काठमाण्डौंः महाभारतका भीमसेनको लिङ्गको प्रतीक स्वरूप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिङ्गलाई नगर परिक्रमा गराएर सोमबार भक्तपुरमा होली पूर्णिमा मनाइएको छ।
भक्तपुर नगरपालिका– ३ तचपाल टोल दत्तात्रेयस्थित भीमसेन मन्दिरमा झुन्ड्याइएको काठको लिङ्गलाई एक व्यक्तिले बोकी नगरको नगर परिक्रमा गराई यहाँ प्रत्येक वर्ष होली मनाइन्छ।
लिङ्ग भक्तपुर नगरको पूर्वी भेग सूर्य मढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठ नजिकको ब्रह्मकुण्डमा पखाल्न लैजाने परम्परा छ। यही परम्पराको अन्त्यसँगै यहाँ होली समापन हुने गर्दछ।
यसअघि लिङ्गलाई भीमसेन मन्दिरमा झुण्डाइराखेको थियो। यो लिङ्गलाई चिरोठानको दिन झुण्डाइएको थियो। यसअघि पनि यो लिङ्गलाई यसरी नै बोकेर भक्तपुरको पूर्वमा रहेको कमल विनायकको पोखरीमा धुने चलन छ। त्यसपछि दत्तात्रयमा ल्याएर पूजा गरिन्छ। त्यसपछि पश्चिमपटि गोल्मढी, सुकुलढोका, भूलाछें, नाग पोखरी हुँदै पुनः दत्तात्रयको भीमसेन मन्दिरमा ल्याएर भीमसेन मन्दिरमा झुन्ड्याइएको थियो।
मन्दिरकी पुजारी केशरी कपालीका अनुसार पहिले भए भीमसेनको योनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्ड्याउने चलन थियो। अहिले भने मन्दिरको माथि झुन्ड्याउने चलन छ। धेरै भिडभाड हुने सार्वजनिक पाटीमा राखेर लिङ्ग झुन्डाउँदा विशेष गरेर महिलालाई हिँडडुल गर्ने अप्ठ्यारो भएपछि लिङ्गलाई माथि झुन्डाउन थालिएको उनले सम्झिन्।
काठको लिङ्गलाई एउटा रातो कपडामा प्वाल पारेको भित्र छिराएर मन्दिरभित्र झुण्डाइएको थियो। रातो कपडामा रहेको प्वाललाई द्रोपतीको योनीको प्रतीक मानिँदै आएको छ। यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ। लिङ्ग र योनीको समागम गराउँदा कपास खस्ने गरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन्। यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन गरिन्छ। यसबिचमा स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन्। यसले पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ।
झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट भएको इतिहास एवं संस्कृतिवदहरु बताउँछन्। संस्कृतिविद् ओम धौभडेल शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यो पर्व मनाइने बताउँछन्।
फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको काठको ठुलो लिङ्गलाई टोल–टोलमा घुमाएर पूजा गरी ब्रम्हायणीमा लगेर धोएसँगै यो जात्रा सम्पन्न हुने गर्दछ। अन्तिम दिन भीमसेनको लिङ्ग बोक्न आउनेको भीड लाग्छ। यसो गर्दा छोरा जन्मिन्छ भन्ने जनविश्वासका साथ बोक्नेहरूको तँछाडमछाड हुने गर्दछ। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया