वैशाख ६, २०८१ बिहिबार April 18, 2024

धनगढीः अस्पतालहरुमा लगानी बढाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढी उपमहानगरपालिका–२ मा निर्माणाधीन अवस्थामा सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ। निजी अस्पतालको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्न निर्माणाधीन अस्पताल सञ्चालनको तयारीमा रहेको छ। झण्डै रु १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको अस्पतालका सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिए।

रिमालले भने, “हाल २५ श्ययाबाट सुरु भएको अस्पतालमा भविष्यमा १०० श्यया पुर्‍याउने योजना छ।” उक्त लगानीमा बन्दै गएको सो भवनको काम करिब ९५ प्रतिशत सकिएको छ। यस्तै धनगढी–३ स्थित निर्माणाधीन अवस्थामा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल केही सेवा शुभारम्भ गर्दै बुधबारदेखि सञ्चालनमा आएको छ।

अस्पतालले बुधबारदेखि आकस्मिक, फार्मेसी, प्रयोगशालासहितका केही विशेषज्ञ सेवा सुरु गरेको छ। बाँकी विशेषज्ञ सेवा पनि छिट्टै सञ्चालनमा ल्याइने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिनुभयो। पच्चीस श्ययाको अस्पतालमा आइसियु, एनआइसियु, पिआइसियु, सिटीस्क्यानका साथै हाडजोर्नी तथा नसारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधीबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया विशेषज्ञ, जनरल मेडिसिन ९पेट, छाती, मुटु, सुगर, प्रेसर० विशेषज्ञ तथा नाक, कान, घाँटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजीलगायतका विशेषज्ञ सेवा सञ्चालनमा आएका छन्।

धनगढी–१ सेती प्रादेशिक अस्पताल नजिक सञ्जिवनी अस्पतालले सेवा दिइरहेको छ। सञ्चालन अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन पेश गरेको सो अस्पतालले आशय पत्र प्राप्त नगर्दै सेवा दिन सुरु गरेको हो। उपमहानगरपालिकाले सरकारी अस्पतालको तीन सय मिटरभित्र अस्पताल पर्ने भन्दै सञ्चालनका लागि आशय पत्र उपलब्ध गराएको छैन।

अस्पतालका अध्यक्ष दुश्यान्त बस्नेतले छिट्टै नयाँ ठाउँमा अस्पताल सारेर सेवा प्रदान गर्ने तयारी रहेको बताए। उनले भने, “सरकारी स्वास्थ्य संस्थाको तीन सय मिटरभित्र रहेका निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य निर्देशनालयले हटाउने तयारी गरेको छ, त्यसैले हामीले नयाँ ठाउँमा जग्गा र भवन हेरेका छौँ, छिट्टै अस्पताललाई त्यहाँ स्थानान्तरण गरी सेवा प्रदान गरिने छ।” सो अस्पतालले नेपाल राष्ट्र बैंक नजिक रहेका भवन तथा जग्गाधनीसँग सम्झौता गरिसकेको छ।

सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा केही वर्षयता सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेका र केही सञ्चालन हुने तयारीमा रहेका छन्। प्रदेशको अस्थायी राजधानीका रुपमा स्थापित धनगढीमा निजी अस्पतालमा लगानी बढ्दै गएको छ।

प्रदेशमा दशकअघि सामान्य बिरामी हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो। “तत्कालीन समयमा सेती अञ्चल अस्पताल (हाल सेती प्रादेशिक अस्पताल) मा पनि आवश्यक जनशक्ति र उपकरणको अभाव हुँदा सामान्य बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको थियो”, उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख नृपबहादुर वड भन्छन्, “अहिले सेतीमा पनि सेवा विस्तारसँगै सुधार हुँदै गएको छ, त्यसैमा धनगढीमा निजी अस्पताल खोल्नेक्रम तीव्र भएको छ।”

प्रदेशका पहाडी जिल्लालाई केन्द्रित गरी सञ्चालनमा रहेको डडेल्धुरा अस्पतालमा सेवा लिन आउने बिरामी पनि उपचारका लागि धनगढी पुग्ने गरिरहेका छन्। डडेल्धुरा अस्पताल सङ्घीय सरकार मातहत रहे पनि जनशक्ति, उपकरणलगायतका समस्या भोग्दै आएको छ। त्यसका कारण त्यहाँ जाँच गराउन आउने बिरामीको भरोसाको केन्द्र पनि धनगढीका अस्पताल बनिरहेका छन्।

उनी भन्छन्, “यहाँ आएका बिरामी उपचारका लागि छिमेकी मुलुक भारत तथा नेपालगञ्ज, काठमाडौँ धाउनुपर्ने अवस्था थियो, अहिले प्रायः बिरामी धनगढीकै अस्पताल पुग्ने गरिरहेका छन्।” उपमहानगरपालिकाको वडा नं ४ स्थित सिपी अस्पताल पत्थरीको समस्यालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको थियो। अस्पतालले पत्थरीसँगै विशेषज्ञ सेवा उपलब्ध गराइरहेको छ।

सिपी अस्पतालसँगै धनगढीमा रहेका नवजिवन, माया मेट्रो, केजी, निसर्ग, सारथी, नोभालगायत दर्जन बढी अस्पताल सञ्चालनमा छन्। धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधार, प्रविधि र विशेषज्ञ सेवा विस्तारको कामले तीव्रता पाउँदै गएको स्थानीय बताउँछन्।

प्रदेशका नौवटै जिल्लाको रेफरल सेन्टरका रुपमा रहेको सेती अञ्चल अस्पतालसहित निजी क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसँगै पहिलेभन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको सारथी अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले बताए। स्वस्तिक अस्पतालले न्युरो, कार्डियो र क्यान्सरका बिरामीको उपचार धनगढीमै गर्नेगरी सेवा शुभारम्भ गरिरहेको छ।

धनगढीमा रहेका अस्पतालले नवजात शिशु सघन उपचार कक्ष आइसियु, एनआइसीयु सेवा प्रदान गरिरहेका छन्। आफ्नो अस्पतालमा एमआरआई मेशिन जोड्ने तयारीमा रहेको निसर्ग अस्पतालका प्रबन्ध निर्देशक कुवेर शाहीले बताए। उनले भने, “हामी केही दिनमै मुटुसम्बन्धी उपचार गर्ने मेसिन पनि जडान गर्ने तयारी जुटिरहेका छौँ।”

अहिले सेती प्रादेशिक अस्पतालमै हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, मानसिक रोग, नाक, कान घाँटी, बालरोग, दाँत, फिजिसियन र छाला रोग विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्। सुदूरपश्चिम प्रदेशमा अझै पर्याप्त सेवासुविधा दिन नसकेको डाक्टर हेमराज पाण्डेले बताए। उनले भने, “अझै प्रदेशमा न्यूरोलोजिस्ट, इन्डोलोजिस्ट, मेटोलोजिस्ट र प्लाष्टिक सर्जरी यहीँ व्यवस्था भएमा उपचारका लागि भारत धाउनुपर्ने बाध्यता हट्ने थियो।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया