असोज १, २०८३ बिहिबार September 17, 2026

साम्यवादी ब्रान्ड र नेता माधव नेपाल – श्याम प्रशाद मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रारम्भ

नेपालमा धेरै प्रकारका राजनीतिक प्रणालीको अवलम्बन भइसकेको छ । राजनीतिक पात्रका खराबीका कारण देशमा कुशासन व्याप्त हुँदै आएको र यसले आउँदा दिनमा निरन्तरता दिँदै जाने स्पस्ट छ । जनताका प्रतिनिधि र दलका शीर्षस्थ नै जनता र देशप्रति जवाफदेही बन्न नसकेका नचाहेका उदाहरण प्रशस्त छन् । २०४६ सालपश्चात् नेका, एमाले र देश गणतन्त्र बनेपश्चात् नेका, एमाले र माओवादी केन्द्र पटकपटक सरकारको नेतृत्वमा पुगेका छन् । यस अवधिमा भए गरेका कार्य’boutमा जस र अपजस यी तीनवटै दलले लिनुपर्छ । लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गर्दै देशको शासन सञ्चालन लोकतान्त्रिक प्रणालीकै आधारमा भइराखेको दाबी यी सबै दल र सरकार एवं संसद्ले लिँदै गरेकाले पनि सरकार, संसद् र दलीय क्रियाकलापको जवाफदेहिता यी सबै दलले लिनुपर्छ ।

तर, नेपालका राजनीतिक दलको नेतृत्वमा रहेका र सरकारमा रहनेमा जवाफदेहिता प्रायः शून्य अवस्थामा रह्यो । तीन दलहरूकै आधिपत्यतामा पालैपालो सरकारमा पुग्नु र आफ्नै दललाई र समूहको स्वार्थ सिद्ध गर्नुमा नै सवै दल तल्लीन रहे । लोकतन्त्रको मूल्य र मान्यताबारेमा व्याख्या गर्दा जवाफदेहिता, पारदर्शितालाई मूलमन्त्र र आधारका रूपमा सर्वत्र ग्रहण गरिएको छ । ती सबै दलका शीर्षस्थ नेतृत्वमा दलको नेतृत्व र सरकारको नेतृत्व गर्दा जवाफदेहिता र पारदर्शिताको सर्वथा अभाव रह्यो । यही आधारमा मूल्यांकन गर्दा यसमा निखार ल्याउन सक्ने नेताको खडेरी परेको स्पस्ट अनुभूति गरिएको छ । तुलनात्मक रूपमा अधिक र न्यून मात्र हुन सक्छ ।

आज यिनै नेतामध्येका एक हालका नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपाल’बारेमा उल्लेख गर्ने प्रयास गरेको छु । माधव नेपालजी प्रधानमन्त्री रहँदा यस स्तम्भकारले सचिवका रूपमा भूमिका निर्वाह गर्नुपरेकाले उहाँका बारेमा धेरै प्रकारका सूचना सुरक्षित छन् । तथ्यका आधारमा बिनाकुनै पूर्वाग्रह उहाँको कार्यशैली’boutमा यथार्थता पस्किने जमर्को यस आलेखमा गरिएको छ ।

अरुण तेस्रोको सञ्चालन रोक्ने पत्राचार गर्नु राष्ट्रविरुद्धको अपराध

नेपालका राजनीतिज्ञमा क्षणिक आशा जगाएर, अस्थिर र पूरा गर्न नसक्ने प्रकारका एजेन्डा पस्किएर, रास्ट्रका लागि गम्भीर नकारात्मक प्रभाव पर्ने प्रकारका निर्णय लिएर थोरै मत आफ्नो पक्षमा पार्न सक्ने अवस्था बनाउँदा गौरव मान्ने प्रचलन छ । साम्यवादी ब्रान्डमा राजनीति गर्नेहरू यस गलत प्रवृत्तिमा तुलनात्मक रूपमा ज्यादा आकर्षित देखिएका छन् । माधवजी प्रमुख प्रतिपक्षी दल एमालेको नेताका रूपमा रहँदा अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्न निरुत्साहित गर्ने प्रकारले पत्राचार गर्दा देशले भोग्नुपरिराखेको पीडाबारेमा सर्वप्रथम तथ्यका आधारमा उल्लेख गरौं ।

प्रमुख प्रतिपक्षी दल एमालेको नेता हुँदा माधव नेपालले विश्व बैंकलाई अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्न निरुत्साहित गर्ने पत्राचार गर्दा देशले ठूलो पीडा भोग्नुपरिराखेको छ

मदन भण्डारीको असामयिक र दुःखद निधनपश्चात् एकाएक एमालेको नेतृत्वमा माधवजी पुग्नुभयो । सन् १९९० को दशकपछि आर्थिक उदारीकरणका आधारमा विश्वमै आर्थिक क्रान्तिको सुरुवात भयो । हाम्रा दुई छिमेकी देश भारत र चीनका अर्बभन्दा बढी जनसंख्याले गरिबीबाट मुक्ति पायो । नेपालले पनि २०४६ सालपश्चात उच्चस्तरको आर्थिक वृद्धि गर्दै गएको थियो । २०४८ सालको निर्वाचनमा नेकाले आरामदायी बहुमत प्राप्त गरेर सरकार सञ्चालन गरिराखेको थियो । साम्यवादी सरकारले अवलम्बन गरिराखेको आर्थिक नीतिविरुद्धसमेत जेहाद छेड्दै थिए । एमालेका माधवजीको तर्क थियो । आर्थिक उदारीकरणबाट गरिब र धनीबीचको खाडल अत्यन्त बढ्दै गएको छ ।

आर्थिक असमानताले गर्दा देशको सामाजिक परिस्थिति नै आमूल रूपमा पश्चगमन उन्मुख भइराखेको छ । यही मिथ्या तर्कमा आधारित भएर एमालेहरूले द्वन्द्व चर्काइराखेका थिए । यही अवस्थामा मध्यावधि निर्वाचन हुने भयो । मध्यावधि निर्वाचनमा आफ्नो पक्षमा जनमत तयार गर्ने एजेन्डाको खोजी हुन थाल्यो । १५ नोभेम्बर १९९४ मा निर्वाचन हुँदै थियो । ३ नोभेम्बर १९९४ मा ४०४ मेघावाटको जलविद्युत् आयोजना सञ्चालनका लागि अन्तिम निर्णय गर्ने तयारी विश्व बैंकमा भइराखेको थियो । अक्टोबर १८ मा माधवजीले एक पत्र विश्व बैंकलाई लेखे । निर्वाचनपश्चात् एमाले सरकारमा जाने प्रायः निश्चित भएको र यदि एमालेको सरकार भएमा यस आयोजनाको लागत लाभ विश्लेषण र यसबाट वातावरणमा पर्ने प्रभावसमेतबारे पुनरावलोकन गरिने स्पष्ट गरिएको थियो ।

आरामदायी बहुमतको सरकार टिकाउन नसक्ने नेकाको भन्दा एमालेको चुनावी अवस्था मजबुद हुँदै गयो । एमालेको अल्पमतको सरकार गठन भएपश्चात् विश्व बैंक यो आयोजनाबाट पछि हट्यो । माधवजीलगायतले सन्तुष्टिको सास लिएर आयोजना रद्द भएकोमा गौरवान्वित बने । तत्पपश्चात् एमाले र माओवादी केन्द्रसहितको संयुक्त सरकार भएको समयमा माधवजीसमेत त्यसै दलको गनिने नेताकै हैसियतमा रहँदा सो आयोजना पुनः सञ्चालन गर्नेगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले मे १०, २०१८ मा संयुक्त रूपमा सिलान्यास गरे ।

१९९४ मा एमालेले नै रद्द गर्न लगाएको आयोजना करिब डेड दशकपश्चात् पुनः सोही दलका नेता तथा प्रधानमन्त्रीले ९ सय मेगावाट क्षमताको प्रारम्भ गर्दा माधवजीले यसको तथ्यका आधारमा आफ्नो पूर्व निर्णयको बचाउ गर्दै विरोध गर्न सक्नुपथ्र्यो । समर्थन गर्ने हो भने त्यसका लागि प्रशस्त पुष्टि गर्न सक्नुपथ्र्याे । यदि यी दुवै भूमिका निर्वाह गर्न नसकेको अवस्थामा सार्वभौम जनतासमक्ष आफ्नो कुकृत्यबारे माफी माग्नुपथ्र्याे । यी कार्य भएनन् । अरुण तेस्रो २५ वर्षसम्म निर्माण गर्ने कम पनि कै अधीनमा रहन्छ । सन् २०५० तिर मात्र नेपालले यसको स्वामित्व प्राप्त गर्छ । यस अवधिमा २१.९ प्रतिशत बिजुली नेपाललाई कम पनिले निःशुल्क उपलब्ध गराउँदा साढे ४ खर्ब आम्दानी हुन्छ ।

अरुण तेस्रो १९९४ मा सञ्चालन गर्न नदिँदा देशलाई परेको घाटाको लेखाजोखा गरौं । ३० करोड डलर सहुलियतपूर्ण ऋण ४० वर्षमा १ प्रतिशत ब्याजदरमा विश्व बैंकले प्रदान गर्ने अवस्थामा सो रोकियो । जर्मनीले १२.४ करोड डलर अनुदान दिँदै थियो । जापानले १५ करोड डलरको सहुलियतपूर्ण ऋण दिँदै थियो, जुन पछि अनुदानमा बदलिने प्रकृतिको थियो । फ्रान्स, फिनल्यान्ड र स्विटजरयान्ड गरेर ४.६ करोड डलर दिँदै थिए जुन ७० प्रतिशत अनुदानमा बदलिने र ३० प्रतिशत मात्र सहुलियतपूर्ण ऋणका रूपमा ४० वर्षमा तिर्नुपर्ने थियो । आयोजना सम्पन्न भएपश्चात् प्रतिवर्ष ५ खर्ब आम्दानी हुने थियो । सबै खर्च कटाएर प्रतिवर्ष ४ खर्ब बचत हुने थियो । आयोजनाले नै बनाइदिने १२२ किमी पक्की सडकले गर्दा पूर्वी नेपालको आर्थिक अवस्थामा सुधार आउने निश्चित थियो । यो अवधिमा १ खर्ब कमाइ गर्न सक्थ्यो ।

तर, देशमा द्वन्द्व आमन्त्रण भयो । संरचना ध्वस्त बने । ४ सय मेवाबराबरको पेट्रोलियम पदार्थ खरिद गरेर जेनेरेटर सञ्चालन गरिँद १०औं खर्ब रकम खर्च भयो । नेपालको विदेशी मुद्रा मध्यपूर्वी देशमा पुग्यो । अन्तर्राष्ट्रिय व्यापार घाटा र वैदेशिक मुद्राको संकट अत्यन्त ज्यादा भयो । यदि यो आयोजना सञ्चालनमा आएको भए नेपालले आर्थिक समृद्धि ठूलो सफलता प्राप्त गर्ने थियो । नेपालको साख अन्तर्रास्ट्रिय दाता समूहमा गिर्न पुग्यो । विश्व बैंक, एसियाली विकास बैंकले नेपालको जल विद्यतमा लगानी नगर्ने नीति अवलम्बन गर्न पुगे । यस प्रकारको सहयोगको अपेक्षा गर्ने देश विश्व बैंकको लिस्टमा धेरै थिए ।

पाकिस्तानले १४५० मेवाको आयोजना विश्व बैंककै सहयोगमा सञ्चालन ग¥यो । नेपालजीले के पाए ? देशले के के गुमायो ? यसको हिसाब किताब राख्ने जनता नेपालमा देखिएनन् । नेताहरूका यस्ता राष्ट्र विरोधी कुकृत्यबारेमा खुलेर प्रश्न गर्न सक्ने सचेतना र क्षमताको विकास नेपालीहरूमा हुनु जरुरी छ ।

अब अर्को प्रकरण सुरु भयो । विस्तार जल विद्युत्को उत्पादन नेपालमा बढ्दै गयो । तर, राष्ट्रिय ग्रिडमा जोडने र विदेशबाट आयात निर्यात गर्ने ग्रिडको अभाव देखियो । संयुक्त राज्य अमेरिकाको एमसीसीले यस समस्याको समाधानमा सहयोग गर्न अनुदान दिने निर्णय गरेकामा त्यसको तीव्र विरोध गर्ने पनि माधवजी नै देखिए । एमसीसीलाई पारित गर्ने समयमा यिनै माधव समर्थनमा मतदान गर्न पुगे । देशलाई १०औंै खर्ब घाटा गराएर २०औंै लाख मानिसलाई गरिबीको रेखाबाट उन्मुक्ति दिन सकिने अवस्थावाट वञ्चित गराउने जो कोहीलाई राष्ट्रघातीको संज्ञा दिनुपर्नेहुन्छ ।

बेलाबेलामा सिन्डिकेट कायम गरेर शासन गरिराखेका नेका, एमाले र माओवादी केन्द्र सबैमा जवाफदेहिता वहन नगर्ने मनोवैज्ञानिक रोग निकै बढी छ

माधवजी प्रधानमन्त्री रहँदा यस स्तम्भकार स्थानीय विकास मन्त्रालयको सचिव थिए । प्रथमपटक सचिवको बैठकमै प्रधानमन्त्री माधवजीको चिन्ता लोडसेडिङतर्फ देखियो । योभन्दा हास्यास्पद सन्दर्भ के हुन सक्छ ? आर्थिक क्रियाकलापमा पनि माधवजी अत्यन्त कमजोर पात्र हुन् । उनी प्रधानमन्त्री रहँदा असारको २३ गते यस स्तम्भकारलाई ३ करोड ८० लाख रुपैयाँ (जनसहभागिताका आधारमा खर्च गर्ने गरी विनियोजन भएको रकम) प्रतिपक्षमा रहेका माओवादी केन्द्रका सांसद बाहेकलाई २४ गतेसम्म पेस्की सरदरका हिसाबले उपलब्ध गराउने र सोको फछ्र्योट पनि २८ गतेभित्र गरी सक्ने कडा निर्देशन दिनुभयो । यसको सिधा अर्थ सो रकम सत्तापक्षीय सांसदहरूलाई भ्रष्टाचार गर्न छुट दिनु हो । यस निर्देशनको अवज्ञा गर्दा प्रधानमन्त्री कारबाहीका लागि अग्रसर हुनुभएको थियो । तर, जनताको सम्पत्ति दुरुपयोग हुन दिइएन ।

माधवजीकाबारेमा यस्ता धेरैवटा सत्यमा आधारित घटना छन् । केही घटना क्रमको स्मरण गरौं । आफ्नी माताश्रीको क्रियासम्म नबसी दरबारबाट निगाहको प्रधानमन्त्री हुन तत्पर रहेका माधवजीलाई उनी कम्युनिस्ट भएकाले क्रिया नगर्नू आफ्नो संस्कार परित्याग गर्नुलाई ठूलो घटनाका रूपमा लिइएन । तर, राजालाई धनुषटन्कार आसनमा मोहोर चढाएर हदैसम्मको राजाको चाकडी गरेका माधवजी नै वर्तमान समयमा ठूलो स्वघोषित गणतन्त्रवादी बनेका छन् ।

माधवजी स्वघोषित लोकतन्त्रवादीसमेत हुन् । धेरैपटक मतदाताहरूले उनलाई अवसर दिए । प्रधानमन्त्री बन्न सकेनन् । यस्तो अवस्था आयो संविधानसभाको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट जनताले पराजित के गरेका थिए उनी प्रधानमन्त्री बनिहाले । यसबाट माधवजी जन्मजात लोकतन्त्रवादी भएको प्रमाणित भएको छ । यद्यपि, उनलाई समर्थन गर्ने अन्य दल र माननीय संविधान सभाका सदस्यसमेत यसमा कम जिम्मेवार देखिँदैनन् । केही समयअघि एक टिभी कार्यक्रममा दृष्टि दिँदा यिनै माधवजी देखिए । पत्रकारले उनलाई तथ्य र प्रमाणसहित परिवारवाद, नातावादको आरोप लगाइरहँदा उनको सहज जवाफ थियो । उनका नाता परिवारमा सर्वोत्कृष्ट व्यक्ति मात्र थिए र छन् । योभन्दा हास्यास्पद सन्दर्भ अन्य के नै हुन सक्छ ?

आज माधवजीका बारेमा मात्र पस्किने प्रयास गरिएको छ । यसको अर्थ यो नलागोस् कि अन्य दलका नेताहरूमा उच्च स्तरको सच्चरित्रता छ । खासगरी सिन्डिकेट कायम गरेर शासन गरिराखेका नेका, एमाले र माओवादी केन्द्र सबैमा यो मनोवैज्ञानिक रोग अत्यन्त ज्यादा छ । अब नेपाली नागरिक सबै सचेत हुनुपर्छ । आफ्ना प्रतिनिधिहरूलाई प्रश्न गर्न सक्ने हैसियतमा हुनुपर्छ । यी पुराना दलका नेताप्रतिको हदैसम्मको वितृष्णाकै कारण अपरिचित र नामै नसुनेका प्रतिस्पर्धीहरूलाई आफ्नो अमूल्य मत प्रदान गरेका छ । लौरो, घन्टीलगायतका उदय यिनै माधवजी एन्ड कम्पनीकै कुकृत्यको परिणाम हो । यसमा द्विविधा गर्नु पर्ने अवस्था छैन । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
२०८३ असोज १, बिहिबार
आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
२०८३ असोज १, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असोज १, बिहिबार
बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
२०८३ असोज १, बिहिबार
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही
२०८३ असोज १, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँईको दैनिकी ? हेर्नुहोस् राशिफल
२०८३ असोज १, बिहिबार
महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय
२०८३ असोज १, बिहिबार