वैशाख २०, २०८१ बिहिबार May 2, 2024

भोग पुग्यो, कृपया छाडिदिनोस् – गुरुराज घिमिरे

नेपालको समकालीन राजनीतिक नेतृत्वको भोग अब पुग्यो, जनताले यो भारी अब थप बोक्न सक्दैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राणाहरूको जहानियाँ सामन्तवादी तानाशाही कालमा नेपालीले सोच्दै नसोचेको जनक्रान्तिका सूत्रधार बिपी कोइरालाद्वारा स्थापित राजनीतिक दल नेपाली कांग्रेस हिजोआज कहाँ छ, के गर्दै छ र कसरी चल्दै छ ? सबैको चासो स्वाभाविक छ । अझ खास चासो त के छ भने कोइरालाले बुझेको र अरूलाई बुझाउन खोजेको प्रजातान्त्रिक राजनीतिमा देश, जनता र प्रजातन्त्र कहाँ थिए र अहिले कहाँ छन् ? यसको सरोकार देशको समृद्धि र प्रतिष्ठा, जनताको सुख र प्रजातान्त्रिक अधिकारसँग थियो । उहाँको राजनीतिक परिवृत्तमा सत्ता र नेताले हासिल गर्ने पद एवं प्रतिष्ठाको महत्व थिएन ।

मानवतावादभन्दा माथि अर्को धर्म छैन । कोइराला सच्चा मानवतावादी थिए । त्यस्ता नेताद्वारा निर्मित दलका प्राथमिकता आजकल के के छन् ? अनि दलका नेताका रुचि र व्यवहार कस्ता छन् ? यसको चर्चा निकै विषद हुन सक्छ । कांग्रेसले अपर्झट सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आइलागेपछि झन्डै डेढ वर्षअघि पाँचदलीय गठबन्धन अस्तित्वमा आएको हो । त्यतिवेला पाँचै वर्ष प्रतिपक्षमा बस्ने मनस्थितिमा रहेको कांग्रेसका लागि त्यो भूमिका इतिहासले सुम्पेको गहन अभिभारा र राष्ट्रिय आवश्यकता थियो । बारम्बार सत्तामा पुगेको दल भएकाले सरकारमा जानु अनौठो थिएन । तैपनि, तत्काल नवनिर्मित सत्ता समीकरणले सफलता प्राप्त गर्न ठूलो सकस झेल्नुपर्‍यो । अनेक सकस र प्रतिकूलता झेलेर सत्तारुढ भएको गठबन्धनले राष्ट्रिय दायित्व सम्हालेर संसद्को निर्वाचनपश्चात् सत्ता हस्तान्तरण गर्‍यो ।

त्यसपछि के भयो त ? :  स्थानीय तहको निर्वाचन मुखैमा थियो । कांग्रेसभित्र चुनावी गठबन्धन या तालमेलका विषयमा चर्को बहस सुरु भयो । पार्टीको मूल नेतृत्वले गठबन्धन अपरिहार्य छ भन्ने र इतर पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने । दुवै पक्षका तर्कमा केही न केही आधार थिए । गठबन्धन नभई हुँदैन भन्ने पक्षमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमको निरन्तरता राष्ट्रिय आवश्यकता हो भन्ने तर्क थियो । तर, न त यसको कुनै लामो पृष्ठभूमि थियो, न त पुरानो अभ्यासको दृष्टान्त नै ।

नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्टले आपसी गठबन्धन गरेर चुनाव लड्ने कुरा आफैँमा उदेकलाग्दो थियो । यस विषयमा इतर पक्षले चाहेजति दबाब सिर्जना गर्न सकेन । आफ्नो दलिल पेस गरे पनि यो समूह अन्ततः आफ्नो मत स्थगित गरी गठबन्धनका पक्षमा उभियो । यो गम्भीर भूल थियो, जसलाई कुनै पनि तर्कले पुष्टि गर्न सकिन्न । आस्तिकहरू भन्छन्, भगवान्ले मनुष्यलाई उपलब्ध गराएका अवसर चिन्न नसक्दा उसको लौकिक जीवन सार्थक हुँदैन र गरिबी पनि हट्दैन । चुनावले कांग्रेसको राजनीतिक गरिबी हटाउन सकेन ।

आखिर गठबन्धन बनिछाड्यो । पार्टी निर्णयलाई सर्वोपरि मानेर सबैले त्यही बाटामा आफूलाई हिँडाए । तर, स्थानीय निर्वाचनमा गठबन्धन पूर्ण रूपमा सफल हुन सकेन । चुनावी नतिजामा ०७४ मा भन्दा केही सुधार भए पनि चित्तबुझ्दो आँकडा थिएन । तथापि त्यसलाई ठुलै उपलब्धिजसरी प्रचार गरियो । यो कांग्रेसको इतिहासमा पहिलो वर्णशंकर प्रयोग थियो ।

यसले लोकतन्त्रवादी मतदातालाई सबै पार्टी उस्तै त हुन्, जहाँ मत हाले पनि फरक पर्दैन भन्न खोजिएजस्तो प्रतित हुन्थ्यो र चुनावमा नयाँ मतदाताको कांग्रेससँग विधिवत् सम्बन्धविच्छेद भयो । भविष्यमा थपिने मतदाताले जहाँ मत दिए पनि फरक नपर्ने भयो । यस्तो खतरनाक खेलका पछिल्तिरको ज्ञात कारण स्थानीय सत्ता थियो भने अज्ञात कारण अहिलेसम्म ज्ञात हुन सकेको छैन । इतिहासमै कम्युनिस्टहरू क्षतविक्षत् भएका वेला उनीहरूको प्राणप्रतिष्ठा किन गरियो, आउने पुस्ताले जवाफ माग्ने नै छ । कांग्रेस जुनसुकै शक्तिसँग एक्लै प्रतिस्पर्धा गर्नै नसक्ने गरी कसरी थला पर्‍यो, इतिहासले समीक्षा गर्ने नै छ । स्थानीय तहको गठबन्धन नेपालको इतिहासमा कहिल्यै नसच्चिने राजनीतिक घटनाका रूपमा अंकित रहनेछ ।

फेरि के भयो त ? :  गत संसदीय निर्वाचनमा हामीले पाँचदलीय गठबन्धन बनाएर निर्वाचन लड्यौँ । संस्थापन पक्षले खोजेको जस्तै भयो । इतर पक्षले विरोधका लागि विरोध गर्‍यो, दह्रोसँग अड्न सकेन । यसका पछाडि अनगिन्ती मनोवैज्ञानिक र भौतिक कारण छन्, जसको चर्चा गर्दै गरौँला । कांग्रेसले दुवै प्रणालीबाट समेत ९० सिट नघाउन सकेन । यो सुखद परिणाम थिएन । तथापि गठबन्धन भएकाले सरकार बनाउन झन्डै–झन्डै बहुमत प्राप्त भएर थप दुई सिट जुटाए पुग्ने भयो ।

कांग्रेस यतिवेला आफ्नो नेतृत्व बदल्नैपर्ने मोडमा उभिएको छ । यसका लागि विशेष महाधिवेशन अर्को उपयुुक्त विकल्प र वैधानिक बाटो हो ।

गठबन्धनले दुईतिहाइभन्दा बढी जितेर सरकार बनाउने नारा त कता पुग्यो कता, सामान्य बहुमतको सरकार बनाउनसमेत सक्ने स्थिति भएन । तैपनि, अलिकति मिहिनेत गर्दा सामान्य बहुमतको सरकार बनाउन सकिने अवस्था बन्यो । यसबाट विगतमा उठेका या उठाइएका प्रश्नको कामचलाउ जवाफ आउँथ्यो र कांग्रेस राजनीतिको ढाकछोप हुन्थ्यो । तर, आफ्नो गठबन्धनमा रहेको एक घटकले विपक्षी गठबन्धनमा गएर सरकारको नेतृत्व गर्दासमेत हामी हेरेकोहेर्‍यै भयौँ । यस्तो खेलाँची कसरी भयो र किन गर्‍यौँ, इतिहासको कठघरामा उभिने कि नउभिने ? गर्नै नहुने गठबन्धन गर्ने तर जोगाउनचाहिँ नसक्ने ? साझेदारी व्यवसाय गर्ने र प्रतिफलबाट भने वञ्चित हुने नेतृत्वको कस्तो धन्धा हो, बुझ्न सकिएन । कम्तीमा गठबन्धन जोगिएको भए समयले बिस्तारै जवाफ दिँदै जान्थ्यो ।

अहिलेको राजनीतिक घटनाले सरकार मात्रै गुमेको नभई राजनीतिमा बहुआयामिक र दूरगामी प्रभाव पारेको अवस्थालाई सामान्यीकरण गर्ने प्रयास दुःखद छ । हामी इतिहासबाट कहिल्यै नसिक्ने र दोहोरिएको इतिहासको बारम्बार सिकार भइरहने नियति भोग्न अभिशप्त छौँ । यो अव्यवस्था र गैरजिम्मेवारीलाई हामीले संस्कृति बनाउँदै लगेका छौँ, जबकि यसले हाम्रो समाजलाई अनुशासनहीन, अराजक र पंगु बनाउँदै लगेको छ । हाम्रा सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक धरोहर तथा मूल्य धराशयी हुँदै छन् । सबैको निर्णायक तत्व मुद्रा वा धन भएको छ । देखासिकी वा अन्धानुकरणलाई गौरव ठान्न थालिएको छ । यसले सम्पूर्ण समाजलाई गाँजेको छ । यसको उपचार राजनीतिले सहजै गर्न सक्थ्यो, तर स्वयं राजनीति नै मूल्यहीनता र बेइमानीको पर्याय भएको छ । एकप्रकारले वर्तमानमा फस्टाएको र चलेको राजनीतिबाट जनताको आस हराएको छ ।

हिजोजस्तै रहेर वा चलेर आजको नेतृत्व र प्रतिनिधित्व गर्न सकिँदैन र पाइँदैन पनि । साझा संस्थाको अगुवाले सम्बन्धित संस्थालाई निजी प्रयोजन वा आफ्नो वैयक्तिक स्वार्थका लागि उपयोग गर्न पाइँदैन । हजारौँ–लाखौँ सदस्यको जीवन र भविष्य जोडिएको संस्थालाई व्यक्तिको परिवार वा सानो झुन्डले दोहन गर्न पाउँदैन । तर, हिजोआज भएकै त्यही छ । कांग्रेसभित्र अब सबैले बुझ्ने गरी बोल्नुपर्ने र काम गर्नुपर्ने समय आएको छ । अरू दलबारे सम्बन्धित सदस्यले भन्लान् नै ।

तथापि एउटा साझा विषय के हो भने नेपालको समकालीन राजनीतिक नेतृत्वको अब भोग पुग्यो । नेपाली जनताले यो भारी अब बोक्न सक्दैनन् । सामान्यतया दोषमुक्त भएर वा राजनीतिक मापदण्डअन्तर्गत रहेर जिम्मेवारी सम्पादन गर्नुलाई नैतिक राजनीति मानिन्छ ।

लोकतान्त्रिक शासन प्रणाली नैतिक प्रणालीसमेत हो । निरंकुशतन्त्र या अधिनायकवादी शासन प्रणालीमा नेतृत्वको स्वेच्छाचारलाई सामान्य ठानिन्छ, त्यहाँ नैतिकताको स्थान हुँदैन, तर लोकतन्त्र नीतिप्रधान हुने भएकाले निर्दिष्ट बाटो हिँड्नैपर्छ । यहाँ नेतृत्वका आचार विचारको ख्याल राखिन्छ । हाम्रो सन्दर्भमा कुनै पनि दृष्टिकोणले नेपालको वर्तमान नेतृत्वमा लोकतान्त्रिक चरित्र, नैतिकता र व्यवहारसम्म देखिएन । सबै दलभित्र तानाशाहीले सीमा नाघ्नु, राजनीतिक व्यवस्था वा प्रणाली आफ्ना निम्ति मात्र हुनु, देश र जनताप्रति संवेदनहीन बन्नु र सत्ताको बारम्बार दुरुपयोग गर्नुले वर्तमान विधि र व्यवस्थाको खिल्ली उडाएको छ ।

अबको विकल्प राजीनामा :  नेतृत्वको खुबी र पौरखले अनेकन् उपलब्धि प्राप्त हुने हो । यसका निम्ति नेतृत्व सदैव लगनशील, उत्साही र गतिशील हुनुपर्छ । मन मरेको र हौसला गुमाएको नेताले संस्थालाई सबल नेतृत्व प्रदान गर्न सक्दैन । हाम्रा प्रातः स्मरणीय नेताहरू यसका ऐतिहासिक दृष्टान्त हुन्, जसले भयानक संकटमा समेत प्रजातन्त्रको दियो बालिरहे । जसको परिणाम आज हामी चित्त नबुझ्दो र सतही भए पनि लोकतन्त्रको अभ्यास गरिरहेछौँ । यसो गरेर कहिलेसम्म धान्ने ? कांग्रेस सभापतिले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो योगदान पुर्‍याउनुभएको छ । झ्यालखाना र यातना उहाँको जीवनका अभिन्न अंग थिए । दुईपटक सभापति र पाँचपटक प्रधानमन्त्री बनिसक्नुभयो । सकेसम्म राम्रो गर्ने प्रयत्न गर्नुभएको छ ।

त्यसका निम्ति मुलुक र पार्टीका साथीहरू उहाँप्रति आभारी छन् । अब भने चुनौती बढेका छन् । सभापति चौबीसै घन्टा जोतिनु र घोटिनुपर्ने अवस्था छ । अब यो उमेरमा उहाँबाट धेरै सक्रियताको अपेक्षा गर्नु न्यायोचित र मनासिब हँुदैन । चारबीस उमेरसम्म देश, जनता र लोकतन्त्रका निम्ति काम गर्नु चानचुने कुरा होइन । यति योगदान गर्ने राजनीतिज्ञ समकालीन राजनीतिमा कमै छन् । यस यथार्थलाई दृष्टिगत गरी उहाँले कांग्रेस सभापति पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । यसले कांग्रेसमा नवजागरण पैदा गर्नेछ र इतिहासमा उहाँको नाम स्वर्णाक्षरमा अंकित हुनेछ ।

अर्को विकल्प, विशेष महाधिवेशन :  कांग्रेसको इतिहासमा २०१४ साल जेठमा विशेष महाधिवेशन सम्पन्न भएको थियो । यसको कारण पनि आन्तरिक नै थियो । छैटौँ महाधिवेशन भएको दुई वर्ष पुग्दा नपुग्दै किन विशेष महाधिवेशन बोलाउनुपर्‍यो, किन नेतृत्व फेर्नुपर्‍यो, यसका आयामबारे कुनैवेला चर्चा गरौँला । नेतृत्व बदल्नुपर्ने कारण संस्थाको भविष्य, समयको माग र देशको आवश्यकता तीनवटै हुन सक्छ । वर्तमान परिप्रेक्ष्यमा समेत कारण धेरै हुन सक्छन् । जेहोस्, कांग्रेस यतिवेला आफ्नो नेतृत्व बदल्नैपर्ने मोडमा उभिएको छ ।

नेपालको समकालीन राजनीतिक नेतृत्वको भोग अब पुग्यो, जनताले यो भारी अब थप बोक्न सक्दैनन् ।

यसका लागि विशेष महाधिवेशन अर्को उपयुुक्त विकल्प र वैधानिक बाटो पनि हो । गठबन्धनबाट नराम्ररी पिल्सिएका (चुनाव जिताएर र गठबन्धन भत्किएर) पार्टी सदस्यमा पुनर्जागरण ल्याउन विशेष महाधिवेशनको विकल्प छैन । ०१४ सालको विशेष महाधिवेशनले कांग्रेस पार्टीलाई ०१५ सालको प्रथम आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने आधार प्रदान गरेको थियो । गजब त के थियो भने त्यस महाधिवेशनले सभापति मात्र होइन, पदाधिकारीसमेत बदलेको थियो । तसर्थ, कांग्रेसले समयको माग र राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गर्दै विशेष महाधिवेशन बोलाएर पार्टीका आम सदस्यहरू र सम्पूर्ण लोकतान्त्रिक जनमतको मागलाई सम्बोधन गर्नुपर्छ ।

कांग्रेस, कांग्रेसजस्तो देखिन सक्नुपर्छ । यतिवेला कांग्रेस कहिले कम्युनिस्टजस्तो, कहिले पञ्चजस्तो देखिएर ठम्याउनै नसक्ने अवस्थामा पुगेको छ । स्वत्व गुमाएको, मौलिक चरित्र र पहिचान हराएकोजस्तो देखिनुले लगभग १० लाख सक्रिय सदस्य र सम्पूर्ण शुभेच्छुकको मन अशान्त र बेचैन छ । त्यसैले देश, जनता र लोकतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर स्थापनाकालको जीवनदायिनी शक्ति फर्काउन नेतृत्व बदल्नैपर्छ । यसका लागि सभापतिको राजीनामा र विशेष महाधिवेशनको विकल्प छैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार