असार २४, २०८२ मंगलबार July 8, 2025

दुई घन्टाभित्रै आएको नयाँ युग – बद्रिनरसिंह के.सी.

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत आइतबार अपराह्न सत्तामा अचानक युगान्तकारी हलचल देखापर्‍यो। नेपालको सत्ता राजनीतिमा जम्मा दुई घन्टाको एउटा युग भयो। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट सत्तालिप्साको आत्मघाती अडानले नेपाली कांग्रेस संसद्मा सबभन्दा ठूलो पार्टी भए पनि केन्द्र र प्रदेशका सम्पूर्ण राजकीय ओहोदाहरूबाट वञ्चित हुने भयो। विगत दुई वर्षदेखि मलजल गरिँदै ल्याएको, गत वैशाखको स्थानीय तह र मंसिरमा संघीय र प्रदेश संसद्का निर्वाचनहरू, पाँचदलीय गठबन्धनलाई दीर्घायु दिने लक्ष्यले आपसी लेनदेनका साथ संयुक्त मोर्चाको रूपमा लडे। आगामी १०/१५ वर्षसम्म यही सत्ता गठबन्धन टिकाउने प्रतिबद्धता जनतालाई सुनाउँदै आए पनि गठबन्धन तासको घरझैँ जगैदेखि ढल्यो ।

नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीलाई ‘प्रतिगमनको नाइके’ का रूपमा औंल्याउनुको साथै प्रतिगमनको विरुद्ध एकजुट हुन र संविधानको रक्षा गर्न गठबन्धन भन्दै, मोर्चा कसेर तीन तहकै चुनाव संयुक्त रूपमा सहभागी भएको माओवादी सोही कथित ‘प्रतिगमन’ को शिविरमा पुगेको छ। वास्तवमा ‘प्रतिगमन’ को हाउ पार्टीहरूले सत्तामा गरेको दण्डहीनता, भ्रष्टाचार र मनपरिलाई छोप्न खडा गरिएको भ्रम हो। जनताले ‘गणतन्त्र’ लाई सत्ताधारीले मनपरि चलाउने हत्कण्डाको अर्थमा बुझ्न थालेकाले, पार्टीहरूबाट प्रतिगमनलाई सशक्त खतरा देख्नु गणतन्त्रविरुद्ध जनतामा बढेको धारणाको आत्मस्वीकार हो।

आफ्नै बुद्धि, विवेक, दृष्टिकोण, विश्लेषण, निष्कर्ष केही नभएका शेरबहादुर देउवामा सत्ताप्रतिको अनियन्त्रित भोक र दरिद्रतम मानसिकताको कारण सिङ्गो कांग्रेसले अपूरणीय धक्का बेहोर्नुपर्‍यो। महाभारतमा धृतराष्ट्रले जस्तो मुकुट लगाएको चरित्र नेपालको सत्तामा देउवामा पुनरावृत्त भयो। सत्ता-स्वार्थले ग्रसित, सबै पद आफैँलाई चाहिने देउवासँग, कांग्रेसका ८९ सांसद भए पनि निर्वाचनपछि कांग्रेसलाई सत्ताको लागि निष्फल हुन पुग्यो। ३२ सांसद मात्र पाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक सत्ताको बाजी मारे।

देउवा पाँच पटक प्रधानमन्त्री भए पनि इतिहासले स्वर्णाक्षरमा लेख्नुपर्ने योगदान मुलुकलाई दिन सकेनन्। झन् गम्भीर कुरा, यतातिर उनले कहिल्यै सोचेको पुष्टि भएन। सत्तामा आफ्नो नेतृत्व हुनुलाई उनले सम्पूर्ण उपलब्धि माने। यस्तै नालायक नेतृत्वलाई देशले बारम्बार प्रधानमन्त्रीका रूपमा र कांग्रेसले सभापतिका रूपमा बेहोर्नुपरेको आजको कांग्रेस कतिसम्म दासत्व र स्वाभिमानहीन लाचार अवस्थामा जकडिरहेको छ भन्ने खुलस्त भएको छ। ‘लोकतन्त्र खतरामा परेकै हो’ भने कथित ‘प्रतिगमन’ बाट होइन, लोकतन्त्रका मसिहा भएको दाबी गर्ने पार्टी र नेताहरूबाटै भएको छ।

सच्चा राजनीतिक नेतृत्व त्यस्तो पात्र हो, जो वर्तमानप्रति उत्तरदायी त हुन्छ नै, इतिहास र भावी पुस्ताप्रति पनि उत्तिकै इमानदार, उत्तरदायी र जिम्मेवार हुन्छ, हुनुपर्छ। ऊ त्रिकालदर्शी र चौतर्फी कर्तव्यपरायण हुन्छ। इजरायली राजनेता अब्बा इबानले भनेझैँ, “राजनीति मात्र त्यस्तो कर्म हो जसमा मृत्युपर्यन्त जीवन हुन्छ।”

परिणाममुखी भएर कर्तब्य निर्वाह गर्दा आलोचनाका स्वर घन्कियो भने इतिहास आफूप्रति समकालीन सञ्चार माध्यमभन्दा दयालु होला भन्ने आसाले आफ्नो सत्कर्ममा जुटिरहन्छ। इतिहास र भावी पुस्ताप्रति संवेदनशील र जिम्मेवार प्रमाणित नभएको व्यक्ति बेइमान र खतरनाक हुन्छ। अपराध मानसिकताको मान्छेलाई मात्र वर्तमान, भावी पुस्ता र इतिहास केहीदेखि पनि हेक्का र डर हुँदैन। देउवाले यही चरित्र देखाइरहेका छन्। ८० वर्षको उमेर छुन लागेका उनीमा अब आफ्ना स्वभाव र आचरणमा सुधार ल्याउलान् भन्ने आशा गर्ने आधार पनि छैन।

देउवाको नेतृत्वमा संसद्भित्र प्रतिपक्षी भूमिका पनि प्रभावकारी हुने छैन। जुन व्यक्ति उभिएर १० मिनेट पनि आफ्ना कुरा व्यक्त गर्न सक्दैन, त्यस्ताले कुर्सी मात्र ओगट्नु पार्टीको सर्वनाश हो। २०७४ को निर्वाचनपछिका तीन वर्षमा संसद्मा उनले देखाएको ‘प्रतिपक्षी भूमिका’ ले सबै कुरा प्रष्ट भइसकेको छ। उनको सत्ता हठले गठबन्धन तहसनहस बनायो। अझै हठ गर्नु उनको इतिहास र भावी पुस्ताप्रति समेत आपराधिक बेइमानी हो। यो अवश्यम्भावी बेइमानीलाई समाप्त गर्न पार्टीका अन्य नेताहरू अग्रसर हुनुपर्छ। देउवाले अब सम्मानजनक बहिर्गमन हुनुपर्छ, ताकि यसले अप्रिय विकल्पको बाटो लिन नपाओस्। आम जनताले भोगिसकेका प्रधानमन्त्रीका पुरानै नालायक अनुहारलाई सत्तामा देख्न चाहेका छैनन्।

कांग्रेसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौडेल, बद्री पाण्डे, मुक्ताकुमारी यादव, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, प्रतिमा गौतम, जीवन परियार जस्ता युवा नेताहरू स्थापित भइसकेका छन्। देशभरिमा अन्य होनहार युवा नेताहरू पनि उदाइरहेका छन्। उनीहरूले नेतृत्व हस्तान्तरणको दिशामा दबाबमूलक प्रयास कति संगठित र प्रभावकारी तरिकाले गर्न सक्छन्, त्यसैमा कांग्रेसको भविष्य अडिएको छ। अब हेर्नु छ, कांग्रेसलाई पूर्वस्थितिमा फर्काउन सक्ने सामथ्र्य र कौशल भएको नयाँ पुस्तामा कुनै नेता छ कि उनीहरू फगत देउवा प्रवृत्तिका संवाहक र लाचार कृपापात्र मात्र हुन्!

देउवाको नालायक नेतृत्वबाट दिक्क भएका कांग्रेसजन र मतदाताहरूको सर्वाधिक आकर्षण र भरोसा गगन थापा र विश्वप्रकाश शर्मामा केन्द्रित हुँदै गएको छ। तर गगन थापाहरूले ल्याएको गणतन्त्र जनआन्दोलनका बेलाको क्षणिक आवेगको अर्थमा आज जनतामा अस्वीकार्य भइसकेको छ। उनीहरू एउटा राजालाई हटाउन त सफल भए तर आज गणतन्त्रभित्र कैयौँ राजा जन्मिसकेका छन्। देशमा गणतन्त्र आयो तर हरेक पार्टीभित्र झन् कठोर राजतन्त्रको दबदबा छाएको छ। गगनहरूले यसमाथि पुनर्विचार गर्ने बेला आइसकेन र?

नयाँ सत्ता गठबन्धनको पनि सुनिश्चित भविष्य देखिन्न। एमाले अध्यक्ष ओलीका गतिविधिबाट आक्रोशित भएर कुनै हालतमा पनि फर्केर जान्न भनी सार्वजनिक घोषणाका साथ फुटेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड निर्वाचनमा कांग्रेसका मतदाताहरूबाट पाएको मतलाई लत्याउँदै सत्तालोलुपताले घिसारिएर फेरि उनै ओलीको शरणागत हुन पुगे। विगतमा उनले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबाट नै उनी कति भरपर्दो र स्थिर व्यक्ति हुन् भनेर सबैले चिनेका छन्। राज्यका उच्च र प्रदेशस्तरीय ३५ सर्वाधिक जिम्मेवार ओहोदामा नयाँ नियुक्तिको प्रक्रिया सम्पन्न भइसकेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचको वास्तविक सम्बन्ध खुलस्त हुन थाल्ने नै छ।

आज मुलुक आर्थिक रूपले पनि जटिल अवस्थामा पुगेको छ। आर्थिक अवस्था डुब्दो हालतमा र संकट उदाउँदो हालततिर बढिरहेको छ। आकाशिएको महँगीले सर्वसाधारणको बाँच्ने आधार समाप्तितिर गइरहेको छ। कर्मचारीलाई तलब-भत्ता दिन पनि आन्तरिक ऋण वा विदेशी सहायताको लागि टोपी थाप्नुपर्ने अवस्था आइसकेको, निवर्तमान प्रधानमन्त्री देउवाले व्यक्त गरेकै हुन्। राजनीतिमा ढाकछोप, झुट, अतिशयोक्ति, आरोप आदि प्रवृत्तिको प्रचलन भए पनि अर्थतन्त्रका अकाट्य तथ्याङ्कले भ्रामक र झुट विवरणलाई ग्रहण गर्न सक्दैनन्।

लोकतन्त्र र सुशासन चाहने हो भने भ्रष्टाचार र दण्डहीनतालाई पालिराख्न हुँदैन। पार्टीहरूले आफू समेत नराम्ररी मुछिएका भ्रष्टाचारको अन्त्य गर्न सकेर सुशासन दिन सके भने लोकतन्त्रको भविष्य छ। नत्र राजनीतिक ब्यवस्था जतिसुकै राम्रो र बलियो भए पनि भ्रष्टाचारको धमिराले त्यसलाई अवश्य नै मरणासन्न बनाउँछ।

सत्ताको गिद्दे झम्टाझम्टीले मुलुक थिलथिलो हुँदै गएको छ। कसैको कसैप्रति विश्वास र भरोसा नहुनु आज आमप्रवृत्ति हुन थालेको छ। सबभन्दा ठूलो बेइमान केन्द्र राजनीति नै भइरहेको छ। यसलाई सच्याएर नयाँ जीवन दिने नयाँ पुस्ताको नेतृत्वले तत्परता देखाउनु जरुरी छ। यसका लागि काँग्रेसका महामन्त्री गगन थापाहरूले सर्वमान्य रोडम्यापका साथ अगाडि आउने हिम्मत गर्लान्? कांग्रेस संसदीय दलको नेता निर्वाचनमा उनलाई मत दिएका २५ सांसदले यस्तो इच्छाशक्ति देखाए भने त्यस पार्टीभित्र नौलो आशा सञ्चार हुनेछ। सत्ताले जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सकेन र सधैँ दन्तबजान मात्र सुनिरहनुपर्ने भयो भने श्रीलंकाको नियति नेपालमा भोग्नुपर्ने अवश्यम्भावी हुन्छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया