वीरगञ्ज । नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।
नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरेका छन । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया