिदका लागि कूटनीतिक नियोगहरूलाई अझैसम्म निर्देशन दिएको छैन ।
नेपाललाई तत्काल चाहिएको स्वास्थ्य सामग्री अनुदानमा भनेको समय र परिमाणमा आउन सक्ने अवस्था नरहेको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई गराइसकेका छन् । नेपाली दूतावासले भारत र चीनका उद्योगी व्यवसायीलाई स्वास्थ्य उपकरण, चिकित्सा सामग्री अनुदानमा सहयोग गर्न आग्रह गरे पनि उनीहरूले सकारात्मक जवाफ नदिएको विवरण परराष्ट्रमा पठाएका छन् । तर, सरकारले खरिदको प्रक्रिया नै चालेको छैन । बेइजिङस्थित कार्यबाहक नेपाली राजदूत सुशील लम्सालले सामग्री खरिदका लागि सरकारबाट निर्देशन नभएको बताएका छन । ‘अहिलेसम्म हामीले त्यस्तो निर्देशन पाएका छैनौँ,’ उनले भने ।
उच्चस्तरीय समितिले मंगलबार दोस्रोपटक अत्यावश्यक औषधि, चिकित्सा सामग्री र अत्यावश्यक स्वास्थ्य उपकरण भारतबाट शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागी थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया